पाँच दंगाली पत्रकार चुनावी मैदानमा

दाङ । दोस्रो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँच पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका छन् । काँग्रेसबाट तीन र एमालेबाट दुई गरी पाँचजना पत्रकार आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने भएका हुन् ।

रेडियो सञ्जीवनीमा कार्यरत पत्रकार सुवास डिसीलाई काँग्रेसले तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य, रेडियो तुलसीपुरमा कार्यरत पत्रकार प्रकाश डाँगीलाई दंगीशरण गाउँपालिका–२ को सदस्यमा काँग्रेसले उम्मेदवार बनाउने भएको हो ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिका–५ को वडा सदस्यमा काँग्रेसले सुरेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ न्युज २४ टीभीका जिल्ला संवाददाता हुन् ।

एमालेले भीमकान्त बस्याल ‘सङ्गीत’ लाई तुलसीपुर उपमहानगरपालिका–९ को वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । बस्याल यसअघि रेडियो प्रकृति एफएमका स्टेसन मेनेजर थिए।

त्यस्तै, एमालेले रेडियो प्रकृतिमै कार्यरत दुजमान भण्डारी ‘वर्षात’ लाई तुलसीपुर उपमहानगरपालिका–६ बाट वडा सदस्य पदको उम्मेदवार बनाउने भएको छ ।

राजनीतिक दलले उम्मेदवार बनाएका सबै पत्रकार आ–आफ्नो प्रचार–प्रसारमा व्यस्त छन् । उनीहरु मतदाताको घरघरमा पुगेर मतदातासँग आ–आफ्नो पक्षमा मत माग्दै घरदैलो गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार