राजतन्त्रको मियो ढलेको नौ वर्ष पूरा, मुलुकभरि गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । संविधानसभा पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी मुलुकभरि विविध कार्यक्रम गरी गणतन्त्र दिवस २०७४ मनाइँदै छ ।

झन्डै अढार्इ सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्र बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्र बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।

गणतन्त्र दिवस मनाइरहँदा नयाँ संविधानअनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रक्रियासमेत सुरु भएको छ । जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ मा हुनेछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा देखिएको जनताको उत्साह एवम् सहभागितालाई हेर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत बन्दै गएको बुझ्न सकिन्छ ।

२०७४ माघ ७ गतेभित्र सङ्घ र प्रदेश संसद्को निर्वाचन पनि गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि गणतन्त्र संस्थागत भई संविधानसभाले बनाएको संविधान कार्यान्वयन हुनेछ । संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको सात दशक लामो चाहनाले संविधान कार्यान्वयनसँगै पूर्णता पाउनेछ ।

जहानियाँ राणा शासनको जगजगीका बेला स्थापना भएको नेपाली काँग्रेसले संविधानसभाबाट संविधान बनाई प्रजातन्त्र स्थापना मुख्य लक्ष्य बनाएको थियो ।

२००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरे पनि त्यो पुरा हुन सकेन ।

२०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भए पनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन । राजा महेन्द्रले २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासन सूत्रपात गरेका थिए।

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ३० वर्ष लामो सङ्घर्षका समयमा संविधानसभाको मुद्वा ओझेलमा प¥यो ।
२०४६ चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो भने २०४८ मा संसदीय निर्वाचन भयो ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र जनयुद्धक्रममा संविधानसभाको मागलाई मुख्य रुपमा उठायो । काँग्रेसभित्र पनि संविधानसभा पार्टीकै पुरानो मुद्दा भएकाले द्वन्द्वको निकासका लागि सहमत हुनुपर्ने दबाब बढ्दै गयो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते चालेको शाही कदमका कारण संसद्ववादी दल र माओवादीबीच कार्यगत एकता भयो ।

फलस्वरुप २०६२ मंसिरमा संसद्वादी दल र माओवादबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्रका लागि आन्दोलन सुरु भयो । आन्दोलनको मूल मुद्दा २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने माग थियो । पुनःस्थापित संसद्बबाटै संविधानसभा एवम् गणतन्त्रसम्मको यात्रा तय गर्न संसद्वादी दल र माओवादीबीच भित्री सहमति भएको थियो ।

कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखका रुपमा कोइरालाले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरे । निर्वाचित संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्र अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार