कम्युनिस्टका अबगुन

२०५१ तिर काठमाडौंमा माधवकुमार नेपालले जुन हाउभाउ र शैलीमा भाषण गर्नुभएको थियो, मुस्ताङको कार्यकर्ताले पनि ठीक त्यही ढंगले, त्यस्तै शैलीको नक्कल गरेर भाषण गरेको सुनेर म दंग पर्थे । बाँकी पूर्वमन्त्री नरहरि आचार्यको शब्दमा :

कम्युनिस्ट अर्थात् एउटा झोला बोकेको, चप्पल लगाएको, कपाल नकोरेको, झुस्स दाह्री पालेको र दुब्लो मान्छे । विद्यार्थी जीवनमा कम्युनिस्ट भन्नासाथ मेरो दिमागमा यस्तै विम्ब उत्रन्थ्यो । कम्युनिस्ट अर्थात् एउटा फरकखालको मान्छे । आममान्छेले पनि कम्युनिस्ट भन्नासाथ त्यस्तै चित्रको कल्पना गर्थें । हाम्रा साथीहरूबीच पनि कम्युनिस्टको परिचय त्यसरी नै दिने चलन थियो ।

अरूले सायद आफ्नो अनुभव र भोगाइका आधारमा कम्युनिस्टको त्यस्तो विम्ब प्रस्तुत गर्थे । तर, मैले भने त्यस्ता कम्युनिस्टको संगत गर्न पाइनँ । मैले त्यस्तो रूपका कम्युनिस्ट देख्न पनि पाइनँ । विद्यार्थीकालमा मैले संगत गरेका साथीहरूबीच कांग्रेस र कम्युनिस्टको कुनै विभेद थिएन । कलेज पढ्ने बेलामा मात्रै कम्युनिस्ट साथीहरूसँग संगत भयो । ०२५÷२६ तिर म संस्कृत छात्रावासमा बस्थें । त्यतिबेला स्वं घनश्याम शर्मा पौड्याल मेरा मिल्ने साथी हुनुहुन्थ्यो । तर, माथि वर्णन गरिएजस्तो ‘मौलिक’ कम्युनिस्ट उहाँ हुनुहुन्थेन । लुगा पनि नराम्रो लगाउनुहुन्थेन, खानपिनमा पनि हामीभन्दा भिन्न हुनुहुन्थेन । त्यतिबेलाकै साथीहरूमा पोखराका भवानीप्रसाद पाण्डे, माओवादी नेता सुरेश वाग्ले ‘वासु’ पनि छात्रावासका मेरा कम्युनिस्ट साथी हुनुहुन्थ्यो । तर, उहाँहरू र हामीबीच खानपिन र लवाइखवाइमा खासै भिन्नता थिएन ।
भनिन्छ, ‘कम्युनिस्ट र गैरकम्युनिस्टको जीवनशैली फरक हुन्छ ।’ कहिलेकाहीं म पनि यस्ता विषयमा सोच्ने गर्छु । देख्छु, अहिले त कम्युनिस्ट र गैरकम्युनिस्ट व्यक्तिका बीचमा खासै फरक छैन ।

राजनीतिक सहकार्यका क्रममा कम्युनिस्टहरूसँगको मेरो निरन्तरको घुलमिल, छलफल र भेटघाटका कारण पनि मलाई कम्युनिस्टहरू खासै फरक नलागेका होलान् । पहिले आफूले नदेखे/नभोगे पनि कम्युनिस्ट शब्द सुन्नासाथ मानसमा जस्तो विम्ब आउँथ्यो, अहिले त्यस्तो खास विम्ब वा चित्र पनि आउँदैन । मान्छे आखिर मान्छे नै हो, त्यसका आफ्नै रुचि, स्वभाव र प्रवृत्तिले नै जीवनशैली निर्देशित हुन्छ । खास संस्था वा संगठनको आबद्धता र निश्चित दर्शनको प्रभावले बाँच्ने शैलीमा केही न केही फरक त ल्याउँछ नै । तर, अहिले कम्युनिस्ट र गैरकम्युनिस्टबीच त्यति ठूलो भिन्नता छैन । उस्तै सामाजिक र आर्थिक अवस्था भएको समाजमा रहेका व्यक्तिहरू जुन पार्टीमा रहे पनि जीवन पद्धतिमा साझापन हुन्छ । अर्कोतिर कम्युनिस्टहरूको पनि समाजअनुकूल घुलमिलीकरण भइसकेको छ ।

म विद्यार्थी छँदा नेपालमा चीनप्रतिको आकर्षण धेरै नै थियो । कम्युनिस्ट मुलुक चीन धेरैको आदर्श पनि थियो । काठमाडौंका फुटपाथमा पनि राता गाता भएका माओका ‘रेडबुक’ किन्न पाइन्थे । मैले पहिलोपटक वसन्तपुरको सडकबाट ०२७÷२८ तिर माओको एउटा रेडबुक किनेको थिएँ । संघर्ष र युद्धका सन्दर्भ भएको त्यो पुस्तक कम्युनिस्ट ग्रन्थहरूमै मैले पहिलोपटक पढेको किताब हो । त्यो सँगसँगै मैले ल्यु सुनको कलेक्सन पनि ल्याएर पढेको थिएँ । वामपन्थी साहित्यमा खुबै चर्चा र प्रसिद्धि पाइसकेको ‘आमा’ उपन्यास त मैले त्यसअघि नै सायद ०२५/२६ तिरै पढेको थिएँ । त्यतिबेला पनि ‘आमा’ निकै चर्चित उपन्यास थियो । मैले त्यसको हिन्दी अनुवाद पढेको थिएँ । त्यो कम्युनिस्ट पुस्तक भनेर होइन, चर्चित उपन्यास भनेर ।

त्यहीबेला ‘सचित्र चीन’ भन्ने एउटा पत्रिका पनि पाइन्थ्यो । चीनबाट प्रकाशित उक्त पत्रिका रंगीन, चिल्ला पाना भएको, ठूलो आकारको हुन्थ्यो । त्यहाँ समाचार वा विवरण कम र सुन्दर–सुन्दर चित्र बढी हुन्थे । त्यो हिन्दी र अंग्रेजीमा हुन्थ्यो । मैले पनि त्यो पत्रिका नियमित पढ्थें । त्यसका दुईवटा फाइदा थिए– एक, पढ्न र चित्र हेर्न पाइने । दुई, पढिसकेपछि किताबमा गाता हाल्न पनि पाइने । भोटाहिटीमा कम्युनिस्ट पार्टीका संस्थापक निरञ्जनगोविन्द वैद्यले आफैं पत्रिका पसल चलाउनुुहुन्थ्यो । उहाँको पसलमा पनि ‘सचित्र चीन’ पत्रिका पाइन्थ्यो । एकपटक मैले उहाँको पसलमा पुगेर ‘गाता हाल्ने पत्रिका दिनुहोस् त’ भनें । मैले ‘गाता हाल्ने पत्रिका’ भनेर मागेको सुनेर उहाँ झनक्क रिसाउँदै भन्नुभयो, ‘छैन, गातासाता हाल्ने पत्रिका ।’ त्यो दिन म त्यसै फर्कें क्यारे । तर, म ‘सचित्र चीन’ को नियमित पाठक थिएँ । अर्को दिन फेरि गएर त्यो लिएँ । त्यो पत्रिकामा चीनका बारेमा दिएको जानकारीले धेरैको ध्यान खिच्थ्यो । चित्रमा देखिने मान्छे सबै एकै रङको कपडा लगाएका, सबै गोरा–गोरा, सबै मोटाघाटा र फुर्तिला । एकपटक यो देशमा पुग्न पाए भन्ने मलाई पनि लाग्थ्यो ।

त्यहीबेला मैले बजारबाट माओ त्से तुङको फोटो पनि किनेर ल्याएको थिएँ । त्यतिबेला सडकबाट किनेको माओको रेडबुक र उनको फोटो मैले अहिले पनि आलमारीमा सुरक्षित राखेको छु । कम्युनिस्ट बारेको त्यो मेरो प्रारम्भिक चरणको ज्ञान थियो । त्यही समय मैले हो चि मिन्हको जीवनी पनि पढेको थिएँ । एउटा सानो पुस्तकमा हो चि मिन्हका भनाइ र उनको जीवनी लेखिएको थियो । कम्युनिस्ट नेताहरूको जीवनी पढेको सायद त्यही पहिलोपटक हो । तर, ‘सचित्र चीन’ पत्रिकाका कारण अरू देश र अरू नेताभन्दा चीन र त्यहाँको कम्युनिस्ट व्यवस्थाबारे नै बढी चासो हुन्थ्यो । मलाई पनि धेरैपछिसम्म त्यहाँका मान्छे कस्ता होलान्, त्यहाँको राज्य व्यवस्था कस्तो होला भन्ने कौतूहलता भइरह्यो । (म मन्त्री भएका बेला ०५३ मा पहिलोपटक चीन जाँदा पनि ऊबेलाको छाप बाँकी नै थियो । तर, त्यतिबेलासम्म चीन पहिलेजस्तो थिएन । धेरै कुरा त्यहाँ फेरिइसकेका थिए । हामी चीन जाँदा माओ त्से तुङको समाधिस्थल हेर्ने कार्यक्रम रहेनछ । मैले आफ्नै जिज्ञासाका कारण त्यो कार्यक्रम राख्न त्यहाँका अधिकारीलाई उहीं पुगेर अनुरोध गरेको थिएँ । त्यो पनि सायद मेरो विद्यार्थीकालको प्रभाव थियो ।)

मान्छेको बाँच्ने तरिका र शैली उसको व्यक्तिगत स्वभावअनुसार निर्धारित हुन्छ । तैपनि, कम्युनिस्टहरूमा केही न केही भिन्नताचाहिँ हुँदोरहेछ । मैले कम्युनिस्ट र गैरकम्युनिस्ट फरक हुँदारहेछन् भन्ने टड्कारो अनुभव ०४८ को चुनावपछिको संसद्मा देखें । त्यहाँ हुने छलफल र बहसमा को कम्युनिस्ट हो र को होइन भन्ने छुट्टिन्थ्यो । कम्युनिस्ट पार्टीका सदस्यहरूसँग सधैं एउटा नोटबुक हुन्थ्यो, उनीहरू नोटबुकमा टिपेका कुरा हेरेर बोल्थे, तत्काल भएका कुनै घटनामाथि पनि उनीहरू पुराना वा इतिहासका सन्दर्भ खोजेर जोड्थे । प्रायः कम्युनिस्टहरूको त्यो शैली मलाई त्यतिबेला नौलो लागेको थियो ।

त्यतिबेलै संस्कृत छात्रावासमा सँगै रहेका मेरा सहपाठी घनश्याम शर्मा पौड्याल र म दुवै राष्ट्रियसभाका सदस्य भएका थियौं । उहाँ कम्युनिस्ट प्रतिनिधि हुनुहुन्थ्यो, संयुक्त जनमोर्चाबाट । म गैरकम्युनिस्ट प्रतिनिधि थिएँ, नेपाली कांग्रेसबाट । तर, त्यतिबेलाका धेरै कम्युनिस्ट प्रतिनिधि नेकपा एमालेबाट हुनुहुन्थ्यो । उहाँहरू सबैका प्रस्तुति र बोल्ने शैली उस्तै थियो । राष्ट्रियसभामा राम्रो बोल्ने कम्युनिस्ट सदस्यहरूमा सुवासचन्द्र नेम्वाङ, सिन्धुनाथ प्याकुरेल र घनश्याम शर्मा पौड्याल हुनुहुन्थ्यो । सुवासजीको प्रस्तुति अरू औसत कम्युनिस्ट सदस्यको भन्दा फरक र मौलिक हुन्थ्यो । सिन्धुनाथजी पनि विषयलाई राम्रोसँग प्रस्तुत गर्ने र समस्याको गाँठो फुकाउन प्रयास गर्ने तरिकाले बोल्नुहुन्थ्यो । उता, प्रतिनिधिसभामा भने लामो–लामो र धाराप्रवाह बोल्ने कम्युनिस्ट नेतामा संयुक्त जनमोर्चाका लीलामणि पोखरेल चर्चित हुनुहुन्थ्यो । एमालेका मदन भण्डारी र देवी ओझा पनि धाराप्रवाह बोल्नुहुन्थ्यो ।

अहिले संसद्मा पनि कम्युनिस्ट पार्टीका केन्द्रीय नेता र अरू सभासद्को बोल्ने शैली, ढाँचा र ढर्रा उस्तै हुने गर्छ । अझ खासगरी माओवादी केन्द्रका नेतामा त्यस्तो समानता बढी छ । एमालेमा भने अहिले त्यो घट्दो छ । ०५१ तिर काठमाडौंमा माधवकुमार नेपालले जुन हाउभाउ र शैलीमा भाषण गर्नुभएको थियो, मुस्ताङको कार्यकर्ताले पनि ठीक त्यही ढंगले, त्यस्तै शैलीको नक्कल गरेर भाषण गरेको सुनेर म दंग परेको थिएँ । कांग्रेसका सदस्यमा फरक–फरक व्यक्तिका फरक–फरक प्रस्तुति हुन्छन् । एउटै विषयमा पनि उनीहरू फरक–फरक बोल्छन् । तर, कम्युनिस्टहरूमा निश्चित सीमाभित्र बसेर एउटै कुरा बोल्ने प्रवृत्ति बढी छ । आकर्षक बोल्ने कम्युनिस्ट सदस्य पनि हुनुहुन्छ । तर, औसतमा बोल्नेहरूमा मौलिकताको न्यूनता भेटिन्छ । सायद त्यो प्रशिक्षणको प्रभाव हो । कम्युनिस्ट पार्टीमा प्रशिक्षण बढी हुन्छ । केन्द्रीय नेताले सीधै आफैं प्रशिक्षण दिने चलनले पनि कम्युनिस्ट नेता–कार्यकर्ताका जीवनशैलीमा एकरुपता देखिएको हुन सक्छ ।

कम्युनिस्टहरू आफूलाई अरूभन्दा भिन्न देखाउन पनि चाहन्छन् । ०४६ पछि एमालेले आफ्ना नेतालाई होस्टेलमा राख्ने, सदस्यहरूको पारिश्रमिक पार्टीमा बुझाउने नियम बनाएको थियो । अहिले माओवादीले पनि त्यस्तै अभ्यास गरिरहेको छ । पहिरनमा पनि त्यतिबेलाका सबै एमाले सदस्यले औपचारिक ‘ग्रे’ कलरको कोट लगाउँथे । एमालेमा अहिले त्यो नियम छैन । उनीहरू घुलमिल भइसके । माओवादीले पनि शान्तिप्रक्रियामा आउने बेलामा पोसाकमा एकरुपता ल्याउन खोजेको थियो । तर, बिस्तारै–बिस्तारै उसमा पनि घुलमिलीकरण हुँदै छ । सामाजिक–आर्थिक पृष्ठभूमि एउटै भएकाले अहिले कम्युनिस्ट र गैरकम्युनिस्टमा खासै भिन्नता म देख्दिनँ । बरु सबै पार्टीमा सबैखाले प्रवृत्ति मिसिएको छ । अहिले पनि संसद्मा म बहुसंख्यक कम्युनिस्ट सदस्यसँग सँगसँगै छु । तर, उनीहरूको र हाम्रो लवाइखवाइमा कुनै फरकपन छैन । बरु मैले देखेको कम्युनिस्टको राम्रो पक्ष– उनीहरूमा परिश्रम गर्ने प्रवृत्ति बढी छ । गैरकम्युनिस्टको तुलनामा कम्युनिस्ट बढी नै मिहिनेत गरेका देखिन्छन् । र, अलि बढी अध्ययनशील पनि हुन्छन् ।

मलाई मन नपर्ने कम्युनिस्ट शैली

१. कम्युनिस्टहरू प्रायः पृष्ठभूमि खोजेर धेरै सन्दर्भ जोडेर लामो–लामो बोल्छन् । धेरै समय लिने र लम्बेतान बोल्ने यस्तो शैली मलाई मन पर्दैन ।

२. कम्युनिस्टको केन्द्रीय नेतादेखि तल्लोतहका कार्यकर्ताहरूसम्मको बोल्ने तरिका र प्रस्तुतिको शैली उस्तै हुन्छ । उनीहरूको वक्तृत्वकलामा मौलिकताको न्यूनता हुन्छ । फरक–फरक मान्छेको पनि एउटै ढाँचा र ढर्राको प्रस्तुति मलाई मन पर्दैन ।

३. कम्युनिस्ट भनेको सरल मान्छे हो भन्छन् । सिद्धान्तमा सादा जीवनको वकालत गर्छन् । तर, व्यवहारमा सुविधाभोगी हुनुपर्ने हुँदा उनीहरूको देखाउने व्यवहार एउटा र नदेखाउने व्यवहार अर्को हुन्छ । यस्तो दुईखाले चरित्र पनि मलाई मन पर्दैन ।

४. पहिले आफूलाई सुधारेर अरूमाथि प्रश्न उठाउनुपर्ने हो । तर, कम्युनिस्टहरू अरूका जुन काममा प्रश्न उठाउँछन्, त्यही काम आफूहरूले निर्धक्क गरेका हुन्छन् । यो पाखण्डजस्तो प्रवृत्ति पनि मलाई मन पर्दैन ।

प्रस्तुति : संगीतश्रोता
नयाँ पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार