पुर्खालाई सराप्नु अर्थहीन

हरि रोका

१५९१ स्क्वायर किलोमिटर क्षेत्रफलभित्र खोटाङ जिल्ला रहेको छ । सन् २००१ को जनगणनाअनुसार ४२,८६६ घरधुरी र एउटा घरधुरीभित्र औसत ५ दशमलव ४ को परिवार संख्या बस्ने गरेको जनाइएको छ । मानव विकास प्रतिवेदन २००४ अनुसार खोटाङे जनताको औसत आयु ६१ दशमलव ३७ वर्ष रहेको छ । औसत साक्षरता ४४ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिव्यक्ति कुल ग्रार्हस्थ आम्दानी वार्षिक ९५४ युएस डलर रहेको छ । मानव सूचकांकका आधारमा नेपालका जिल्लाहरूमा खोटाङको अवस्था ४५औँ नम्बरमा पर्छ । पाँच वर्षमुनिका सयमा कुल ३६ बच्चा कुपोषणको सिकार हुने गरेका छन् । महिला साक्षरता २९ प्रतिशत र पुरुष साक्षरता ५८ दशमलव ७ रहेको छ भने असाक्षरको संख्या ५६ दशमलव ९ रहेको छ । खानेपानीको सुविधा नभएका ३० दशमलव ८७ घरधुरी रहेका छन् । खोटाङेहरूमध्ये ४२ दशमलव ८ प्रतिशत मानिस दरिद्रताको रेखामुनि रहेका छन् । उल्लिखित तथ्यांकलाई हेर्दा खोटाङ जिल्ला हालका ७५ जिल्लामध्ये मध्यमस्तरको जिल्लाका रूपमा रहेको तथ्यहरूले देखाएका छन् । तर, समग्र खोटाङेका लागि यो आँकलनले चित्त बुझाउने ठाउँ छैन ।

पिछडिनुका कारण

दक्षिण एसियाली मुलुकको दाँजोमा समग्र नेपाल नै पिछडिएको छ । त्यसैले हामी खोटाङे पिछडिनु अस्वनभाविक होइन । तैपनि हामीले असमान विकासका कारण खोज्नैपर्ने हुन्छ । कारण खोजियो भने मात्रै हामीले हाम्रा कमीकमजोरी पत्ता लगाउन सक्छौँ र पछिल्ला दिनमा तिनलाई सुधारेर नयाँ–नयाँ आविष्कार तथा खोज गरेर अगाडि बढ्न सक्छौँ । हामी धेरैलाई लाग्छ, खोटाङमा भरपर्दा र प्रभावशाली नेता जन्मिएनन् । जसको केन्द्रमा पकड भएको होस् । फलस्वरूप अन्य विकसित जिल्लाका तुलनामा खोटाङमा विकासका पूर्वाधार बिजुलीबत्ती, मोटरबाटो, विश्वविद्यालय, त्यसमा पनि खासगरी प्राविधिक शिक्षालयको ठूलो अभाव खड्किएको छ । अन्यत्र जिल्लामा दशकौँदेखि मोटर गुडिरहेको अवस्थामा खोटाङेको चाहिँ आधा जिन्दगानी भारी बोकेर हिँड्दैमा बित्छ । विद्यालयमा आवश्यक पर्ने विज्ञान र अंग्रेजी पढाउने शिक्षक बाहिरबाट ल्याउनुपर्छ । कृषि र अन्य तालिम प्राप्त गर्न बाहिर जिल्ला र काठमाडौं नै धाउनुपर्छ । आधारभूत विकासका लागि पूर्वाधार तयार नभईकन वा नगरीकन पर्यटन, उद्योगधन्दा र अन्य व्यवसाय खोल्न सम्भव हुँदैन । त्यस्तो नभएपछि हाम्रो जिल्लाको मात्र होइन समग्र देशको अर्थतन्त्रमा हाम्रो योगदान अत्यन्त कमजोर हुन पुग्छ । र, उद्योगधन्दा र व्यवसाय नभईकन पर्याप्त मात्रामा रोजगार उपलब्ध गराउन सकिन्न । भरपर्दो रोजगारको व्यवस्था नगरीकन उत्पादन र उपभोग स्वतः कमजोर हुन आउँछ ।

व्यक्तिलाई दोष दिनुको अर्थ छैन । यद्यपि, विगतमा कमजोरी भएकै हैन । स्वप्नशील नेताको अभाव खड्किएकै हो । सिँचाइको व्यवस्थापन गर्नुको साटो, चामलको बन्दोबस्त गर्नतर्फ लाग्नु, यातायातका लागि राजमार्ग बनाउनुको साटो घोडेटो, गोरेटोतिर लाग्नु ठूला कमजोरी थिए । जिल्लामा धेरै लामो समयसम्म आवधिक योजनाबद्ध विकासको खाका कोरिएन । दिगो र भरपर्दो विकासका लागि सपना देख्ने काम भएन । फलस्वरूप अन्यत्रका नेपालीझैँ हामी खोटाङे पनि सीप सिक्न र दक्ष–अदक्ष दुवैखालका काम खोज्न बाहिर जान बाध्य भयौँ । आज खोटाङको जनसंख्याको झन्डै आधा हिस्सा जिल्लाभन्दा बाहिर स्वदेश र विदेशतिर भौँतारिन बाध्य छन् । यो तितो यथार्थलाई हामी सबैले स्विकार्नै पर्छ । तर, पुर्खालाई सराप्नुको कुनै अर्थ छैन । अहिलेको नयाँपुस्ताले विगतका कमजोरीलाई अनुभव गरेर नयाँ दिशातर्फ अगाडि बढ्नुको अर्को विकल्प छैन ।

धेरै लामो समयपछि हामीकहाँ केही क्याम्पस खोलिएका छन् । उच्च माध्यमिक विद्यालय सञ्चालनमा आएका छन् । माध्यमिक विद्यालय प्रत्येकजसो गाउँ विकास समितिमा खोलिएका छन् । त्यसले शिक्षाको ज्योति फैलँदो छ । र, आममानिसमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना जागृत भएको छ । यो जागृतिले अधिकार र कर्तव्यको खोजी पनि सँगसँगै भइरहेको छ । राज्य के हो ? राज्यको नागरिक भएपछि प्राप्त हुनुपर्ने अधिकार के–कति तथा कर्तव्य पालन गर्नुपर्ने दायित्व कति भन्ने चेतना अभिवृद्धिले संघर्ष र एकताको माहोल निर्माण भएको छ, र यो हाम्रा हकमा ठूलो उपलब्धि हो । आवश्यकता आविष्कार कि जननी हो भनेझैं हाम्रो अधिकार अबका दिनमा कार्यान्वयन हुने संविधानमा सुनिश्चित गरिनेछ ।

राज्यको पुनःसंरचनाले हाम्रो साबिकको जिल्लाका अवस्था रहला वा नरहला ? अहिले यसै भन्न सक्ने अवस्था छैन । कुन राज्यमा कुन हैसियतले पर्ला र त्यसको शासकीय स्वरूप कस्तो होला भन्ने विषय पनि अहिले टुंगो लागेको छैन । छलफलमै छ । यद्यपि, हामी जहाँ, जसरी रहे पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपमा हामीले ठूलो उपलब्धि हासिल गर्नु जरुरी छ । र, त्यसका लागि अभ्यास आजैदेखि थाल्नु पनि जरुरी छ ।

विकास रणनीति

केही अन्तर्राष्ट्रिय दातृनिकाय अहिले हाम्रो जिल्लाको पूर्वाधार विकासका रेखा कोर्न सम्मिलित भएका छन् । र्यापको सहयोगमा दित्तेल हुँदै भोजपुर, संखुवासभा, धनकुटा भएर पूर्वका जिल्लामा जोडिइसकेको छ । त्यसैगरी, भारत र नेपालकै प्रयत्नमा दिक्तेल, हलेसी, घुर्मी हुँदै उदयपुरबाट पश्चिम जोडिएको छ । स्वीस नियोगले सगरमाथा राजमार्गको खोटाङ खण्डको ३५ किलोमिटर भू–भागमा सडक निर्माणको काम थालनी गरिसकेको छ । कतिपय ग्रामीण सडक फिदर रेडका रूपमा जोडिने कामको थालनी भइसकेको छ । कामका लागि खाद्यान्न र अन्य सहयोगमा ती काम सुरु भएका हुन् । यसरी हेर्दा आगामी पाँच वर्षभित्र सबै गाविस हालको सदरमुकाम दिक्तेलसँग र बाहिरी जिल्लासँग जोडिने प्रवल सम्भावना छ । तर, ती सबै सडक कच्ची रहिरहेमा हिउँदमा मात्र काम लाग्नेछन् । अर्को अप्ठ्यारो भनेको सुनकोसी र दूधकोसी नदीको पुल हो । यसपटक दुवै ठाउँमा (घुर्मी, जयरामघाट र फोक्सिङटारमा पुल निर्माणको काम थालनी हुने भएको छ । र, केही वर्षभित्रै यी पूर्वाधार निर्माण भइसक्ने अपेक्षा गरिएको छ । मध्य पहाडी राजमार्गको काममा सिन्धुली राजमार्गलाई उदयपुरको घुर्मी जोडन् मात्र ३७ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहेकोमा आगामी आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ । त्यो लक्ष्य पूरा भएमा काठमाडौं–दिक्तेल आवत–जावत मात्र ५, ६ घन्टाको दूरीमा सीमित रहनेछ ।

यातायात जोडिनु निश्चय पनि राम्रो कुरा हो । हिँडेर बिताइने समय जोगिनेछ र बचत भएको समयमा हामीले थुप्रै काम गर्न सक्नेछौं तथा आयआर्जनमा लगाउनेछौँ । तर, सस्तोमा किन्न पाइन्छ भनेर हामीले काम गरेनौं भने हामी सधैँका लागि अरूका कुल्ली हुने कुरामा दुईमत नराखे हुन्छ । विदेशमा गएर कमाएको सम्पत्तिको सदुपयोग सदरमुकाममा घर–घडेरी किन्ने र घर बनाउनेमा मात्र खर्च गरिरह्यौं भने हाम्रो छोराछोरीले पनि हाम्रै नियति भोग्नुपर्ने दिन आउँछन् । त्यस्तो हुन नदिन आजैदेखि उत्पादनमूलक काममा कमाएको सम्पत्ति लगानी गर्नु उपयुक्त हुन्छ । अन्यथा हाम्रो भएका पूर्वाधारलाई उपयोग गर्न सक्ने क्षमताबाट समेत पछि पर्नेछौँ । उदाहरणका रूपमा अस्पताल छ औषधि र डाक्टरको फिस तिर्ने पैसा हामीसँग भएन भने ? बिजुलीको पोल घरमाथिबाट गएको छ, तर चार्ज तिर्न नसकेर लाइन काटियो भने मोटर गुडिरहेका छन्, तर भाडा तिर्ने दाम खल्तीमा भएन भने त्यस्तो विकासको के अर्थ रहन्छ र ?

हाम्रो जिल्ला हावापानी, आपसिक सौहार्दता र सद्भावपूर्ण व्यवहारका लागि कहलिएको जिल्ला हो । काम गरेर खाने र अरूलाई नसताउनेमा पनि हाम्रो नाम राम्रो छ । तर, त्यतिले पुग्दैन भन्ने कुरा बिर्सन मिल्दैन । किनकि, सुविधा बढ्नासाथ खर्च बढ्छ भन्ने बुझ्न जरुरी छ र बढी नै आम्दानी गर्न जरुरी छ । रोजगारी खोज्न र रोजगारी दिलाउनका लागि उत्पादनमूलक काममा आजैदेखि जुट्यौ भने मात्र हामी सार्थक ठहरिनेछौँ । विकसित हुँदै गएको मानिनेछौँ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार