पर्यटक पर्खाइमा पात्लेपानी

सुधीर राई/कुवेत

पात्लेपानी । भोजपुर जिल्लाको देवनटार गाविस–६ र ८ नम्बर वडाको सिमानामा पर्ने पोखरी । झट्ट हेर्दा खोल्साखोल्सी हो कि जस्तो देखिए पनि नियालेर हेर्दै जाँदा पोखरी देख्न सकिन्छ । घनाजंगलबीचमा रहेको ऐतिहासिक पोखरी बाह्रैमास कालो देखिन्छ ।

बाह्रैमास कालो देखिने भएकाले जोकोही पोखरीसम्म एक्लै जाने आँट गर्दैनन् । ‘पोखरीमा कहिलेकाहीँ तामाको गाग्री तैरिइरहेको देखिन्छ,’ स्थानीय भन्छन्, ‘आश्चर्य मान्दै नजिकै गएर हेर्न खोज्दा देखिँदैन ।’ पोखरीमा दैवीशक्ति रहेको स्थानीय वयोवृद्धाको विश्वास छ । यही बाटो भएर हिँड्ने जोकोहीले पोखरीछेउमा रहेको शिलाढुंगामा फूलपाती चढाउने गर्छन् ।

पोखरी भनेको सम्बन्धित गाउँठाउँको सम्पत्ति हो । त्यो सम्पत्तिमात्रै नभएर सम्बन्धित गाउँठाउँको शोभा पनि हो । यति हुँदाहुँदै पनि पात्लेपानी पोखरीलाई पर्यटकीय स्थल बनाउन सकिएको छैन । बरु अतिक्रमणमा पर्दै गएको छ । गाउँ–गाउँमा ग्रामीण सडक विस्तार भए पनि पात्लेपानी पोखरीलाई उपयोग गर्न नसक्नु भनेको दुःखद कुरा हो । ग्रामीण सडक २०६८/०६९ अवधारणाले पोखरीआसपासका जंगल मासिन पुग्यो । सँगैका खोलाखोल्सीमा अलैंची खेती थालियो तर पात्लेपानी पोखरी संरक्षण, संवद्र्धनपट्टि कसैको ध्यान पुगेन ।

पात्लेपानी पोखरीलाई पर्यटकीय स्थल बनाउन सके स्थानीयको आयस्रोत बढ्नेछ । यसको संरक्षण, संवद्र्धन गर्दै प्रचार–प्रसार गर्न सकेमा होमस्टे सञ्चालन गर्न सकिन्छ । होमस्टे सञ्चालन गर्न सकिए पर्यटन प्रवद्र्धनसँगै घरमै बसीबसी आर्थिक क्रान्ति गर्न सकिन्थ्यो । पर्यटनसम्बन्धी जानकार भन्छन्, ‘त्यसो गर्न सके स्थानीयको जीवनस्तर उकास्न धेरै समय लाग्दैनथ्यो ।’

एकताका सोलुखुम्बु र खोटाङका पूर्वी क्षेत्रका बासिन्दा यही बाटो भएर धरान, धनकुटा धाउँथे । तराईसँग जोड्ने उपयुक्त बाटो यही थियो । पोखरीआसपासमा बाघ, भालु लाग्नु त छँदै छ, त्यही मौका छोपेर अराजक समूहले बटुवालाई दुःख दिने गर्थे । अराजक समूहले बटुवासँग जे छ त्यही लुट्नेमात्रै होइन, मानिसको हत्या गरेर पोखरीमै फाल्न थालेपछि यहीँ इलाका प्रहरी कार्यालय स्थापना भएको छ । पहिले–पहिले बटुवा बयाङ र दितेनीमा जम्मा भई सामूहकि रूपमा जंगल बाटो काट्ने गरेको भुक्तभोगी सुनाउँछन् । अब त्यस्तो समस्या छैन ।

पात्लेपानीलाई पर्यटकीय स्थल बनाउन स्थानीय, समाजसेवी, बुद्धिजीवी, संघ–संस्थाले आजैदेखि पहल थाले होस्टेमा हैंसे गर्ने भइहाल्छन् । पोखरीसँग जोडिएका थुप्रै किंवदन्ती छन् । त्यसमध्ये एक हो– पोखरीबाट नदी बन्दै गर्दा कलियुग लागिहालेकाले पोखरी पोखरीमै सीमित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार