१७ लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

 


काठमाडौंँ । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनामा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री गिरीले नियुक्तिपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच महिनाको अवधिमा राप्ती तथा बबई नदी नियन्त्रण एवम् व्यवस्थापन कार्य अघि बढेको जानकारी दिए ।

उनले सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती नदी पूर्वको नौ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउन ठेक्का अघि बढेको, रानी जमरा कुलरिया सिँचाइ आयोजना आसपासका सुकुम्बासी बस्ती सार्ने काम र दाङ बृहत्तर सिँचाइ आयोजना अघि बढेको बताए । भदौ १० गते सिँचाइ मन्त्रीमा नियुक्त भएका मन्त्री गिरी कामचलाउ सरकारका सिँचाइमन्त्री हुन् ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को राजस्व र खर्चको विवरण बजेट जेठ १५ गते व्यवस्थापिका–संसद्मा पेस गरेपछि सिँचाइ मन्त्रालयको अवस्थाका सम्बन्धमा थप जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको गरेको हो ।

मन्त्रालयको चालु आवको वार्षिक बजेट २४ अर्ब ४६ करोड २१ लाख पाँच हजार रहेकामा वैदेशिक ऋण तथा अनुदानको हिस्सा आठ अर्ब ३३ करोड ३० लाख ५० हजार छ । वैदेशिक ऋण तथा अनुदान उपलब्ध गराउने निकायमा विश्व बैंक, एसियाली विकास बैंक, कुबेत फन्ड, साउदी विकास कोष, ओपेक फन्ड र भारत सरकार रहेका छन् ।

देशको कुल २६ लाख ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १७ लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ । सिँचाइयोग्य जमिनमध्ये अहिलेसम्म १३ लाख ९२ हजार १७७ हेक्टर सिँचाइ संरचना निर्माण भइसकेको छ, जसमा सतह सिँचाइतर्फ सात लाख ८० हजार ४१५ हेक्टर जमिन, भूमिगत सिँचाइतर्फ चार लाख नौ हजार ४६३ हेक्टर र कृषक व्यवस्थित सिँचाइतर्फ दुई लाख दुई हजार ९९ हजार हेक्टर जमिन रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार