‘प्रेमप्रस्ताव राख्नै डराउँछन्’


भनिन्छ– सुखमा नमातिनु र दुःखमा नआत्तिनु । जस्तोसुकै दुःखमा पनि धैर्य, साहस र संघर्षसाथ अगाडि बढे सफलता प्राप्त हुन्छ । यस्तै, एक उदाहरण बनेकी छन्– उद्घोषिका याङ्जोम शेर्पा ।

कुनै समय कार्यक्रम सञ्चालन गर्न नपाएर रोएकी याङ्जोम हिजोआज व्यस्त र महँगो उद्घोषिका बन्न सफल भएकी छन् । एनटीभी र एनटीभी प्लसमा दुई वर्ष कार्यक्रम सञ्चालन गरी स्टेज कार्यक्रम सञ्चालनमा जमेकी छन् ।

शेर्पा समुदायकै पहिलो महिला उद्घोषिका याङ्जोम स्वास्थ्यकर्मी र समाजसेवी पनि हुन् । उनी ताप्लेजुङको लेलेप–९, घुन्सामा जन्मिएकी हुन् । गाउँकै एकमात्र एसएलसी पास गर्ने महिला उनी एक कक्षादेखि एसएलसीसम्मै पहिलो र दोस्रो भइन् । एएनएम (अनमी) पढ्दा पनि डिस्टिङ्सन प्राप्त गरिन् ।

उनी एक संस्थामा आबद्ध रहेर समाजसेवामा संलग्न छिन् । आफू जन्मेको ठाउँ घुन्सामा जसरी पनि स्वास्थ्यचौकी स्थापना गर्ने, त्यहींको स्थानीयलाई काठमाडौं ल्याई अध्ययन गराउने र गाउँमै स्वास्थ्य सेवा लगाउने काममा लागिपरेकी छन् । बाँकी उनकै शब्दमा :

दुःखमै बित्यो बाल्यकाल

मरो जन्म ०४३ मा ताप्लेजुङ्को लेलेप–९ घुन्सामा भएको हो । मेरो परिवार निम्नमध्यम हो । सात छोराछोरीमध्ये म कान्छी छोरी हुँ । मेरो एक दाइ, एक दिदी र तीन भाइ छन् । बुवाले अर्काे विवाह पनि गर्नुभएको छ । ठूलो परिवार भएकाले खान–लाउन दुःख थियो । भातभन्दा बढी आलु–रोटी खानुपथ्र्याे । हिउँ परिरहने ठाउँ । अन्नबाली हुँदैनथ्यो । खानेकुरा चांैरीलाई बोकाएर तिब्बतबाट ल्याउनुपथ्र्याे । बुवाले कहिले खानेकुरा ल्याउनुहुन्थ्यो भनेर चौंरीको घन्टी सुनेर धेरै दिन बित्थ्यो ।
ताप्लेजुङबाट तेह्रथुम

तीन कक्षासम्म घुन्सामै पढेँ । गाउँमा एउटा मात्र घुन्सा निम्नमाध्यमिक स्कुल छ, त्यही पढेँ । आर्थिक स्थिति कमजोर भएको कारण पढ्नलाई दुःखै थियो । एसएलसीचाहिँ तेह्रथुम आठराईबाट गरेँ । एसएलसीसम्म पहिलो र दोस्रो हुन्थेँ । कापी, कलम कहिल्यै किन्न परेन । पुरस्कारबाटै धानियो ।

म आठ वर्षको छँदा सुत्केरी हुनेक्रममा आमाको निधन भयो । त्यसपछि हजुरआमाले मलाई तेह्रथुुम कान्छी फूपूकहाँमा ल्याउनुभयो । कर्मआमा फुपूलाई नै मान्छु । फुपूलाई आमै भनेर सम्बोधन गर्छु । उहाँले पनि छोरीकै रूपमा व्यवहार गर्नुहुन्छ । आजसम्म पनि उहाँसँगै छु ।

बाइबाई तेह्रथुम

तेह्रथुमको आठराई विकसित ठाउँ होइन । केटीमान्छेले रेडियो, टीभीमा बोल्छन् भनेर थाहा थिएन । नर्स पढ्छन् भनेर थाहा थिएन । एकजना विदेशी (हल्यान्ड) आन्टी हुनुहुन्थ्यो । उहाँ वन विभागको काममा सरुवा भएर आठराई आउनुभयो र हाम्रै घरमा बस्नुभएको थियो । त्यतिबेला म नौ कक्षामा पढ्थेँ । भन्नुभयो, ‘याङ्जोम, तिमी नर्स पढ, बिरामीलाई गर्ने राम्रो व्यवहार तिमीसँग छ ।’

एसएलसी गरेपछि काठमाडौं आएर स्वास्थ्यसम्बन्धी पढ्ने ठाउँ बुझेँ । प्रतिस्पर्धा धेरै थियो । ओम हस्पिटलमा एएनएम गर्न भर्ना भएँ । पढाइ राम्रो गरें । डिस्टिङ्सनमा नाम निकाल्न सफल भएँ । स्वास्थ्यसम्बन्धी पढ्ने प्रेरणा र लाग्ने सबै आर्थिक सहयोग आन्टीले नै दिनुभएको हो । उहाँ इसिमोडमा काम गर्नुहुन्थ्यो । अहिले हल्यान्ड फर्किनुभयो ।

एएनएम सकाएपछि महेन्द्ररत्न ताहाचाल क्याम्पसबाट आईएड गरेँ । त्यसपछि रत्नराज्य लक्ष्मी क्याम्पस आएँ ।

एएनएम पढेँ, आरजे भएँ

केही समय गोंगबुमा पढाएँ । त्यसैक्रममा जिल्लाको एकजना साथी याङ्ला शेर्पासँग भेट भयो । ताप्लेजुङ सरोकार केन्द्र भन्ने संस्था रहेछ । साथीले त्यसमा आबद्ध हौँ, केही कुरा सिकिन्छ भन्नुभयो । हामी दुईजना त्यसमा आबद्ध भएर विभिन्न कार्यक्रममा स्वयम्सेवी काम गर्यौं । कार्यक्रममा बोल्नुपथ्र्याे तर बोल्न आउँदैनथ्यो । कतिले नराम्रो भन्थे, कतिले सिक्दै जाऊ, राम्रो छ भन्थे ।

यसैक्रममा टुँडिखेलमा ताप्लेजुङ सरोकार केन्द्रले ताप्लेजुङ महोत्सव गर्यो । महोत्सवमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो । मलाई सहयोगी सञ्चालकका रूपमा लिइएको थियो । त्यहाँ जति बोलें राम्रो बोलेछु । त्यसबाट प्रभावित भएर एनटीभी प्लसमा संगीत सरोकार कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आयो । त्यो कार्यक्रम एक वर्ष सञ्चालन गरेँ ।
त्यसपछि नेपाल टेलिभिजनमा योङ स्टार डान्स प्रतियोगिता एक वर्ष सञ्चालन गरेँ । त्यसपछि भने टेलिभिजन कार्यक्रम सञ्चालन गर्न छाडेँ । आर्थिक रूपमा मजबुत हुन सकिनँ । यो समय अन्यत्र लगानी गर्नुपर्छ भनेर टेलिभिजन छाडेँ । केही टेलिभिजन, रेडियोमा काम गर्न प्रस्ताव अहिले पनि आइरहेको छ ।

त्यसपछि स्टेज कार्यक्रममा उद्घोषण गर्न थालेँ । अहिलेसम्म नेपालको पूर्व क्षेत्रका सबै ठाउँमा कार्यक्रम सञ्चालन गर्न पुगिसकेकी छु । शेर्पाबाट पहिलो महिला उद्घोषिका मै हुँ । मिस शेर्पा, मिस लिम्बूलगायतका धेरै औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालन गरेँ ।

अविस्मरणीय क्षण
यस्ता क्षण धेरै छन् । जसमध्ये, संखुवासभा पर्यटन महोत्सव भृकुटीमण्डपमा सञ्चालन गरिसकेपछि एक वृद्धले केही न केही क्षमता छ तिमीसँग, तिमी राम्रो गर्न सक्छौ भनेर हौसला दिएर चिया खुवाउनुभएको थियो ।

कुनै दिन यस्तो पनि थियो, कार्यक्रम सञ्चालन गर्न नपाएर रोएकी थिएँ । टुँडिखेलमा ताप्लेजुङ महोत्सव गर्दाको दिन हो । अनौचारिक कार्यक्रम त सञ्चालन गरँे । औपचारिक कार्यक्रमको पनि उद्घोषण गर्न दिने भनिएको थियो तर दिइएन । हजुरआमाले नातिनीले सञ्चालन गर्ने कार्यक्रम हेर्ने भनेर बेलुका आठ बजेसम्म टीभी हेर्नुभयो । तर, मलाई बोलाइएन ।

समाजसेवामा समर्पित

आफू दुःख पाएकाले होला मलाई सानैदेखि समाजसेवामा रुचि छ । ताप्लेजुङ सरोकार केन्द्र र कन्चनजंघा सेवा समाज हुँदै सुरु गरेको समाजसेवा यात्रा अघि बढिरहेकै छ ।

अहिले ठाक्पो सेड्रुप्लिङ गुम्बामा आबद्ध रहेर काम गर्दै छु । दुर्गम ठाउँका गरिब र अनाथ बच्चालाई पालनपोषण र शिक्षादीक्षा दिँदै आएको गुम्बाका बालबच्चाको सम्पूर्ण व्यवस्थापन मैले नै हेर्दै आएकी छु ।

तीन दिन हिँडेपछि स्वास्थ्याचौकी

लेलेपमा स्वास्थ्यचौकी नभएको होइन । तर, घुन्साबाट स्वास्थ्यचौकी पुग्न तीन दिन लाग्छ । त्यसकारण घुन्सामै हेल्थपोस्ट राख्नुपर्छ भनेर मागपत्र लिएर विभिन्न निकायमा धाउँदाधाउँदा थाकिसकेँ । त्यहाँका मानिस प्यारासिटामोल खान पनि तीन दिन हिँड्नुपर्ने बाध्यता छ । गाउँमै हेल्थपोस्ट राख्नुपर्छ भनेर जिविस, एलडीओसँग छलफल गरी गाउँलेको हस्ताक्षरसहितको मागपत्र र निवेदन परेको धेरै भइसक्यो अहिलेसम्म केही गरिएको छैन । हेल्थपोस्टका लागि आवश्यक जग्गा निःशुल्क दिन्छौँ भन्दा पनि सुनुवाइ भएको छैन ।

अबको लक्ष्य

आमाको सुत्केरी हुँदा उपचार नपाएर निधन भएको थियो । यो घटनाले बारम्बार दुःखी हुन्छु । मेरो आमाजस्तो अकाल मत्यु अरूको नहोस् । त्यसका लागि जसरी भए पनि गाउँमा स्वास्थ्यचौकी नभए उपस्वास्थ्यचौकी स्थापना गर्ने । त्यहाँ काम गर्न त्यहींको बासिन्दालाई काठमाडौं ल्याएर पढाउने र त्यसका लागि सम्पूर्ण खर्च बेहोर्ने । त्यसका लागि आवश्यक काममा लागेकी छु । राजनीतिमा पनि रुचि छ । त्यो पनि गर्न सक्छु  ।

दुःखपछि सुख

जहाँ दुःख छ त्यहाँ सुख पनि हुन्छ । दुःखपछि नै सुख हुन्छ । सानैमा आमाको निधन भएपछि दुःख के हो ? संघर्ष के हो ? बुझेँ । हिजो गरेको दुःख र संघर्षले आज काम गर्न सहज र आत्मविश्वासी भएकी छु ।

कसैले गर्दैनन्

झट्ट हेर्दा म अलि जंगी स्वभावकी देखिन्छु । प्रेम प्रस्ताव प्रत्यक्ष रूपमा राख्ने हिम्मत कसैले गर्दैनन् । तर, जसले मलाई बिस्तारै बुझ्दै जान्छन्, उनीहरूले मन पराएको पाएकी छु । मन पराएको कुरा अरूमार्फत व्यक्त गर्छन् । त्यसमध्ये मैले पनि मन पराएकी कोही हुन सक्लान् । मेरो शेर्पाभन्दा अन्य जातिसँग बढी घुलमिल भएका कारण अन्तर्जातीय विवाह गर्छु कि !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार