१२ लाख राई समुदायको उदाहरणीय व्यक्ति

दीपेन्द्र राई

काठमाडौँ उपत्यका साकेलामय भएको छ । गत वैशाख २७ गते ललितपुरको किरातवनमा विधिवत् पूजाआजा गरी किरात राईको महान् चाड उँभौली (वैशाखे पूर्णिमा) सुरु भएको हो । यो चाड कतै महिना दिन त कतै १५ दिनसम्म धूमधामसँग मनाइन्छ । यो चाड काठमाडौँ उपत्यकाका पनि १५ दिनसम्म हर्षाेल्लाससहित मनाउने गरिन्छ ।

किरात राई यायोक्खा, काठमाडौं जिल्ला कार्यसमिति सहसचिवसमेत रहेका उनी १५ दिनसम्म त्यत्तिकै व्यस्त हुन्छन् । पान्धारे, भोजपुरका राई दिनैपिच्छे कहीँ न कहीँ सिलिमाङ्पा (सिली नाच्दा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति) का रूपमा उपस्थित हुनैपर्छ । राईले यो भूमिका निर्वाह गर्दा पैसाले किन्न नसकिने आनन्द महसूस गर्छन् । उनले झन्डै १० वर्षदेखि काठमाडौंमा यो भूमिका निर्वाह गर्दै आएका हुन् ।

उनी साकेला सिली नाच्न त्यत्तिकै उत्साहित हुन्छन् । कारण ? उनले सुनाए,  ‘उँभौलीमा मैले सिकाएकाले साकेला नाचेको देखेर उत्साहित भएको हुँ । कतिपय अवस्थामा उनीहरूसँगै लामबद्ध भएर सिली नाचियो ।’

केही समयपहिले चाम्लिङ खाम्बातिमले साकेला सिलीसम्बन्धी एकमहिने तालिम सञ्चालन गरेको थियो । काठमाडौंको कोटेश्वरमा रहेको किरात राई यायोक्खाको सुम्निमाहलमा भएको सो तालिमका प्रशिक्षक अशोक राई थिए । राईले महिना दिनसम्म साकेला सिलीसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिए । घर निर्माणसम्बन्धी काम गर्ने उनी आफ्नो गरिखाने काम थाती राखेर पनि साकेला सिली सिकाउन पाउँदा औधी खुसी हुन्छन् ।

संवत् २०४३ मा काठमाडौं पसेका उनी सिली नाच्न भनेपछि दस काम छाडेर सहभागी हुन्छन् । सिलिमाङ्मा भएर अभिनय गर्दा पनि उनी पारिश्रमिक लिँदैनन् । उनले भने, ‘सामाजिक काम गर्दा आफ्नो खर्च गर्न सक्नुपर्छ ।’

सानैदेखि सिली नाच्दै आएका राईले अहिलेसम्म पनि नाचिरहेका छन् । गाउँमा भोलिदेखि ढोल निकाल्ने है भनेर छलफल हुँदा उनले आजैबाट निकाल्दा हुँदैन र भनेर हतारिन्थे । ढोल बजाउँदै साकेला सिली नाच्न जुरुकजुरुक हुन्थे ।

दैनिक १३ घन्टा काम गर्ने उनले महिनामा ५० हजार रुपैयाँ कमाउँछन् । उनको बुझाइ छ, ‘५० हजार कमाउन विभिन्न तनाव झेल्नुपर्छ । तर, सिलिमाङ्पाको भूमिका निर्वाह गर्दा महिनाभरि कमाउने पैसाले किन्न नसकिने आनन्द लिन्छु ।’
सिलिमाङ्मा अशोक राईलाई २६ वटा सिली नाच्न आउँछ । यो सामान्य कुरा होइन । पश्चिमा सभ्यताले छपक्कै छोपेको नेपाली समाजमा जातीय पहिचान झल्कने संस्कार, संस्कृति बचाउने अहम् भूमिका सम्बन्धित जातिकै हो । अशोक राईले जानेको कुरा अर्काे पुस्तामा हस्तान्तरण गर्ने अभिभारा १२ लाख किरात राईको काँधमा आइलागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार