३६ वर्षदेखि पढाउँदै आएका शिक्षकको बकपत्र

दीपेन्द्र राई/राजुविक्रम चाम्लिङ


‘त्यतिबेला,’ देवान राईले भने, ‘पढ्ने चलन थिएन ।’ पढ्ने चलन नभए पनि दुर्छिम–४ गणेशटार खोटाङका राईले एसएलसीसम्म पढे । आफू पढ्नुमा भिनाजु विक्रमान राईको मुख्य हात रहेको उनले सुनाए ।

आफू यहाँसम्म आइपुग्न उहाँको हात रहेको भन्दै उनले भिनाजुको नाम पटक–पटक लिए । साँच्चै भिनाजुले आपाआमालाई छोराछोरी पढाउनुपर्छ नभनिदिएका भए देवान राई खेतीकिसानीमै अलमिन्थे होलान् । बन्द–व्यापार वा राजनीति गर्थे होलान् । तर, शिक्षण पेसामा हुने थिएनन् ।

संवत् २०१८ मा जन्मेका देवान राईले ०२९ बाट विद्यालय जान थाले । भिनाजुको सल्लाह मानेपछि आपा भरिध्वज राई र आमा सेम्टुमाया राई उनलाई विद्यालय पठाउन राजी भए । ११ वर्ष पुग्दा पहिलोपटक उनले विद्यालय टेके । उनी तात्कालिक दामोदर महासिं मिडिल स्कुल (हाल ः दुर्छिम ५ मा रहेको प्राथमिक विद्यालय) मा ३ कक्षामा भर्ना भए । १ र २ कक्षा नपढी एकैचोटि ३ मा भर्ना भएका उनी कक्षा ४ नपढी ०३० मा चुमाखु निम्नमाध्यमिक विद्यालयमा ५ कक्षामा भर्ना भए ।

विद्यालय जानुअघि भिनाजुले नै उनलाई कालोपाटीमा धूलो राखेर सिन्काले लेख्न सिकाएका थिए । उनले अतीत सम्झे, ‘घरमै धेरै कुरा सिकेपछि विद्यालय जान थालेको हुँ ।’

त्यतिबेला व्यवस्थित विद्यालय नभएकाले उनले बीच–बीचको कक्षा नपढी फड्को मारे । स्थानीय जनकराज राईको सल्लाहअनुसार उनले खोटाङ सदरमुकाम दिक्तलेमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा दिक्तेलमा कक्षा ८ मा भर्ना भए । उनले भने, ‘९ र १० पनि त्यहीँ पढेँ । त्यहीँबाट एसएलसी गरेँ । तर, ६ र ७ कक्षा मैले पढिनँ ।’

संवत् ०३६ मा भरिध्वज राईको परिवारमा खुसी नै खुसी छायो । कारण माइला छोरा देवानले दोस्रो श्रेणीमा एसएलसी पास गरेका थिए । गाउँ (गणेशटार) मै पहिलोपटक एसएलसी पास गर्ने उनी नै हुन् । उनले ०३७ मा बिहे गरे । त्यही वर्षदेखि अस्थायी शिक्षकका रूपमा उनले चुमाखु निमाविमा पढाउन थाले । ०३८ सम्म त्यहाँ पढाएका उनले ०३८ देखि ०३९ सम्म विनातलब दुर्छिम उमावि दुर्छिममा पढाए । यसैगरी, ०४० मा उनले दामोदर महासिं प्राथमिक विद्यालयमा पनि पढाए ।
एसएलसी पास गरेको चार वर्षपछि मात्रै उनी स्थायी शिक्षकमा नियुक्त भए । ०४१ असारमा स्थायी शिक्षक भएका देवानले ०४९ वैशाख २० सम्म चुमाखु निमाविको प्रधानाध्यापक भए । त्यसपछि उनी लक्ष्मी प्रावि हैदे पुगे । ०४९ वैशाख २१ देखि ०६५ मंसिर ८ सम्म उनले लक्ष्मी प्रावि प्रधानाध्यापकको भूमिका निर्वाह गरे ।

०६५ पुसदेखि ०६६ सम्म उनले च्यास्मिटार उमाविमा पढाए । त्यसपछि ०६७ देखि ०६९ सम्म पञ्चावती प्रावि मंगलटारमा पढाए । उनले ०६९ भदौदेखि अहिलेसम्म पारुहाङ प्रावि आहाले गणेशटारका प्रधानाध्यापकको भूमिका निर्वाह गरिरहेका छन् । प्रअ राई ०६८ मंसिर ६ देखि द्वितीय श्रेणीका शिक्षक हुन् । उनी ०६१ असार २० मा सेवानिवृत्त हुनुपर्ने भए पनि अहिलेसम्म अध्यापन पेसामा सक्रिय छन् ।

जोकोही मानिस सक्रिय रहनु भनेको सम्बन्धित व्यक्तिको आयु लम्ब्याउनु पनि हो । यो कुरा बुझेका उनले आफ्ना छोराछोरी र नातिनातिनालाई पनि सिकाएका छन् । त्यही सिको गरेका छन्– उनका छोराछोरीले । उनका छोराहरू पाश्चर जेन्स राई, चाल्र्स डेनी राई र किस्मत राई अध्ययन पूरा गरेर वैदेशिक रोजगारीमा छन् । जेठी छोरी हसिना राई स्नातक तह दोस्रो वर्षमा र कान्छी मन्दिरा राई हेल्थ असिस्टेन्ट (एचए) पढिरहेका छन् ।

तीन छोरा, दुई छोरी, दुई नाति र दुई नातिनीले घेरिएका देवान राई भाग्यमानी नेपालीमध्येका एक हुन् । उनले कुराकानीको पुछारमा सुनाए, ‘त्यतिबेला पढ्न त्यति सजिलो थिएन । पढेकाले जागिर पाउन सजिलो थियो । अहिले पढेकाले पनि जागिर पाएका छैनन् ।’ जागिर नपाए पनि उनले छोराछोरीलाई पढाएरै छाडे । पढ्नु भनेको जागिर खानकै लागि होइन । शिक्षित बन्नलाई पनि त पढ्नैप¥यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार