ज्येष्ठ नागरिकका खानपान : तारेकोभन्दा थोरै तेलमा भुटेका खाद्य वस्तु उपयुक्त

 

डा. प्रकाश बुढाथोकी

विश्वमा हाल प्रत्येक १० व्यक्तिमा एक ६० वर्ष र सोभन्दा माथिको उमेरका छन् । सन् २०५० मा दुई अर्ब वा प्रत्येक पाँच व्यक्तिमा एक वृद्ध हुनेछन् । त्यसबेला वृद्धको जनसंख्याले १४ वर्षसम्मका बालबालिकाको जनसंख्यालाई पनि उछिन्नेछ र १५ देखि ५९ वर्षका समूह बराबर हुनेछ । नेपालमा अहिले कुल जनसंख्याको ७ प्रतिशत वृद्धवृद्धा रहेको अनुमान छ । नेपालमा ज्येष्ठ नागरिकका लागि ६५ वर्ष पुगेपछि मात्र मासिक भत्ता उपलब्ध गराइएको छ । नागरिक प्रयासमा सञ्चालित वृद्धाश्रमलाई अनुदान प्रदान गरिएको छ । हवाई यातायातमा शुल्क छुट व्यवस्था छ । अब ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिंदै छ । नमूनाका रूपमा पाटन अस्पतालमा वार्डको व्यवस्था गरिएको छ । देशैभरिका अस्पतालमा शय्या छुट्याउने कार्य दु्रततर गतिमा अघि बढेको छ ।

परिवार गाउँको होस् वा सहरको, सभ्य होस् वा असभ्य, आर्थिक रूपले सम्पन्न होस् वा विपन्न, सबैमा पुस्ता अन्तर छ । त्यो अन्तरसँगै परिवर्तन हुने सांस्कृतिक सोचका कारण पारिवारिक जीवनमा अप्ठ्यारा पर्छन् तर ती अप्ठ्यारा परिवारभित्रै व्यवस्थापन नभए बूढाबूढीको जीवन असुरक्षित बन्छ । बूढाबूढीको भावना र चाहनालाई युवापुस्ताले नबुझ्नु अन्याय र अपमान गर्नु पनि हो ।

शरीरमा बल रहुन्जेल परिवार, समाज र राष्ट्रका लागि पसिना बगाउने र सन्तानप्रति त्याग र संघर्ष गर्ने वृद्ध जीवनको उत्तराद्र्धमा एकधरो कपडा र एकछाक खानका लागि तिनै सन्तानबाट अपहेलित छन् । विपन्नताले ९० प्रतिशतजतिको जीवनयापनको विकल्प रहँदैन, जसले गर्दा वृद्धवृद्धाको जीवन दयनीय, कारुणिक त छँदै छ त्यसैमा सन्तान, परिवार, समाज र राष्ट्रले समेत उचित कदर र सम्मान गर्न सकेको छैन ।

स्वास्थ्यसम्बन्धी दुव्र्यवहारमा नपच्ने, नरुच्ने र रोगका कारण खान नमिल्ने खाद्यपदार्थ खान दिने, दाँत नभएकालाई कडा र चपाउनुपर्ने खाना दिने, औषधि खान नदिने वा नसम्झाइदिने, समयमै किनेर नल्याइदिने, चिकित्सककहाँ नलगिदिने, बढी वा कम औषधि खुवाउने, अयोग्य स्वास्थ्यकर्मीलाई जँचाइदिने, दोहोरो बिल बनाई खर्च बढाइदिने तथा सस्तो उपचार गराउने आदि पर्छन् ।

वृद्धावस्थामा खाने रुचि कम हुने भएकाले, माछामासु छाड्ने, पाचनतन्त्र कमजोर र मिर्गौलाको काम कम हुने भएकाले खाद्य पदार्थको उपयोग कम भएको पाइन्छ । प्रोटिन कमीले गर्दा सुन्निने, रगतको कमी हुने र रोगसँग लड्ने क्षमतामा कमी भएर संक्रामक रोग लाग्ने भएकाले सामान्य वयस्कलाई चाहिनेजति एक ग्राम प्रोटिन प्रतिकिलो ग्राम तौलको आवश्यक हुन्छ । तर, क्यालोरीको कम आवश्यकता सँगसँगै कार्बोहाइडे«ट र चिल्लो पदार्थ आवश्यकता पनि घट्छ । चिल्लो पदार्थका रूपमा तोरी, सूर्यमुखी, भटमासजस्ता वनस्पति तेल राम्रो मानिन्छ । ४०/५० ग्राम चिल्लो पदार्थ दैनिक एउटा वृद्धले खान सक्छ । धेरै तेलमा तारेकोभन्दा थोरै तेलमा भुटेका खाद्य वस्तु नै वृद्धका लागि राम्रो मानिन्छ ।

वृद्धावस्थामा शारीरिक, मानसिक र रोगसँग लड्ने क्षमतामा आएको कमीले मानिसको पोषणस्तरलाई प्रभाव पार्छ । जति उमेर बढ्दै जान्छ, शरीरको काम गर्ने क्षमतामा कमि आउँछ, पाचन प्रणाली कमजोर हुँदै जान्छ । हड्डीको तागतमा कमी आउँछ । आँखाले धमिलो देख्न थाल्छ । दाँत हल्लेर झर्न थाल्छ । वृद्धावस्थामा मोटोपन धेरै खतरनाक हुने भएकाले मोटो मानिसमा क्यालोरीको मात्रा कम गरेर शारीरिक तौल घटाउनुपर्छ ।

ज्येष्ठ नागरिकमा हाड कमजोर हुने भएकाले शरीरलाई बढी मात्रामा खनिज पदार्थ, विशेषगरी क्याल्सियम आवश्यक पर्छ । क्याल्सियमजन्य खाद्यवस्तु मुख्यतः दूध र दूधबाट बनेका खाद्यपदार्थ खानु उपयुक्त हुन्छ । एउटा वृद्धले दैनिक ४०० देखि ५०० मिलिलिटर दूध खायो भने क्याल्सियमको मात्रा पूर्ति हुन्छ । रगत कमी नहोस् भन्नाका लागि आइरन बढी भएको खाद्यपदार्थ खानुपर्छ । फलामको पूर्ति गर्नुका साथै पाचनतन्त्रलाई स्वस्थ राख्न हरियो सागपात, कोसेदाल, क्वाँटी आदि खानु राम्रो हुन्छ । आइरन प्रशस्त पाइने कलेजो, रातोमासु, फूलको पहेंलो भागमा कोलेस्ट्रोल पनि बढी हुने भएकाले वृद्धले यस्ता खाद्यवस्तु प्रयोग थोरै मात्रामा गर्नुपर्छ ।

दाँत कमजोर र केही झरेका हुने, नक्कली दाँत रहने, पाचन प्रणाली कमजोर रहने, खाना चपाउन गाह्रो हुने भएकाले सजिलैसित पचाउन सक्नेखालका नरम, सजिलोसित चपाउन मिल्नेखालको खाना हुनुपर्छ । सुख्खा रोटी, सुख्खा चिउरा सट्टा चामल दाल मिसाएको जाउलो, खीर, साबुदाना, सेवाई, दूधमा भिजाएको चिउरा आदि खाने कुरामा सम्मिलित गरिनुपर्छ । हरिलो सागपात, फलफूल, फलफूलको रस, तरकारी वा मासुबाट बनाइएको सुप, प्रशस्त मात्रामा पानी खानाले कब्जियत हुन पाउँदैन र खानामा रुचि पनि बढेर जान्छ ।

वृद्धमा एकैचोटि धेरै खानेकुरा खान नसक्ने र पचाउन पनि गाह्रो हुने भएकाले थोरै–थोरै गरेर दिनभरिमा पाँचदेखि ६ पटकसम्म खाने कुरा खुवाउनुपर्छ । खानामा दालको झोल, फलफूलको जुस, पानीजस्ता झोलिलो कुराको प्रशस्त प्रयोग गर्नुपर्छ । थोरै भए पनि खानामा दिनहुँ रायो, तोरी, चम्सुर, पालुंगोजस्ता हरिया सागपात समावेश गर्नुपर्छ । यसले शरीरमा कब्जियत हुन पाउँदैन, आइरन, भिटामिन ‘बी’ कम्प्लेक्स, ‘सी’ आदिको कमी हुन पाउँदैन ।

दिउँसोको खाना खाएपछि अलि–अलि भए पनि हिंड्ने भएकाले खाना सजिलैसित पच्छ तर रातिको खानापछि छिट्टै सुत्ने भएकाले अलि उकुसमुकुस हुन्छ र भारी खानाले निद्रामा कमी ल्याउँछ । त्यसैले वृद्धको रातिको खाना दिउँसोको भन्दा हल्का, किसिमको हुनुपर्छ । राति सुत्ने बेलामा एक गिलास तातो दूध खाँदा राति राम्रोसँग निद्राका लागि दिनभरि जोश, जाँगर बढेजस्तो अनुभूति दिन्छ । खाना पारिवारिक खानासँग मेल खाने तर नरम, पचाउन सक्ने दिनुपर्छ । सँगै खाना खानाले, बच्चालाई जस्तै मायाप्रेम गर्नाले उनीहरूलाई सुरक्षाको भावना दिन्छ ।

गोरखापत्रबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार