सहमतीय सरकारका लागि तीव्र छलफल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न छलफल थालिएको छ ।

राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनसम्बन्धमा मंगलवार व्यवस्थापिका–संसद्को ठूलो दल काँग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेताको छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित भएन । प्रमुख सत्ता घटक दल काँग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले गत जेठ १० गते राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रावधानानुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्ग ठन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई यही जेठ ११ गते आह्वान गरेकी थिइन् ।

बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले संसद्को ठूलो दलको हैसियतमा काँग्रेस सभापति शेरबहादुर देउवाले बैठक डाकेको जानकारी गराउँदै बैठकमा एमाले उपस्थित नहुँदा बैठकको उद्देश्य पूरा नभएको धारणा व्यक्त गरे ।

उनले आफूले सभापति देउवालाई प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर उहाँहरु पनि उपस्थित हुनेगरी राष्ट्रिय सहमतिको विषयमा अर्को बैठक बोलाउन सुझाएको बताए । बैठकबाट बाहिरिनेक्रममा काँग्रेस सभापति देउवाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अब बन्ने सरकार सकेसम्म सहमति नभए बहुमतीय बन्ने बताए ।
काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सकेसम्म सबैसँग सहमतिका लागि प्रयास गरिने जानकारी दिए । संसद्को ठूलो दल भएको र यसअघि माओवादी केन्द्रसँग भएको समझदारीअनुसार काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन बैठक डाकिएको उनले सुनाए ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रमुख सचेतक शिवजी यादवले राष्ट्रिय सहमतिको सरकार बन्नेमा आफूहरु बाधक नहुने बताउँदै प्रमुख प्रतिपक्ष दललाई पनि समेट्न सुझाएको जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी नेपाल नेता लक्ष्मणलाल कर्णले सरकारले यसअघि आफ्ना माग पूरा नगरेको गुनासो गर्दै तत्काल सरकार गठनमा निःसर्त कसैलाई पनि सहयोग नगरिने स्पष्ट पारे ।

बैठकमा काँग्रेस, माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राजपा, नेमकिपा, नेकपा माले, नेकपा संयुक्त, थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, जनजागरण पार्टीलगायत दलका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार