आफ्नै निर्वाचन चिह्न बिर्सने उम्मेदवार

भक्तपुर । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो ।

राजनीतिक दलमात्र होइन, सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भीड थियो । भीडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक थिए– मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ ।

वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो । जेठ १ गते बिहानदेखि सुरु मतगणना ८ गते बिहान सम्पन्न भयो तर श्रेष्ठले एक मत पनि प्राप्त गर्न सकेनन् । श्रेष्ठको चुनाव चिह्न थियो ‘ब्याडमिन्टन र कर्क’ । निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलका अनुसार चुनाव चिह्न ब्याडमिन्टन र कर्कमा एक मत पनि आएन ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरका चार नगरपालिकामा सम्पन्न निर्वाचनमा शून्य मत प्राप्त गर्ने बाबुकृष्ण श्रेष्ठ एक प्रतिनिधिपात्र मात्र होइन, उनीजस्तै एक मत पनि प्राप्त नगर्ने अरु पनि उम्मेदवार छन् । सो नगरपालिकाको प्रमुखका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने उपप्रमुखमा ६ जनाले ।

उक्त नगरपालिकामा शून्य मत प्राप्त गर्ने अर्का नगर प्रमुख पदका उम्मेदवार रोमन बज्राचार्य पनि हुन् । उनको चुनाव चिह्न चमेरो थियो । बज्राचार्यले निर्वाचनको प्रचार–प्रसारक्रममा कतै पनि आफ्नो प्रचार सामग्री समेत राखेनन् । निर्वाचनमा आफैंले आफूलाई मत नदिनुको कारणबारे उनीसँग प्रतिक्रिया माग्दा बोल्न चाहेनन् ।

बज्राचार्यले यसलाई समाचार बनाउनुपर्ने र यसबारेमा कुनै प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको बताए । त्यसैगरी, मध्यपुर थिमिको वडा नम्बर ७ का वडा अध्यक्ष पदका कङ्गारु र गमबुट चिह्नका उम्मेदवारले पनि शून्य मत पाउएका थिए ।

मध्यपुरमा एक मत पनि प्राप्त नगर्नेमा वडा अध्यक्षका उम्मेदवार दुईजना छन् ।

त्यसैगरी, भक्तपुर नगरपालिकामा शून्य मत ल्याउने उम्मेदवारको सङ्ख्या ११ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार भक्तपुर नगरपालिकाका वडा अध्यक्षमा उम्मेदवारी दिने १० जना र वडा सदस्यमा उम्मेदवारी दिने एक गरी कुल ११ उम्मेदवारले शून्य मत प्राप्त गरेका हुन् ।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार भक्तपुर नगरपालिका–२ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टि टेबल चुनाव चिह्नका सूर्यनारायण फाँजू, वडा नं. ३ का लसुन चुनाव चिह्नका हरिसुन्दर लबजू, ४ का विश्वराम त्वायना चुनाव चिह्न जाँतो, ५ का नारायणभक्त भेलेको चुनाव चिह्न ओखरले शून्य मत प्राप्त गरेका थिए । वडा नं ६ का भुइँकटर निर्वाचन चिह्न प्राप्त गरेका विधान धुसा, चुलेसी निर्वाचन चिह्नका पूर्णभक्त सुवाल, ७ का छडी निर्वाचन चिह्न प्राप्त गरेका रोमश्वर प्रजापति, ८ का डाक्टर निर्वाचन चिह्का कृष्णप्रसाद कोजू, ९ का सोली निर्वाचन चिह्का विष्णुभक्त कुसी र १० का ह्याट निर्वाचन चिह्न प्राप्त गरेका भरतप्रसाद भद्राले शून्य मत प्राप्त गरेका हुन् ।  वडा नं १० का वडा सदस्यका स्वतन्त्र उम्मेदवार मोहनकुमार ह्योगोजूले पनि शून्य मत प्राप्त गरेका थिए । उनको चुनाव चिह्न बाघ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार