‘जहाँ ‘डन’ को कदर गरिन्छ’

हरैंचा मोरङनिवासी योगेन्द्र कोइराला ‘आकाश’ आफू बुझ्ने भएदेखि खेल क्षेत्रमा लागे । कोइरालाले २०४९ बाट कराते खेल्न थालेका हुन् । ०५५ मा पहिलो डान (ब्ल्याक बेल्ट) लिन सफल भए । आफैंले डोजो दर्ता गरेर कराते सिकाउन थाले । ०६१ मा दोस्रो र ०६५ मा तेस्रो डान लिएँ । अहिले फो डान हुँ ।

मलेसिया र सिंगापुर पुग्दा पनि खेलप्रतिको मोह घटेन भन्ने उनी त्यहाँ पनि निरन्तर खेल क्षेत्रमा लागिरहे । मलेसियामा रहँदा ०६८ मा विश्व कराते महासंघबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त तेस्रो डान लिन सफल भए । विश्वकप करातेमा निर्णायक रेफ्रीको भूमिका निर्वाहसमेत गरे । केही समयका लागि बिदामा नेपाल आएका आकाश कोइरालासँग पत्रकार नवराज पोखरेल ‘पाखेली’ ले गरेको कुराकानी :

 

तपाईंले तेस्रो डान थापिसक्नु भयो नि तपाईं ‘डन’ कि डान ?

मैले कमाएको सम्पत्तिले मलाई डान भन्छ । तर, नेपालमा डान हैन डनको कदर बढी भएको देख्छु म ।

अहिले नेपालमा कराते खेलको अवस्था कस्तो देख्नुहुन्छ ?

नेपालमा कराते खेल कसरी अगाडि बढेको छ भन्ने कुरा मुख्य हो । हुन त यहाँ धेरै डोजो सञ्चालित छन् तर कसरी चलेका छन् ? सरकारले कस्तो सहयोग र हौसला दिएको छ भन्ने कुराको यकिन छैन ।

 

मतलब ?

खेल क्षेत्रलाई पनि राजनीतिले गाँजेको छ ।

विदेशमा समेत खेल्नुभएको अनुभव छ तपाईंसँग, के फरक पाउनुभयो स्वदेश र विदेशमा ?

अन्तर्राष्ट्रिय क्षेत्रमा खेललाई पूजा गरिन्छ, खेलाडीलाई सम्मान गरिन्छ तर यहाँ त खेल केटाकेटीले खेल्छन् भन्ने मान्यता राख्नेहरू छन् ।

विदेशमा कत्तिको गाह्रो भयो खेल रुचि जोगाउन ?

म नेपालबाहिर जाँदा खेलाडी भएर हैन कामदारका रूपमा गएँ तर त्यहाँ पुगेपछि केही विदेशी खेलाडी साथी र गुरुसँग संगत भयो । उनीहरूले मलाई हौस्याए र ठाउँ पनि दिए । त्यहाँ भाषा र संस्कृति फरक भए पनि खेलाडीलाई हेर्ने नजर भने सकारात्मक पाएँ । मलाई नेपाली हिरो भन्दा अझ गर्व लाग्थ्यो ।

अनि के भन्छन् विदेशी गुरुहरू नेपालबारे ?

मलेसिया र सिंगापुरबाट नेपाल आएका धेरै विश्व कराते महासंघका गुरु आफूहरू अपमानित भएको कुरा सुनाउँथे । अनि तिम्रो देशमा केही मान्छेमात्र राम्रा रहेछन् भन्छन् । यस्ता कुराले मलाई दुःखी बनाउँछ । आफूले सम्मान पाउन अरूको इज्जत गर्नुपर्छ । त्यसमाथि खेलले मानिसलाई अनुशासित बनाउँछ तर यहाँ त्यस्तो संस्कृति अभाव छ ।

तपाईं कस्तो खेलाडी ?

एउटा मेडल जितेर फूलमाला लगाउने अनि पत्रिकामा फोटो छपाउने र आफू चर्चित भएको घोषणा गर्ने खेलाडीलाई प्रगति गरेको म ठान्दिनँ । राम्रा खेलाडी हुन लड्नुपर्छ, भिड्नुपर्छ, नियमित अभ्यास गर्नुपर्छ अनि सुनौला पुरस्कार जित्नुपर्छ ।

तपाईं आफूलाई दर्जाको खेलाडी ठान्नुहुन्छ ?

मैले म कुन स्थानमा छु भन्नुपर्दा यो राष्ट्रले मलाई कुन ठाउँमा राखेर उचित अवसर दिन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार