मेयरका उम्मेदवार नै कुटपिटमा संलग्न


खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई नेतृत्वमा गएको एमाले कार्यकर्ताले सोही नगरपालिका २ नम्बर वडा डिकुवानिवासी अर्जुन राउतलाई कुटपिट गरेका छन् ।

हलेसी–तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई, उपमेयर मनीषा राई र २ नम्बर वडाध्यक्ष हरि खड्काको निर्देशनमा राउतमाथि कुटपिट गरिएको नेविसंघ अध्यक्ष राजकुमार बस्नेतले बताए ।

दोस्रो चरणको स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले कार्यकर्ताको कुटपिटबाट १७ वर्षीय राउतको आँखा र ढाडमा गहिरो चोट लागेकाले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी नायव निरीक्षक नवीनकिशोर प्रधानले बताए । प्रहरी नायव निरीक्षक प्रधानका अनुसार, राउतलाई मरणासन्न हुनेगरी कुटपिटमा संलग्न हलेसी–तुवाचुङ नगरपालिका ८ सल्लेका धनकुमार भुजेललाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको भुजेललाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

आफ्नो कार्यकर्ता हिरासतमा राखिएपछि एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राईले काँग्रेस क्षेत्रीय सभापति इबन राईलाई टेलिफोनमार्फत आफ्नो गल्ती स्वीकार्दै भुजेललाई छुटाउन रोइकराइ गर्दै आएका छन् ।

काँग्रेसले आफ्नो कार्यकर्तामाथि कुटपिट भएको भन्दै विरोध जुलुस निकाल्नुका साथै इलाका प्रहरी कार्यालय हलेसीमा एक घन्टा धर्ना दिएको थियो । उसले घाइतेको उपचार र कुटपिटमा संलग्न भुजेललाई कानुनी कारबाही माग गरेको छ ।

हलेसी–तुवाचुङ नगरपालिका–२ का काँग्रेसतर्फ वडासदस्य उम्मेदवार चित्रबहादुर खत्रीको घरमा एमालेले पार्टी झन्डा गाडेको विषयमा विवाद भएको थियो । काँग्रेस र एमालेतर्फ वडाध्यक्ष उम्मेदवारबीच विवाद टुंग्याइए पनि मेयर र उपमेयरका उम्मेदवार खडेन्द्र राई र मनीषा राईको संयुक्त नेतृत्वमा गएको एमाले कार्यकर्ता कुटपिटमा उत्रेका थिए ।

विवाद टुंगेलगत्तै एमाले जिल्ला अध्यक्ष बवि चाम्लिङ, एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई र काँग्रेस क्षेत्रीय सभापति इबन राईबीच शान्तिपूर्ण वातावरणमा चुनावी कार्यक्रम गर्ने, चुनावी अभियान हिंसात्मक नबनाउने, सदीयौंदेखि रहिआएको सामाजिक, सांस्कृतिक र राजनीतिक सदासयतालाई कायम राख्दै स्वस्थ चुनावी प्रचार–प्रसार गर्ने सहमति भएको थियो ।

सहमति भइसकेपछि एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राईकै निर्देशनमा काँग्रेस कार्यकर्ता कुटपिट गरेर एमालेले उक्त सहमतिको धज्जी उडाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार