सकियो उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ । तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आइतवार आठ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्नेक्रममा दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको हो ।

प्रदेश नम्बर १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, १११ नगरपालिका र २१५ उँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल आठ हजार ३६४ मतदानकेन्द्र कायम गरिएको छ ।

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न आवश्यक दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आइतवार बिहान आठ देखि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार