अमेरिकी सेनामा नेपाली

दीपेन्द्र राई

सुनसरी, धरानका सुधाकर घलेले सैनिक सेवामा लागेर भविष्य बनाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर, कहिल्यै नसोचेको सेवामा प्रवेश गरेर घलेले भविष्य उज्यालो बनाउँदै छन् । एमबीबीएस पढ्न अमेरिका पुगेका उनी पढाइ पूरा गरेपछि अमेरिकी सेनामा प्रवेश गरे । अमेरिकाको जोहनसोन एन्ड वेल्स विश्वविद्यालयमा ‘ग्लोबल बिजनेस लिडरसिप’ अन्तर्गत वित्त व्यवस्थापनमा एमबीए पूरा गरेपछि उनी सेनामा प्रवेश गरेका हुन् ।

फुर्वा याङ्जी शेर्पा नेपाली सेना बन्न चाहन्थिन् । एकताका शेर्पाको सपना–जपना नै नेपाली सेना बन्ने थियो । सैनिक सेवामा प्रवेश गरेर देशको सेवा गर्ने उनको उत्कट अभिलाषा थियो । देखेजति सबै सपना पूरा हुँदैनन् । उनको हकमा पनि त्यो लागू भएरै छाड्यो । सैनिक पोसाक लगाएर परेड खेल्ने उनको सपनाले न फुल्न पायो न फल्न नै । र पनि, उनी निराश भइनन् । निराश भएकी भए उनी अमेरिकासम्म पुग्ने थिइनन् । अधुरो सपना साँचेर अमेरिका पुगेकी शेर्पा आफूले देखेको सपना अमेरिकाले साकार बनाइदियो । विविध कारणले नेपाली सेना बन्न नपाए पनि शेर्पा अमेरिकी सेना बन्न सफल भइन् ।

 

स्याङ्जाबाट अमेरिका पुगेकी सुनीता कार्की अमेरिकी सेनाकी सैनिक अधिकृत हुन् । ‘तिमी भविष्यमा के बन्न चाहन्छौ ?’ भनेर सोध्दा आर्मी वा पाइलट बन्छु भन्ने उत्तर दिने कार्की पाइलट नबने पनि अमेरिकी सेना बन्न सफल भइन् ।

सुधाकर घले र फुर्वा याङ्जी शेर्पा र सुनीता कार्की प्रतिनिधि पात्रमात्रै हुुन् । अमेरिकी सेनामा प्रवेश गर्ने घले, शेर्पा र कार्कीजस्ता नेपाली सयभन्दा बढी नै रहेको बताइन्छ । अमेरिका पुगेका नेपालीले ग्रीनकार्ड पाएपछि मात्रै त्यहाँको सैनिक सेवामा प्रवेश गर्न पाउँछन् । कानुनतः अमेरिकी नागरिक भए पनि नेपालबाट त्यता पुगेका नेपाली सैनिक सेवामा प्रवेश गरेर भविष्य उजिल्याउँदै गर्दा अन्य नेपालीलाई गर्व नलाग्ने कुरै भएन । अमेरिकी नागरिक हुनुपहिले उनीहरू नेपाली नै हुन् ।

बेलायत, सिंगापुर, भारतमा मात्रै होइन, ब्रुनाईको राजकीय सुरक्षामा समेत नेपालीको उपस्थिति बाक्लै रहेको छ । पछिल्लो समय दुबई प्रहरीमा समेत नेपाली छानिन थालेका छन् । यसलाई सुखद् मान्नैपर्छ । यसै सन्दर्भमा अमेरिकी सरकारले समेत आफ्नो सैनिक सेवामा नेपालीलाई प्रवेश गराएका छन् । यो त झनै गौरवको विषय हो । अमेरिकी सेनामा कार्यरत सबैको समान सेवा–सुविधा प्रदान गरिनुलाई सर्वत्र चर्चा गर्ने गरिन्छ । विभिन्न देशबाट अमेरिका पुगी सेनामा प्रवेश गरेकालाई समान तलब र व्यवहार गरिनुलाई थप आकर्षणका रूपमा हेरिएको छ ।

अधिकांश नेपालीका लागि अमेरिका सपनाको देश हो । सपनाको देश पुगेका नेपालीले सैनिक सेवामा प्रवेश गरेर नेपालको प्रतिनिधित्व गर्नुलाई कम आँक्न मिल्दैन । विभिन्न शीर्षकमा अमेरिका पुगेकामध्ये सैनिक सेवामा प्रवेश गरी ‘करिअर’ बनाउन लागिपरेकी छन्– प्रेसिका चौधरी । चौधरी जागिरक्रममा अमेरिकाको माउन्टेन भ्युदेखि अफगानिस्तानको कान्दाहारसम्म पुगेकी छन् । अमेरिकादेखि अफगानिस्तानसम्म पुगेर आफ्नो कर्तव्य निर्वाह गरेकी चौधरीको बुझाइ छ, ‘सैनिक सेवामा प्रवेश गरी सम्बन्धित सेवामा सिकेको ज्ञान भूगोलको जुनसुकै ध्रुवमा पुगे पनि काम लाग्दोरहेछ ।’

चौधरीको बुझाइमा सहमत छिन्– श्वेता लामिछाने । लामिछाने अमेरिकी सेनामा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् । पढ्नका लागि अमेरिका पुगेकी उनले पढाइ खर्च जुटाउन धौ–धौ परेपछि सेनामा जागिर खान पुगेको सुनाइन् । उनको जिकिर छ, ‘सेनाजस्तो उत्तम पेसा अरू केही छैन ।’

सन् १७७५ देखि अमेरिकी सरकारले महिलालाई सेनामा भर्ती गर्न थालेका हुन् । त्यसको प्रत्यक्ष फाइदा अमेरिका पुगेका नेपालीले पनि पाएका छन् । त्यही भएर अमेरिका पुगेका कतिपय नेपालीले बाध्यता र कतिले रहरै–रहमा सैनिक सेवामा प्रवेश गरेका छन् । अमेरिकाको सैनिक सेवामा आकर्षक सुविधा भएकाले नेपाली पुरुष र महिलाको आकर्षण बढ्दै गएको हो कि भनेर जोकोहीलाई ठम्याउन गाह्रो पर्दैन ।

अमेरिकी सेनामा प्रवेश गरेका नेपाली पुरुष तथा महिलाले प्रसिद्धिसमेत कमाएका छन् । त्यसमध्ये एक हुन्– सुधाकर घले । घलेले शारीरिक सुगठनअन्तर्गत ‘आर्मी भेलु सोल्जर्स’ अवार्ड हात पारेका छन् । घलेले भने, ‘तपाईंसँग कुराकानी गरिरहँदासम्म यो अवार्ड अमेरिकी सेनामा कार्यरत नेपाली पाउन सकेका छैनन् ।’

घलेजस्तै उदाहरणीय व्यक्ति हुन्– सरलकुमार श्रेष्ठ । १३ वर्षअघि अमेरिकी सेनामा भर्ती भएका श्रेष्ठले समेत ‘बेस्ट अफ दी इयर २०१२’ उपाधि हात पारेका छन् । यो अमेरिकाको खेलकुद प्रतियोगिताअन्तर्गत वितरण गरिने सबैभन्दा ठूलो उपाधि मानिन्छ ।

अमेरिकी सेनामा प्रवेश गरेपछि नेपाली महिला र पुरुषमा के–कस्तो परिवर्तन ल्याएको होला ? ‘अमेरिकी सेनामा जागिरे भएपछि आत्मबल बढेको छ,’ प्रेसिका चौधरीको स्वाकारोक्ति छ, ‘साथै भविष्य पनि सुरक्षित भयो नि ।’

रहरै–रहरले अमेरिकी सेनामा जागिर खाएको बताउने एलिजा रन्जितले नेपालबाट अमेरिका पुगेर सेनामा जागिर खानुलाई चुनौती ठानेकी छन् । ‘अमेरिकी सेनाको सुखद पक्ष भनेकै सहकार्य हो,’ अमेरिकी सेना भएर काम गर्दा फुर्वा याङ्जी शेर्पा आफूले बुझेको गुह्य सुनाइन्, ‘जस्तोसुकै अप्ठ्यारो अवस्थामा समेत अमेरिकी सेनाले एकले अर्काेलाई सहयोग नगरी रहन सक्दैनन् । यसले मलाई साह्रै प्रभाव पार्यो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार