४०औं प्रधानमन्त्रीमा देउवा निर्वाचित

काठमाडौँ । मुुलुकको ४०औँ प्रधानमन्त्रीमा  काँग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

मंगलवारको संसद् दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एकमात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको विपक्षमा १७० मत परेको थियो । एकमात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।

हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा मतदानमा ५५८ ले भाग लिएका थिए। ‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव प्रस्तुत गरेका थिए।

माओवादी केन्द्र र काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा संयुक्तलगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए ।

४५ वर्षमै गृहमन्त्री बन्न सफल उनी पाँच वर्ष नवबत्दै प्रधानमन्त्रीको भूमिकामा पुगेका थिए । संवत् ०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । चौथोपटक प्रधानमन्त्रीमा विजयी घोषणासँगै सभापति देउवालाई सभामुख ओनसरी घर्ती र सांसद्हरुले बधा दिएका थिए।

प्रधानमन्त्री देउवाको जीवनी

काँग्रेस सभापति एवम् संसदीय दलका नेतासमेत रहेका शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को मंगलवारको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्रीका रुपमा यो उनको चौथो कार्यकाल हो ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी ०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए । उनी नेपाल विद्यार्थी सङ्घ प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । उनकी धर्मपत्नी डा. आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य छन् । प्रधानमन्त्री देउवाका एक छोरा छन् ।

२०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

२०४८ मा गृहमन्त्री बनेका प्रधानमन्त्री देउवाले त्यसपछि पटक–पटक गरी तीनपटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए। उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए। असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री हुँदा देउवाले पिछडिएको भू–भाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस ९कदमजम० को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ मा काँग्रेस विभाजन भई गठन भएको काँग्रेस प्रजातान्त्रिकको सभापति बने । ०६४ मा काँग्रेस र काँग्रेस प्रजातान्त्रिकको एकतापछि उनी काँग्रेसको वरिष्ठ नेता भएका थिए।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनल उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनक्रममा उनले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए ।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार