‘नेपाल संसारकै अध्ययन केन्द्र बन्न सक्छ’

दीपेन्द्र राई

‘दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा प्रवीणता प्रमाणपत्र तह पढ्दै थिएँ,’ संगीतकार शान्तिराम राईले अतीत सम्झे, ‘क्याम्पसले सांस्कृतिक कार्यक्रम गरेको थियो । म तेस्रो भएँ । यो संवत् २०४४ सालको कुरा हो ।’

त्यसको वर्ष दिनपछि संगीतकार राई काठमाडौं पसे । त्यसताका रेडियो नेपालमा चौतारी, रोदीजस्ता सांगीतिक कार्यक्रम लोकप्रिय थियो । उनलाई उल्लिखित कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने कम्ती रहर थिएन ।

काठमाडौं टेकेपछि रेडियो नेपाल पुग्न हतारिए । काठमाडौं टेकेको तीन महिनापछि सोध्दै, खोज्दै उनी रेडियो नेपाल पुगे । उनले रेडियो नेपालका कसैलाई चिनेका थिएनन् । तैपनि चौतारी कार्यक्रममा गाउने इच्छा व्यक्त गरे । प्रत्यक्ष गाउनुपर्ने सो कार्यक्रममा गीत गाउन तीन महिना पर्खनुपर्यो ।

एकपटक गीत गाउन काठमाडौं पसेका उनले गाएको आफूले गाएको गीत प्रसारणपछि गायक बन्ने सपना देख्न थाले । आफूले गाएको गीत आफैंले सुनेपछि उनी गीत–संगीतमै भविष्य खोज्न लोभिए ।

शम्भु राई, बुलु मुकारुङ, पाण्डव सुनुवारलगायतसँग रेडियो नेपालमै भेटघाट हुन थालेपछि एउटा गीत गाएर गाउँ फर्कने सोचेका उनी काठमाडौंमै अलमलिए । उनले त्यतिबेलाको दुःख सुनाए, ‘काठमाडौं बस्न सजिलो थिएन । बेरोजगारी भएकाले बिहान, बेलुका खानलाई समेत समस्या थियो ।’

मामा सर्वधन राईले उनलाई चार महिना पाले । मामाले उनलाई साइकलमात्रै किनिदिएनन् साइकल व्याईमा काम लगाइदिए । उनले बिहान–बिहान हेराल्ड ट्रिव्युन, टाइम्स अफ इन्डियालगायतका पत्रपत्रिका काठमाडौंमा रहेका सबैजसो राजदूतावासमा पुर्याउँथे । दिउँसो रेडियो नेपालतिर अलमलिन्थे ।

जागिर पाएपछि मामासँग छुट्टिएका उनलाई मामाले एक बोर्डिङ स्कुलमा काम खोजिदिए । तीन वर्षसम्म अध्यापन गरेका उनको मासिक तलब ६ सय थियो । ‘त्यति तलबले बाँच्न गाह्रो थियो,’ उनले दुःखेसो पोखे, ‘तीन सय कोठाभाडा थियो । सय रुपैयाँ गाडीभाडा छुट्याउँथेें । बाँकी रहेको दुई सयले दाल, चामल, तरकारी जुटाउनु त्यति सहज थिएन ।’

दुःखको पापड बेल्दै दिनप्रतिदिन फुल्दै गएको गीत–संगीतको सपना ओइलाउन दिएनन् । स्कुल बिदा हुनसाथ रेडियो नेपाल हान्निन्थे । अध्यापन थालेपछि रेडियो नेपाल धाउन पातलियो । उनले ०४६ मा लोकगीत गाउन स्वर परीक्षा पास गरे । स्वर परीक्षा पास गरेपछि ‘फूल फुल्यो गाउँबेंसी छैन बासना, नबोले पनि हजुर हाँसिराखन’ शीर्षाकृत लोकगीत रेकर्ड गराए । लगत्तै आधुनिक गीतका लागि स्वर परीक्षामा सहभागी भए । उनको स्वाकोरोक्ति थियो, ‘तीन÷चारपटक प्रयास गर्दासमेत स्वर परीक्षा पास गर्न सकिनँ । शम्भु राईले स्वर परीक्षा पास गराउन मद्दत गर्नुभयो । उहाँले नै मलाई संगीत सिकाउनुभयो ।’

कवि श्रवण मुकारुङसँग ०४६ साल पुछारतिर उनको भेट भयो । राष्ट्रिय नाचघर महाप्रबन्धक गणेश रसिक भएकाले हाम्रो भेटघाट गर्ने उपयुक्त थलो त्यहीं बन्यो । शम्भु राईसमेत त्यहीं कार्यरत थिए । संगीतकार शान्तिराम राईले नढाँटी भने, ‘मुकारुङले तपाईंको स्वर मन परेन, नगाउँदा उचित हुन्छ भने । बरु संगीतकार बन्ने प्रयास गर्नू भन्दै गीत दिए ।’

 

 

आज्ञा शिरोपर गर्दै उनी संगीतकार बन्ने ध्याउन्नमा लागे । उनले गीतकारसमेत रहेका मुकारुङका गीत ‘बाटो हेरे हुन्छ आमा म त आउँदै छु’, ‘तिमी तारेभीर, म त लहरा’ शीर्षाकृत गीतमा संगीत भरे । गायक शम्भु राईले दिएको थोत्रो हार्मोनियममा लय निकाल्दै गए । श्रवणले गीत पूरा गर्दै गए । अम्बर गुरुङ र गोपाल योन्जनको संगीतभन्दा कम नभएको श्रवणले भनेपछि शान्तिराम झन् उत्साहित भए । गायिका पवित्र सुब्बानिवास पुगेर सुनाउँदा उनले मन गीत मन पराइन् । गीत रेकर्ड भयो । त्यही गीत गाएपछि गायिका सुब्बामात्रै होइन, गीतकार श्रवण मुकारुङ र शान्तिराम राई पनि चर्चामा आए । ‘तिमी तारेभीर’ रेडियो नेपालबाट दैनिकजसो तीन–चारपटक ‘फर्माइस’ हुन्थ्यो ।

त्यतिबेला रेडियो नेपालमा वर्षमा एकपटकमात्रै गीत गाउन पाइन्थ्यो । संगीतकार राईले गायिका बिमला राईसँग ‘कसम नखाऊ टाढा हुने, आवेशमा सधैं तिमी’ शीर्षाकृत गीत गाए । गीत ‘हिट’ भयो । त्यसपछि ‘धोका दियौ तिमीले’ लगायत थुप्रै गीतमा संगीत भरे । अन्ततः संगीतकार भनेर उनको परिचय बन्यो ।

काठमाडौंको भृकुटीमन्डपमा रहेको आरआर क्याम्पसमा संगीत विषय पढ्न थालेपछि उनले शास्त्रीय संगीत बुझ्न थाले । बुझ्दै गएपछि संगीतमा प्रयोगात्मक अभ्यास थाले । संगीत भर्दै लोकगीत गाउन नछाडेका उनको ‘मायाजाल’, ‘सोमबारे हाटैमा’, ‘मुसुक्कै हाँसेर’ गीतिएल्बम सार्वजनिक छ ।

चलचित्र ‘मनै त हो’ ०५६ मा संगीत भरेपछि उनी व्यावसायिक बन्दै गए । ‘तिमीलाई हङकङ पुर्यायो, आईडी कार्डैले’ शीर्षाकृत गीतले संगीतकार शान्तिराम राईलाई मात्रै होइन, गायिका सत्यकला राईलाई ‘सुपरहिट’ बनायो । त्यो गीत उनको व्यावसायिक शैलीको ‘मोडल कम्पोज’ थियो । त्यसअघि त्यस्तो प्रयोग गरिँदैनथ्यो ।

यसैगरी, ०६० मा उनी आफैंले गाएको सोलो गीतिएल्बम ‘आयाम’ सार्वजनिक भयो । आयाममा समेटिएका गीत गाउन उनी हङकङ, कतार र दुबईसम्म पुगे ।

०६२–६३ को जनआन्दोलनमा उनको पनि संलग्नता रह्यो । त्यही संलग्ताले उनलाई जरा खोजी गर्न सिकायो । संगीतमा जराको खोजीले प्राथमिकता पायो । त्यसैको फल हो– ‘हामी आदिवासी, हामी जनजाति’ शीर्षाकृत गीत । सोही गीत आदिवासी गीत बनेको छ । त्यतिमात्रै होइन, उनले ‘बनाऊँ संविधान संविधान’ भन्ने म्युजिक भिडियोसमेत बनाए ।

जेठो दाइले विदेशबाट ल्याएको रेडियो सुनेर संगीतप्रति आकर्षित उनले संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य, संगीत रोयल्टी संकलन समाज महासचिवको भूमिका निर्वाह गरिसकेका छन् ।

युवापुस्ताका चर्चित संगीतकार राई स्रष्टालाई गहनाका रूपमा मात्रै लिएकोमा दुःखी छन् । गहनाका रूपमा मात्रै लिएर उनीहरूको आर्थिक सुरक्षित छैनन् । तसर्थ, स्रष्टालाई राज्यको पाँचौं अंगका रूपमा लिनुपर्ने उनको माग छ । सो माग ०६० देखि उठाउँदै आएका उनले कलाकार भनेको राष्ट्रको सद्भावनादूत भएको दाबी गरे । सम्बन्धित कलाकारले जहाँ–जहाँ पुग्छन्, त्यहाँ आफ्नो देश र संस्कृतिको प्रतिनिधित्व गरिरहेका हुन्छन् ।

उनको मान्यता छ, ‘नेपाल टेलिकम, एनसेल, रेडियो, टेलिभिजन, होटल, एयरलाइन्स, इन्टरनेट, साइबर, अनलाइनले संगीत प्रयोग गरिरहेका हुन्छन् । प्रयोगकर्ताबाट सालिन्दा कम्तीमा १२ करोड रुपैयाँ उठाउन सकिन्छ ।’ प्रवासमा रहनेले प्रयोग गरेको संगीतको हिसाब–किताब गरेकै छैन ।

पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिमा संगीतकार राईद्वारा लिखित ‘मेरो संगीत’ नामक किताब कक्षा एकदेखि आठसम्म दुई वर्षदेखि पठनपाठन हुँदै आएको छ । उनीद्वारा लिखित ‘संगीत वाद्यवादन’ नामक किताब नौ र १० का लागि ऐच्छिक विषयका रूपमा पठनपाठन हुँदै आएको छ ।
एक हजार पाँच सय गीतमा संगीत भरिसकेका उनको २४ गीतिएल्बम सार्वजनिक भइसकेको छ । उनले संगीत भरेका गीत नेपालकै चर्चित गायक–गायिकाले गाएका छन् ।

सुगम भनिएको नेपाली संगीत भारतीय संगीतबाट प्रभावित/निर्देशित छन् । नेपाली लोकसंगीत ओझेलमा परेको छ । शास्त्रीय संगीतलाई

नेपाली संगीत भनेर प्रचार–प्रसार नगरिएको उनको बुझाइ छ । शास्त्रीय संगीत, संगीतको जननी हो । राई समुदायको साकेला, लिम्बूको पालाम आफैंमा शास्त्रीय संगीत हुन् । ‘साकेला र पालामलाई राष्ट्रको मूलधारमा ल्याउने कोसिस गरेनौं,’ उनको तर्क छ, ‘खालि राग बिलाबल, आशाबरी, भैरवी, खमासतिर मात्र लाग्यौं ।’

तामाङ, किरात, गुरुङ र मगर संगीत पनि शास्त्रीय संगीत हुन् । यसको विकास गर्नुपर्छ । लोक आफैंमा लोक भए पनि यो आफैंमा नियमबद्ध संगीत हो । यो जुनसुकै समयमा गाइँदैन । साकेला साउन–भदौमा गाइँदैन । वैशाखे र मंसिरे पूर्णिमा मात्रै गाइन्छ । वसन्त राग वसन्त ऋतु र मेगमल्हार राग पानी परेको बेलामात्रै गाइन्छ । उँभौली र उँधौलीमा गाइने संगीत पनि त शास्त्रीय संगीत हो । त्यसलाई शास्त्रीयकरण गरेर सांस्कृतिक सम्पत्ति बनाउँदै संरक्षण गर्न ढिला गर्न हुँदैन । यही कुरा मैले संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा उठाउँदै आएको छु,’ उनको गुनासो छ, ‘तर, राज्यले यो आदिवासी जनजातिको संगीत हो भनेर हेलाँ गरेको छ ।’

संगीतमा टिक्न अनि बिक्न दृढइच्छाशक्ति चाहिन्छ । उनले उपचार गर्दागर्दै डाक्टर, पुल डिजाइन गर्दागर्दै स्टुडियोमा गीत गाउन पुगेका इन्जिनियरलाई भेटेका छन् । केही समयका लागि बन्दुक बिसाएर गीतिएल्बम निकाल्न तम्सेका लाहुरे र हार्मोनियम समाएर संगीत भर्दै गरेको सुरक्षाकर्मीसमेत देखेका छन् । एक किसान खेतबारी जोत्दाजोत्दै स्टुडियो खोज्दै हिँडेको पनि देखेकै हुन् । संगीत सम्मोहनले प्रत्येक मानिसलाई तरंगित बनाएको हुन्छ । त्यसमा पनि सत्ता छ । संगीतमा भएको शक्ति नै सत्ता हो ।

त्यसैले विभिन्न पेसा, व्यवसाय र क्षेत्रका मान्छे संगीतमार्फत नाम चलाउन चाहन्छ । टिकिरहनचाहिँ सक्दैनन् । टिक्नका लागि त्याग, तपस्या, साधना, समय र पैसा पनि चाहिँदोरहेछ । ‘नेपाली संगीत पुँजीकृत बन्दै गइरहेको छ,’ उनले प्रस्ट्याए, ‘जोसँग पुँजी छ, उसले सांगीतिक सत्तामा पुग्न सक्छ । नहुनेले धेरै मिहिनेत गर्नुपर्छ । कतिपय सत्तामा पुग्दै नपुगी हराउँछन् । राजनीतिक सत्ता प्राप्त गर्नुभन्दा कैयौं गुना संघर्ष गर्नुपर्छ । नारायण गोपाल त्यत्तिकै नारायण गोपाल भएका होइन् । भौतिक शरीर नभए पनि उनले नेपाली सांगीतिक सत्तामा हिजोआज पनि शासन गरिरहेकै छन् । भनेपछि नारायण गोपाल शक्ति र सत्ता हुन् ।

 

नेपाली कलाकारमा व्यावसायिकता हाबी भएकोमा उनी चिन्तित छन् । चेतनाभन्दा व्यावसायिकता हाबी हुनु सकारात्मक हुँदै होइन । व्यावसायिकता हुनुपर्छ तर चेतनास्तर पनि उकासिनुपर्छ । ‘मैले हामी आदिवासी भन्ने गीत बनाएँ । त्यो गीत बनाएपछि मैले आदिवासीको ट्याग भिर्नुपरको छ । मलाई तथाकथित मूलधारका संस्कृतिकर्मीबीचमा चोरऔंलाले संकेत गर्दै ‘यो आदिवासी हो’ भनिमाग्नुपरेको छ,’ उनले गर्व गरे, ‘तर पनि म आदिवासीका लागि फेरि पनि संगीत भर्छु । म त्यसैमा गौरवान्वित छु । हो, म सबैभन्दा पहिले किरात राई हुँ । त्यसपछि आदिवासी/जनजाति हुँ । म आदिवासी, किरात राई हुनुमा गर्व गर्छु । मेरो संस्कृति, संगीत र संस्कार छ । म सबै–सबै कुराले सम्पन्न छु । फरक यति हो राज्यबाट विभेदमा पारिएको छु ।’

‘पहिचानका लागि संगीत भर्ने बब मार्ली बन्न तयार गायक–गायिका देखिएका छैनन्,’ संगीतकार शान्तिराम राईले दाबी गरे, ‘बरु माइकल ज्याक्सन बन्छु भन्नेहरू जन्मे । टोपी लगाएर नाच्नेले माइकल ज्याक्सन बन्छु भन्नु साटो बब मार्ली बन्ने प्रयाससम्म गर्छु भनेको भए कति जाती हुन्थ्यो ।’

संस्कार, संस्कृति, वाद्ययन्त्रमा नेपाल संसारकै धनी मुलुक मानिन्छ । यसको ‘मार्केटिङ’ गरेर अर्थोपाजर्नन गर्नुपर्ने उनले सुझाए । नेपालमा सय बढी जाति छन् । सबै जातिलाई चिनाउने आ–आफ्नो संस्कार, संस्कृति र संगीत पनि छ । टुङ्ना बजाउनेलाई कसैले थारू भन्दैन, ऊ शेर्पा नै भन्ने प्रस्ट हुन्छ । डम्फु बजाउने तामाङ, धिमेबाजा बजाउने नेवार, नौमती बजाउने दमाई र खैंजडी बजाउने बाहुन नै हुन् । हाम्रो पहिचान संस्कृति र संगीतको हिसाबले प्रस्ट छ । उनले भने, ‘नेपाल संगीतका लागि संसारकै अध्ययन केन्द्र बन्न सक्छ । संसारभरिका विद्यार्थी कम्तीमा ६ महिनाका लागि पढ्न नेपाल आएमा मुलुकको अर्थतन्त्र बलशाली बन्ने थियो ।’ सँगसँगै नेपालका संस्कार, संस्कृति अध्ययन गराउन सके थप आर्थिक उपार्जन गर्न सकिन्छ ।

‘नेपालमा आदिवासी संगीतको अन्तर्राष्ट्रियस्तरको ‘सिम्फोनिया अर्केस्ट्रा’ बनाउने योजना छ । नेपालका आदिवासीको संस्कार, सस्कृति, संगीत र बाजालाई अर्केस्ट्रामा परिणत गरी संसारभरि फैलाउनु छ,’ कुराकानीको पुछारमा संगीतकार राईले भावी योजना सुनाए, ‘नेपालका १२३ जातिको बाजालाई अर्केस्ट्रामा रूपान्तरण गरेर संसारमा फैलाउने सोचेको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार