लाख रुपैयाँ तिरेर मासिक ६०० रियाल कमाउन लालायित आफूप्रेमी

राजेश चाम्लिङ

मानिस ‘आफू प्रेमी’ प्राणी हो । अर्थात् प्रत्येक मानिस सबैभन्दा धेरै आफूलाई माया गर्छ । त्यसपछि आफ्नो परिवार, आफ्नो दाजुभाइ वा आफ्नो परिवार हुँदै यो आफ्नोको परिधि ठूलो हुँदै जान्छ । नेपालको भूगोललाई वर्गीकृत गरिएको राजनीतिक सन्दर्भमा यो आफू, आफ्नो परिवार, आफ्नो गाउँ, आफ्नो गाविस र आफ्नो जिल्ला अनि आफ्नो अञ्चल हुँदै देशको तहमा पुग्छ । यद्यपि, यसलाई ग्रहण गर्ने तरिका व्यक्तिपिच्छे फरक–फरक हुन्छ नै । यस अर्थमा आफू जन्मेको स्थान र कमसेकम आफ्नो जिल्लाको माया प्रत्येक नेपालीलाई हुन्छ । यस अर्थमा आफ्नो दक्षता र क्षमताले भ्याएसम्म आफ्नो जिल्लाको विकास र प्रगतिमा सबैले योगदान दिनुपर्ने हो । तर, खोटाङ जिल्लाको सन्दर्भमा त्यो अलि फरक छ ।

देशका ७५ जिल्लामध्ये खोटाङ सायद एकमात्र त्यस्तो जिल्ला हो, जहाँ जन्मिएका मानिस एकैपटक नौवटा मन्त्रालयको सचिव भएका थिए । जानकारहरूका अनुसार ०५५ देखि २०५६ को अवधिमा खोटाङको मात्र नौजना एकैपटक सचिव भएका थिए । जसमध्ये खार्पा गाविसको मात्र ६ जना थिए । किम्बदन्तीजस्तो लाग्ने यो तथ्य कतिको सत्य हो पुष्टि भएको छैन । तर, खोटाङका ७६ गाविसमध्ये आफ्नो छुट्टै इतिहास बोकेको खार्पाका अधिकांश मानिस देशको उच्च तहमा पुगेको भने यथार्थ हो ।

माओवादी केन्द्र स्थायी समिति सदस्य गोपाल किरातीसँग माओवादी शान्तिप्रक्रियामा आएको भर्खर भर्खरैको बेला भेट हुँदा भन्नुभएको कुरा साह्रै घतलाग्दो लाग्छ । उहाँले भन्नुभएको थियो, ‘हामी सधैँ विकास खोज्दै हिँड्यौँ । तर, आफ्नो ठाउँमा विकास ल्याउने तरिकाबारे कहिल्यै सोचेनौँ । अरूले सधैं आफ्नो स्थानलाई विकसित गरे र अन्य समुदायलाई आफ्नो स्थानतिर आकर्षित गरे । त्यसैले उनीहरू अगाडि बढे ।’ सधैं सम्झिरहने यो वाक्यले एउटा तीतो यथार्थ त ओकल्छ नै साथै व्यक्तिगत रूपमा उपलब्धि हासिल गरेपछि विकास खोज्दै आफ्नो जन्मस्थानलाई चटक्कै छाडेर तराईका विभिन्न सहर तथा काठमाडौं छिर्ने खोटाङेहरूको मनोविज्ञानलाई पनि राम्ररी प्रहार गर्छ ।

हामी सधैँ विकास खोज्दै हिँड्यौँ । तर, आफ्नो ठाउँमा विकास ल्याउने तरिकाबारे कहिल्यै सोचेनौँ

तथ्यांकहरूले देखाएका छन् कि व्यक्तिगत रूपमा देशको उच्च ओहदामा पुग्ने खोटाङेहरू निक्कै छन् । पञ्चायतकालमा मन्त्री हुनुभएको वीरेन्द्रकेशरी पोखरेल तथा डिल्लीसेर राईदेखि पछिल्लोपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री, शिक्षामन्त्रीसमेत हुनुभएको गिरिराजमणि पोखरेलसम्मको गणना गर्दा राजनीतिक रूपमा पनि खोटाङेहरूको पहुँच निक्कै माथि देखिन्छ । सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक सनतकुमार बस्नेत, निर्वाचन आयोगका भूपू प्रमुख आयुक्त भोजराज पोखरेलदेखि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीश केदारनाथ उपाध्ययाको पनि पुख्र्यौली घर खोटाङ नै हो । उनीहरू सबैले खोटाङकै झोर जंगलसँग पौँठेजोरी खेल्दै आफ्नो बाल्यकाल बिताएका थिए । त्यसो त चर्चित पत्रकार बबिता बस्नेतदेखि महेन्द्र विष्टसम्म, चर्चित कलाकार दीपाश्री निरौलादेखि राजेशपायल राई पनि खोटाङकै हुन् ।

एउटा तथ्यांकअनुसार खोटाङको खार्पा गाविस जन्मस्थान भएकाहरू मात्र करिब दुई दर्जनको संख्यामा डाक्टर तथा इन्जिनियर छन् । सारा खोटाङभरिको संख्या संकलन गर्ने हो भने सयौँ हुन सक्छन् । सरकारको निजामती कर्मचारीमा अहिले पनि पाँचजना उपसचिव र दुईजना सचिव खोटाङको खार्पा गाविसकै रहेका छन् भने अधिकृतस्तरका कर्मचारीहरू त सायद औँलामा गन्न सकिँदैन । निश्चय पनि सरकारको उच्च तहमा पुगेपछि नीति निर्माण तथा विकास योजनाको निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । जतिसुकै राजनीतिक हस्तक्षेपको रहेको बताइए पनि स्थायी सरकार मानिने कर्मचारीहरूले चाहेमा आफ्नो क्षेत्रका लागि केही न केही योजना पार्न सक्छन् । तर, खोटाङको हकमा त्यो कत्तिको लागू भएको छ ? सोच्नैपर्ने स्थिति छ । थुप्रैपटक मन्त्री हुनुभएको गिरिराजमणि पोखरेलको पालामा खार्पा गाविस तथा जिल्लाका स्वास्थ्य चौकीहरूमा केही विकास निर्माण तथा सुधारका काम भए पनि अन्यले के गरिरहेका छन्, खोज्नुपर्ने स्थिति छ ।

बुइपा–२ लेक्पाका तिनजित राई (जो नाताले मेरो माउलोको छेप्पा कोक्पा पर्नुहुन्छ) ले भन्नुहुन्थ्यो, ‘आफूलाई भोट दिएर जिताएमा खोटाङमा सडक पुर्याइदिने सडकमार्ग पुर्याउने बताएपछि सबै खोटाङे मिलेर वीरेन्द्रकेशरी पोखरेललाई जिताइएको थियो ।’ तर, उनको कार्यकालसम्म त के आजको मितिसम्म पनि खोटाङलाई सडकमार्गले राम्ररी छुन सकेको छैन । आफ्नो वचन पूरा नगर्ने पोखरेललाई फर्केर जाँदा बुइपामा सबै मिलेर लखेटेका थिए रे ! घोडा चढेर बुइपाको पन्चरदोबाटोमा भाषण गर्न पुगेका पोखरेलको घोडाको जुल्फी समात्ने तिनजित राई नै हुनुहुन्थ्यो रे !

बरु उनीहरू लाख रुपैयाँ तिरेर मासिक ६०० रियालका लागि अरबको खाडीमा खुन पसिना बगाउन उद्यत हुन्छन् तर सानो जागिर भन्दै सरकारी रोजगारका लागि प्रतिस्पर्धा गर्न तयार हुँदैनन् ।

कुनै पनि स्थानको विकास निर्माणमा आफूलाई समाहित गर्नका लागि त्यस ठाउँसँग जोडिएको आफ्नो पुख्र्यौली सम्बन्धले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विकास गरिने स्थानसँग जति धेरै आफ्नो भावनात्मक, पुख्र्यौली तथा रगतको नाता हुन्छ, त्यति धेरै त्यो व्यक्ति उक्त स्थानको विकासका लागि जागरुक हुन्छ । अर्थात् आफू जन्मेको स्थानलाई विकास निर्माणको दिशामा अगाडि लैजानका लागि उक्त स्थानसँग मानिसको माटो र रगतको सम्बन्ध रहन जरुरी छ । जतिसुकै क्षमतावान् र दिलोज्यान दिने व्यक्ति भए पनि केही वर्षका लागि कुनै निश्चित स्थानमा बस्न पुगेका मानिसले सो स्थानका लागि जति योगदान गर्न सक्छन्, त्योभन्दा बढी दक्षता नभएका रैथाने मानिसले गर्न सक्छ ।

यसको अर्थ खोटाङमा अतिथि हुन आइपुगेकाहरू मात्र उच्च स्थानमा पुगेकाले विकास नभएको हो भन्ने होइन । त्यहाँका प्रत्येक मानिसको कमसेकम पनि दुई–चार सय वर्षको इतिहास छ । तर, एउटा तथ्य केचाहिँ स्पष्ट छ भने खोटाङका खास रैथाने आदिवासी राज्यको नीति निर्माणको उच्च तहमा पुग्न सकेनन् । त्यो एउटा विडम्बना हो । आज पनि बरु उनीहरू लाख रुपैयाँ तिरेर मासिक ६०० रियालका लागि अरबको खाडीमा खुन पसिना बगाउन उद्यत हुन्छन् तर सानो जागिर भन्दै सरकारी रोजगारका लागि प्रतिस्पर्धा गर्न तयार हुँदैनन् । यसमा उनीहरू आफ्नै र विभेदकारी राज्यको नीतिको भूमिका कति–कति छ भन्ने मापन गर्न भने अनुसन्धानकै खाँचो छ ।

सबै तथ्यहरूको जोड घटाउको उत्तर हो, खोटाङेले गरेको प्रगति मात्र व्यक्तिगत जीवनका लागि भएको छ । त्यो सामूहिक हुन सकेको छैन । समाजको विशिष्ट स्थानमा पुगेका एउटा व्यक्तिको उपलब्धिलाई सामूहिकीकरण गर्न सके उक्त व्यक्ति जन्मिएको स्थानलाई चाँडो प्रगतिमा लान सकिन्छ । तर, विडम्बना देशमा उच्च तहमा आसिन भएपछि प्रत्येक खोटाङेले आफ्नो जन्मस्थान छाड्दै जाने गरेका छन् । यस्तो स्थितिमा पनि खोटाङकै ढुंगा–माटोसँग पौँठेजोरी खेल्दै, कहिले साकेलाको तालमा आफ्नो पहिचाहन खोज्दै त कहिले गाईघाट—कटारीबाट नुनको भारी खेप्दै बाँचिरहेको खोटाङेहरूले अब पनि ती सबैलाई ‘….त हाम्रो खोटाङकै हो नि’ भनेर गर्व गरिरहन जरुरी छ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार