मतदाता शिक्षा अभावले बदर मत धेरै


हेटौँडा । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा धेरै मत बदर भएको पाइएको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढङ्गबाट जानकारी नगराउँदा बदर मत बढेको पाइएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाले पोष्टर टाँस्ने काममात्रै गरेको मतदाताको भनाइ छ । यसले गर्दा धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्थाबारे जानकारी नभएको हेटौँडा– ४ का बाबुलाल पाठकले बताए ।

गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको मतपत्र एउटा र वडाको मतपत्र अर्को बनाएको भए बदर मत घट्ने शिक्षक भरत सापकोटाको भनाइ छ । ६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा प्रमुखमा सात हजार ५८२ र उपप्रमुखमा ११ हजार ९९५ मत बदर भएको छ ।

वडा तहमा पनि ४० प्रतिशतसम्म मत बदर भएको पाइएको छ । गठबन्धनका कारण पनि अधिकांश मत बदर भएको मतदाताले बताएका छन् ।

मकवानपुरमा आवश्यक बढी चिह्नमा मतदान, गठबन्धनको दुवै लाइनमा मतदान, खाली मत, घेराबाहिर मतदान गर्ने जस्ता कारणले बढी मत बदर भएको सहायक निर्वाचन अधिकृत अनन्त मरासिनीले बताए । विगतमा भन्दा ल्याप्चे मत भने कम भएको छ ।

पहिलो चरणमा भएको निर्वाचनको मत बदरबाट पाठ सिकेर निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रमुख, उपप्रमुखका लागि एउटा मतपत्र र वडा सदस्यका लागि अर्को मतपत्र बनाए केही हदसम्म बदर मत घट्ने देखिन्छ ।

यसका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्ने देखिन्छ । निर्वाचन आयोगका साथै राजनीतिक दलले पनि मतदाता शिक्षामा सक्रियता देखाएर बदर मत घटाउनेतर्फ ध्यान दिनु जरुरी भएको सम्बद्ध व्यक्तिको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार