असार ९ मा निर्वाचन नहुने सम्भावना

काठमाडौँ । मुस्लिम समुदायको मुख्य चाड रमजान पर्ने भएकाले असार ९ गने स्थानीय तहको दोस्रो चरणको निर्वाचन नहुने सम्भावना रहेको छ ।

मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि/पछि गर्न आग्रह गरेका हुन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, “सरकार तपार्इंहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय गर्छौं ।”

प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सम्पन्न गर्न आमनेपालीको साथ र सहयोगको अपेक्षा गरेकोसमेत जानकारी गराए । प्रधानमन्त्रीले भने, “असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता छ । जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक सङ्क्रमण अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ ।”

प्रधानमन्त्रीले निर्वाचन गर्नैपर्ने बाध्यताबीचबाट रमजान प्रभावित नहुने गरी व्यवस्था गर्न सरकारले आवश्यक निर्णय गर्ने बताए । प्रचण्डले भने, “निर्वाचन नभए सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र संस्थागत गर्न कठिन हुन्छ । निर्वाचनको विकल्प निर्वाचनमात्रै हो, अरु हुनै सक्दैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार