पत्रकार सिंहदरबारको गीता गाउन व्यस्त

पछिल्लो समय पढेर पत्रकारिता गर्नेको संख्या बढ्दै गएको छ । दक्षिण एसियाकै पुरानो पत्रिकामध्ये एक गोरखापत्र दैनिकमा सहसम्पादकको भूमिका निर्वाह गर्दै आएका राजेश चाम्लिङ भन्छन्, ‘अधिकांश पत्रकार सकारात्मक होस् या नकारात्मक दुवै तरिकाले सिंहदरबार वा सिंहदबारवरिपरिका विषयमै गीत गाउन अभ्यस्त छौँ ।’ पत्रकारिताको मान्यताअनुसार जुन ढंगको तटस्थता, आदर्श वा निष्पक्षताको कुरा गरिन्छ, त्यो त विश्वमै सम्भव छैन । तर, हामीकहाँ आवश्यकताभन्दा बढी नै पक्षधरता देखिएको पत्रकार चाम्लिङको बुझाइ छ । पत्रकारिताको सेरोफेरोमा रहेर राजेश चाम्लिसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

 

गोरखापत्र दैनिकको उपसम्पादक पनि हुनुहुन्छ । पत्रकारिताका सैद्धान्तिक कुरा व्यवहारमा कत्तिको कार्यान्वयन भएका छन् ?

जटिल प्रश्न सोध्नुभयो । पत्रिका प्रकाशनको इतिहास नेपालमा सय वर्षभन्दा पुरानो भए पनि पत्रकारिताको खास सुरुवात भएको दुई दशक हुँदै छ भन्दा फरक पर्दैन । त्यसैले पनि होला पत्रकारिताको सैद्धान्तिक पक्ष व्यावहारिक रूपमा कार्यान्वयनबारे नेपालमा पर्याप्त अध्ययनसमेत भएका छैनन् । यद्यपि, यसबारे भर्खर–भर्खर बहस सुरु भएको छ । ती अध्ययन र मैले कार्यक्षेत्रमा दैनन्दिन अनुभवका आधारमा भन्ने हो भने हाम्रो पत्रकारिता व्यावसायिकता कार्यान्वयनमा निकै पछि छ । यो पूर्ण व्यावसायिक भइसकेको छैन । थोरै वा धेरै मात्रामा मात्र फरक छ तर सानो होस् वा ठूलो मिडिया अर्थात् एउटा व्यक्तिले चलाएको सञ्चारमाध्यम होस् या ‘कर्पोरेट हाउस’ यी सबैमा पक्षधरता देखिन्छ । पत्रकारिताको मान्यताअनुसार जुन ढंगको तटस्थता, आदर्श वा निष्पक्षताको कुरा गरिन्छ, त्यो त विश्वमै सम्भव छैन । तर, हामीकहाँ आवश्यकताभन्दा बढी नै पक्षधरता देखिन्छ ।

पत्रकारिताको विश्वसनीयता घट्दै गएको आरोप लगाउने गरिएको छ । सत्य के हो ?

आधा सत्य देख्छु । ‘डिजिटल प्रविधि’ को यति धेरै विकास नहुँदासम्म नेपालमा निश्चित अभिरुचिका आधारमा चल्ने साप्ताहिक पत्रिकाले यसको ठूलो हिस्सा ओगट्थ्यो । पछिल्लोपटक ‘नागरिक पत्रकारिता’ कै अर्को रूपमा फेरिएको अनलाइन पत्रकारिता सुरु भएपछि ती पत्रिकाको ठूलो भार ‘अनलाइन’ ले उठाइदिएका छन् । तपार्इं चार महिनायताकै एकदमै व्यावसायिक भनिएका ठूला सञ्चारमाध्यको ‘कन्टेन्ट’ हेर्नुस् न, त्यहाँ आएका ठूला र संवेदनशील खबरसमेत झुटा ठहरिएका छन् । उदाहरणका लागि ‘भारतले नाकाबन्दी खोल्ने’ वा ‘चीनबाट इन्धन ल्याउने’ बारे खबर हेर्नुस् । अधिकांश यथार्थ वा सत्यभन्दा बाहिर छन् । यस्तो हुनुमा, कुनै एउटा निश्चित अधिकारीले भन्नासाथ त्यसको वास्तविकताबारे थप खोज नगर्ने वा त्यसका अन्य पक्षबारे आँखा चिम्लेर अरूभन्दा आफू छिटो हुनुपर्ने हाम्रो स्वभावको ठूलो हात छ ।

पत्रकारिताले घृणा फैलाउने काम गर्दै आएको पत्रकार स्वयम्ले भन्ने गरेका छन् । यहाँलाई के लाग्छ ?

यसको उत्तर माथि पनि केही हदसम्म दिइसकेको छ । गर्नुपर्ने खास काम नगर्ने तर निश्चित उद्देश्य पूर्तिका लागि तथ्य र यथार्थलाई बंग्याएर प्रस्तुत गर्ने प्रवृत्ति बढेपछि यस्तो हुनु अस्वाभाविक होइन ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाट जनताले पत्तो पाउन नसकेका विषयलाई चौथो अंगले पत्रकारितामार्फत उजागर गर्नुपर्छ भनिन्छ । चौथो अंगको संज्ञा पाएकाले पत्रकारिताले यो धर्म निर्वाह गरेको छ कि छैन ?

हामीकहाँ यो चौथो अंगको भ्रम पनि ठूलो छ । यसको अवधारणागत कुरा गर्ने हो भने यो राज्यको कुनै कार्यकारिणी अधिकारसहितको ‘अंग’ भन्दा पनि शक्ति वा स्थितिको कुरा गरिएको हो । जसमा मुख्यतः १९औं शताब्दीमा ‘प्रिन्ट मिडिया’ निकै शक्तिशाली रहेको बेला सरकारी निकायले गर्न नसकेको काम ‘न्युज मिडिया’ ले गर्छ भन्ने प्रस्ट्याउन थोमस कार्ले नामक वकिलले प्रयोग गरेका हुन् । तर, हामीकहाँ यसलाई मिडिया नै चौथो अंग (राज्य) हो भन्ने अर्थमा ग्रहण गरिएको देखिन्छ । यदि ‘शक्ति’ को अर्थमा मात्र बुझ्ने हो भनेचाहिँ यसले धेरै हदसम्म आफ्नो धर्म निर्वाह गरेको छ । यसका विसंगत पक्षबारे त मैले माथि नै भनिसकें ।

जनताका पीर–मर्काभन्दा सिंहदरबारको गीता गाउनमै पत्रकारिता अल्मलिएकै हो त ?

योचाहिँ ठीक हो । हामी अधिकांश पत्रकार सकारात्मक होस् या नकारात्मक दुवै तरिकाले सिंहदरबार वा सिंहदबारवरिपरिका विषयमै गीत गाउन अभ्यस्त छौँ ।

भारतीय प्रसिद्ध लेखक खुश्वन्त सिंहले पत्रकारितालाई वेश्यावृत्ति गर्नुभन्दा तल्लोस्तरका काम भनेका छन् । लेखक सिंहको भनाइसँग सहमत हुनुहुन्छ ?

हुन त कार्ल माक्र्सले पनि पत्रकारलाई ‘बौद्धिक दास’ भनेका छन् । सिंहले कुन अर्थमा भन्नुभएको छ, मैले पढ्न पाएको छैन । जानी–जानी वा तथ्य एउटा हो भन्ने बुझ्दा–बुझ्दै पनि जनमत अर्कैतर्फ मोड्न लगत सूचना प्रवाह गर्ने परिपाटी देख्दा कहिलेकाहीँ हो जस्तो पनि लाग्छ । तर, यति हदसम्मचाहिँ होइन कि !

साहित्यकार तथा पत्रकार मार्क ट्वेनले भनेका थिए, ‘इफ यु डु नट रिड द न्युजपेपर, यु आर नट इन्फम्र्ड । इफ यु रिड द न्युजपेपर यु आर मिस इन्फम्र्ड ।’ अर्थात् पत्रिका पढेन भने जानकारी पाइँदैन, पत्रिका पढ्यो भने गलत जानकारी पाइन्छ । उनले कम्तीमा सय वर्षअघि भनेको कुरा नेपालमा अहिले पनि लागू भएकै छ होइन ?

यो पनि ५० प्रतिशत ठीक होलाजस्तो लाग्छ । त्यसैले होला पत्रपत्रिकामा आएको सूचनालाई प्राज्ञिक लेखनमा साइटेसन गर्दा त्यति आधिकारिक मानिन्न । विद्वान् कृष्ण हाछेथुसँग मैले एकपटक पत्रिकामा आएको सूचनाका आधारमा विचार माग्दा उहाँले भन्नुभएको थियो, ‘म पत्रिकामा आउनेबित्तिकै विश्वास गर्दिनँ । त्यसलाई पहिले आफ्नो माध्यमबाट यथार्थ के हो भन्ने बुझ्छु अनि मात्र प्रतिक्रिया दिउँला ।’ यसले तपाईंको सोधाइलाई उत्तरित गर्छ कि !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार