कामी बुढामगर ६४ वर्षपछि सहिद

झकेन्द्र घर्तीमगर

नेपाल सरकारले ९ जेठ २०७४ मा बसेको मन्त्रिरिषद् बैठकबाट कामी बुढामगरलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । सहिद घोषणाको समाचार आएपछि कामी बुढा को थिए ? कसरी सहिद भए ? किन ६४ वर्षपछि आएर सहिद घोषणा गरियो ? जस्ता प्रश्न र चर्चा एकैसाथ उठेको छ ।

को थिए कामी बुढा ?

रुकुम चौखावाङ–८ हालको नयाँ संघीय संरचनाअनुसार मुसीकोट नगरपालिका वडा नं १० मा पर्ने खर्सुपानी भन्ने ठाउँमा बुवा खिन्तु बुढा र आमा मंगलीको कोखबाट १९७८ सालमा सामान्य किसान परिवारमा कामी बुढा जन्मिएका थिए । उनले भारतीय सेनामा भर्ती भएर सैन्य शिक्षा फस्र्टक् लास पास गरेका थिए । भारतीय सेनामा भने उनको नाम कमानसिंह बुढा लेखाएका थिए । उनको सैनिक जीवन कलकत्तामा बितेको थियो । उनी भारतीय सेनामा कार्यरत हुँदाको समय दोस्रो विश्वयुद्ध, भारत–पाक विभाजन, बंगालको अनिकाल, विभाजनको त्रासदीजस्ता घटनाहरू भएका थिए । त्यसका प्रभाव उनमा परेको थियो । त्यसको अलवा आफ्नो गाउँका सामाजिक असमानता र विभेद उनले भोगेकै थिए । त्यसैले उनी सरल इमानदार र विद्रोही स्वभावका थिए ।

कसरी सहिद भए ?

उनी भारतीय सेनामा कार्यरत रहेकै बेला नेपालमा २००७ सालको क्रान्ति भयो । राष्ट्रवादी भावनाबाट ओतप्रोत कामी बुढाले त्यसैबेला भारतीय सेनाको जागिर छोडेर क्रान्तिमा भाग लिन नेपाल आएका थिए । नेपाल फर्किएपछि २००७ सालको आन्दोलनमा उनी भैरहवा क्षेत्रमा डा. केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी भए । दिल्ली सम्झौतापछि सशस्त्र विद्रोह रोकियो । उक्त सम्झौताको विरोधका अगुवा डा. सिंह पनि गिरफ्तारीमा परे । त्यसपछि कामी बुढा दिल्ली सम्झौता धोका हो भन्दै पश्चिम नेपालमा सशस्त्र संघर्षको थालनी गर्ने सोच बनाएर दैलेख चौराठा घर भई दाङ हुलाकका बहिदार भवानीप्रसाद शर्मा अधिकारीसँगै पाल्पातिर लागे र कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगे । त्यसबेला कम्युनिस्ट पार्टीको कर्णालीप्रदेश इन्चार्जमा शैलेन्द्रकुमार उपाध्याय थिए भने सेक्रेटरीमा पाल्पाका कमलराज रेग्मी । पार्टीमा प्रतिबन्ध लागिसकेकाले रेग्मीको निर्देशनमा कामी बुढा र भवानीप्रसाद शर्मालाई पार्टी भूमिगत राख्दै किसान संगठनको नाममा भूमिका निर्वाह गर्न पश्चिम कार्यक्षेत्र पठाइयो । त्यसक्रममा कामी बुढा किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्युठान (हालको रोल्पासमेत) सल्यान (आजको रुकुमसमेत) हुँदै दैलेख, जुम्ला र हुम्लाका गाउँगाउँमा पुगेका थिए । उनको ग्रामीण जनजीवन सुधारका लागि राजनीतिक अधिकार दिनुपर्छ र ग्रामीण समुदायलाई राजनीतिको अग्रभागमा ल्याउनुपर्छ भन्ने स्पष्ट मान्यता थियो ।

किसान आन्दोलनको प्रभाव फैलँदै गएपछि २००९ कात्तिकमा हुम्लामा उनी र उनको फौजलाई स्थानीय मुखिया ठालुहरूको अगुवाइमा गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभानमा पुर्याइएका थिए । उनीसँगै जुम्ला–चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजन भनेर छाडे पनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए । कम्युनिस्ट देशद्रोही भनेर जेलमा कठोर यातनाका दिएर राखिएको थियो । त्यसैक्रममा तत्कालीन सरकारले अमानवीय तथा चरम यातना दिएर २०१० सालको दसँैको फूलपातीका दिन कामी बुढाको हत्या भयो भने भवानीप्रसादलाई जुम्लाडाँडा कटाइयो । गिरफ्तार भएपछि उनले आत्मसमर्पण नगरी सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर जिम्मा लिएका थिए । यसरी उनी नेपालको किसान आन्दोलनले जन्माएको एक अगुवा सहिद बने ।

सहिद घोषणा ६४ वर्षपछि ?

२०१० सालमा जुम्लाको चौभानमा हत्या गरिएका कामी बुढालाई सहिद घोषणा गर्न ६४ वर्ष कुर्नुपर्यो। पञ्चायती व्यवस्थाले त उनलाई सहिद घोषणा गर्ने कुरै भएन । तर, २०४६ सालको लोकतान्त्रिक परिवर्तनपछि बनेका विभिन्न सरकारहरूले पनि उनको त्याग बलिदनाको कदर गर्न सकेका थिएनन् । यद्यपि, उनलाई सहिद घोषणा गर्न लामो समयदेखि माग हुँदै आएको थियो । खासगरी २०५२ सालमा सुरु भएको माओवादी विद्रोहको थालनीसँगै उनलाई माओवादीहरूले प्रेरणा–स्रोत मानेका थिए । त्यो नै राजनीतिक रूपमा उनको योगदानलाई स्वीकार गरिएको पहिलो घटना थियो । सामाजिक रूपमा भने मगर समाजका अगुवाहरूबीच उनको सन्दर्भवश चर्चा हुने गथ्र्याे । नेपाल मगर संघ जिल्ला समिति रुकुमको संयोजनमा रुकुम खलंगाको शीतलपोखरीमा २०६५ सालमा कामी बुढाको सालिक निर्माण गरिएको छ । जसको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०६८ मंसिर २० गते अनावरण गरेका थिए । त्यससँगै रुकुमका अगुवाले ‘कामी बुढा अध्ययन समाज’ स्थापना गरेर स्मृति दिवस पनि मनाउँदै आएका छन् । अन्ततः प्रचण्ड नेतृत्वको सरकारले नै कामी बुढालाई सहिद घोषणा गरेर सम्मान दिएको छ । सहिद घोषणासँगै राज्यले थप उनकोबारेमा खोज अनुसन्धान गरी ठोस कदम चाल्न सक्यो भने मात्र उनको योगदानको उचित कदर हुनेछ । बिर्सिइएका सहिद कामी बुढामगरप्रति हार्दिक श्रद्धासुमन ।

कानुङ लाङ्घाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार