विमान दुर्घटनामा महासेनानी गुरुङको मृत्यु


भीमदत्तनगर । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलछेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।

अवतरणक्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्गनजिकैको धानखेतमा दुर्घटनामा हुँदा छिनामखु, भोजपुरका कवि तथा गीतकारसमेत रहेका गम्भीर घाइते पाइलट गुरुङको उपचारक्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।

सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । अवतरणक्रममा धावनमार्गबाट चिप्लिएर जहाज धानखेतमा पल्टिएको भाटले बताए । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयले निभाएका थिए ।

दुर्घटनामा सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको हो । नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको प्रहरी नायव निरीक्षक भाटले बताए ।

केही सयमअघि सोलुखुम्बुको लुक्लामा गोमा एयर दुर्घटना हुँदा साङपाङ भोजपुरकै पाइलट पारस राईको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार