५०० वर्षअघि नै गणतन्त्रवादी हलेसीका किरात

भोगीराज चाम्लिङ

किरात राई चाम्लिङ खाम्बातिमको ‘मुदुम सङ्कलन अभियान’ को पहिलो चरणअन्तर्गत दसैं–तिहार (२०६८) का बीचमा आफ्नै गाउँघरमा एक महिना बिताउनु मेरा लागि निकै उपलब्धिपूर्ण रह्यो । इतिहासका यथार्थ हाम्रा दैनिक जीवनसँग कसरी यात्रारत रहेछन्, मसिनोसँग थाहा भयो । यस्तो लाग्यो– किरातहरूसम्बन्धी ऐतिहासिक तथ्यहरू अझै पनि गाउँघरमा असुरक्षित अवस्थामा ‘सुरक्षित’ रहेछन् । यस्ता थुप्रै तथ्यहरूमध्ये म यहाँ होलेसुङ र हलेसीसम्बन्धी नयाँ ऐतिहासिक तथ्यबारे थोरै चर्चा गर्दै छु ।

होलेसुङ र दस भाइ सन्तान

गाउँका थुप्रै बूढापाका र मुख्यतः हलेसी महादेवस्थान गाविसका हिकेम्मा बाजे (जितराज राई) ले बताएअनुसार हलेसी क्षेत्रमा फैलिएका चाम्लिङ राईहरूको पहिलो पुर्खा मझुवागढीबाट आएका होमैखुङ थिए । उनका छोरा होलेसुङले सेनवंशी शासनअन्तर्गत हलेसी थुममा स्वायत्त शासन गरेका थिए । उनै होलेसुङका दस भाइमध्ये नौ भाइका सन्तान अहिले हलेसी क्षेत्रमा नौ पाछाका रूपमा फैलिएका छन् । ती होलेसुङले मझुवागढीकै लाफेछाकी बजु बिहे गरेका थिए । तर, बजु माग्न जाँदा माइतीले दिएनछन् । नदिएपछि होलेसुङ बाजे आफैं गएर सोधनी गरेछन्, ‘मलाई किन तपाईंहरूकी छोरीचेली नदिनुभएको ?’ माइतीहरूले भनेछन्, ‘हाम्री छोरी दोजिया छिन् । जानीजानीकन हामी कसरी दिऊँ ?’ होलेसुङले भनेछन्, ‘त्यो पेटको बच्चा हाम्रै हो ।’ यसो भनेपछि चाहिँ ‘ल तिम्रै हो भने लैजाऊ न त’ भनेछन् । तर, बाटामा ल्याउँदाल्याउँदै बजुले छोरा जन्माउनुभएछ । पेट बोकेकी दुलही बजुको पेटको बच्चालाई ‘होँमो’ (राजाको) भन्ने अर्थमा जेठो छोराको नाम होम्दिम् होँछा राखिएछ । त्यहींबाट एउटा पाछा बन्यो होम्दिम्छा ।

पहिल्यै पेट बोकेका कारण माइतीपट्टिका बाजेबजुलाई छोरीको घरजम हुँदैन भन्ने लागेको रहेछ । तर, छोरीले दोस्रो सन्तान पनि छोरै जन्माएपछि छोरीज्वाइँको माया बस्यो भन्ने अर्थमा माइलाको नाम मायाराजा होँछा राखिदिएछन् । (त्यतिखेर माइतीपट्टिका बाजेबजुले नै नाम राखिदिने चलन थियो क्यार ।) माइलाका सन्तानहरू मायाराजाछा भए । त्यही मायाराजाछाबाट मानसुङ्छा र मानसुङ्छाबाट मुङ्सिम्छा बनेको छ । अहिले मायाराजाछा कोही पनि छैनन् । एवम्क्रमले तेस्रो सन्तान जन्मियो । माइती बाजेबजुले ‘ल अब छोरीले जित्यो’ भनेर उनको नाम जिताराजा होँछा राखिदिएछन् । चौथो सन्तान जन्मिएपछि मझुवागढीका बाजेबजुले ‘ल पूरापूर जन्माए है’ भनेर उनको नाम पुरिम होँछा राखिदिएछन् । उनका सन्तानहरू अहिले पुरिम्छाका रूपमा चिनिन्छन् । पाँचौं सन्तान जन्मदाचाहिँ ‘ल वीरैवीर जन्मिए’ भनेर विराजा होँछा नाम राखिदिएछन् । विराजाका सन्तानहरू अहिले बिराछाका रूपमा चिनिन्छन् । छैटौं सन्तान जन्मिएपछि माइती बाजेबजुले ‘उम्फ्लों–उम्फ्लों’ (एकसेएक) सन्तानहरू जन्मिए है भनेर फ्लोमो होँछा नाम राखिदिएछन् । उनका सन्तानहरू अहिले फ्लोमोछाका रूपमा चिनिन्छन् ।

सातौं सन्तान जन्मनुपूर्व हो वा जन्मेपछि नाम राखिदिनुपूर्व नै हो कुन्नि, सेन र मकवानका बीचमा चलेको युद्धमा सेनको तर्फबाट होलेसुङ लड्न हिँडेछन् । उनी दुई वर्षमा पनि नफर्किएपछि पक्कै युद्धमा मर्यो भन्ठानेर सातौं सन्तान बाबुटोकुवा मुल्याहा रहेछ भनेर मावली बाजेबजुले मुङ्लो होँछा नाम राखिदिएछन् । उनका सन्तान अहिले मुङ्लोछाका रूपमा चिनिन्छन् । होलेसुङ मरेको अनुमान गरिएपछि बजुको नोकरसँग लसपस बढेछ । तर, होलेसुङ फर्किए । आफ्नी श्रीमती र नोकरबीचको लसपसबारे थाहा पाएपछि होलेसुङले उनलाई काट्न तम्सिएछन् । (त्यतिखेर ‘नाक–चुल्ठो गर्ने’ चलन रहेछ अर्थात् परपुरुषसँग लसपस गर्ने आइमाईको नाक, चुल्ठो काटिदिने अथवा ज्यानै मार्ने चलन रहेछ ।) बजुले लोग्ने होलेसुङलाई भनेछन्, ‘मलाई किन मार्छौ ? नमार । यत्रो बालबच्चा हुर्काउनु छ । कसले हुर्काउँछ ? बरु म चोख्याउनी भदैनी ल्याइदिन्छु ।’ होलेसुङले स्वीकार गर्दै भनेछन्, ‘ल त्यसो भए म तँलाई मार्दिनँ तर भोलि घामको झुल्कोमा भदैनी ल्याइदे ।’ बजु मझुवागढी पुगेर ‘यस्तोयस्तो समस्या आइलाग्यो, भदैनी दिनुप¥यो’ भनेपछि उताबाट पनि भदैनी दिएछन् । होलेसुङले भदैनीसँग बिहे गरे । तर, युद्धबाट सुनकोसी–दूधकोसी (?) हुँदै फर्कनेक्रममा उनको मझिनीसँग लसपस भएको रहेछ । बाबु–माइतीले पेट बोकेकी ती मझिनी पनि होलेसुङलाई जिम्मा लगाउन ल्याएछन् । र, उनीबाट जन्मिएको सन्तानको नाम ‘नाम्लामा तिरा’ (घामबाट जन्मियो) भन्ने अर्थमा आठौं सन्तानलाई नाम्ला होँछा राखिएछ । उनका सन्तानहरू अहिले नाम्राछाका रूपमा चिनिन्छन् ।

उता भदैनीबाट पनि छोरा जन्मिएछ । भदैनीले पनि ‘सैंद्यु’ (बिँडो थाम्यो) है भनेर नवौं सन्तानको नाम सैंदा होँछा राखिदिएछन् । उनका सन्तानहरू आजकल सैंदाछाका रूपमा चिनिन्छन् । भदैनीबाट अर्कै सन्तान जन्मिएपछि ‘ल पातेका है पातेका’ (ल जन्माए है जन्माए) भनेर दसौं सन्तानको नाम पातेसुङ होँछा राखिएछ । उनका सन्तानहरू अहिले पातेसुङ्छाका रूपमा चिनिन्छन् । हलेसी क्षेत्रमा अहिले मूलतः होलेसुङका यिनै सन्तानहरू फैलिएका छन् । अन्य चाम्लिङ राईहरू पनि बसोबास गर्छन् तर उनीहरूको अनुपात सानो छ ।

होलेसुङ र कविलातन्त्र (गणतन्त्र)

अर्को महत्वपूर्ण कुरा के छ भने होलेसुङका दस भाइ छोराहरू भए पनि हलेसी भेगमा अहिले नौ भाइका सन्तानहरू मात्र छन् । साइँला जिताराजा होंछाका सन्तानहरू हलेसी क्षेत्रमा भेटिँदैनन् । त्यसको ऐतिहासिक कारण छ । होलेसुङको निधनपछि उनका साइँला छोरा जिताराजा होँछा मुखिया चुनिएका थिए । उनीपछि उनका छोरा (?) मकमल हलेसी थुमका मुखिया चुनिए । त्यसपछि मकमलका छोरा (?) भ्वाँराम मुखिया चुनिए । हो, उनै मकमलको शासनकालमा पृथ्वीनारायण शाहले राज्य विस्तारक्रममा हलेसी थुममा आक्रमण गरेका थिए । पृथ्वीनारायण शाहको सैन्य आक्रमणमा पराजित भएपछि भ्वाँराम अर्थात् जिताराजाका शाखासन्तान कोही मारिए, बाँचेकाहरू पनि भागे । जसले गर्दा अहिले जिताराजाका सन्तानहरू हलेसी क्षेत्रमा भेटिँदैन ।

भ्वाँरामको दरबारको भग्नावशेष अहिले पनि दुर्छिम गाविसको कोटडाँडामा असुरक्षित अवस्थामा छ । त्यहाँ लगभग दुई/तीन सय मिटरको फरकमा ओल्लो र पल्लोडाँडामा दुईवटा दरबार रहेको छ– एउटामा भ्वाँराम बस्थे, अर्कोमा उनका मन्त्री । भ्वाँराम बस्ने दरबारवरिपरि चारैतिर सुरक्षाका लागि सुरुङ बनाइएको छ । तर, बेलैमा सुरक्षा, संरक्षण र उत्खनन गर्न नसके यो ऐतिहासिक सम्पदा नष्ट हुने निश्चित छ । अहिले जुन तीव्रतासाथ सडक विस्तार र बजारीकरण हुँदै छ, त्यसले यो खतरा अझ बढेको छ ।

तर होलेसुङको दरबार भने कोटडाँडामा होइन, तल गैह्रामा पर्ने खिम्लेमा थियो । त्यसबखत हलेसी क्षेत्रवरपर अरू पनि स्थानीय किरात कविला शासकहरू थिए । हलेसी थुमको पश्चिममा च्यास्मी थुम थियो । यी दुई थुमका बीचमा लडाइँ भइरहन्थ्यो । यस्तै लडाइँमा च्यास्मी थुमका किरात मुखियाले होलेसुङलाई वाण हानी हत्या गरेका थिए । यसको बदला लिन होलेसुङका छोराहरूले प्रत्यक्ष लडाइँ होइन षड्यन्त्र रचेछन् । उनीहरूले च्यास्मी थुमका किरात मुखियालाई भनेछन्, ‘मार्न त तिम्ले हाम्रो बुवालाई मार्यौ तर जे भयो भइसक्यो, अब हामी तिम्लाई नै हलेसी थुमको पनि मुखिया मान्छौं, आएर शासन गर ।’ उनीहरूको विश्वासमा परेर च्यास्मी थुमका मुखिया होलेसुङको दरबारमा आए । होलेसुङका छोराहरूले उनको राम्रैसँग स्वागत–सत्कार गरे । तर, बिदाइ गर्ने निहुँमा उनको हत्या गर्ने योजना बनाए । अहिले दुर्छिम गाविसमा पर्ने छापडाँडामा उनीहरूले त्यस्तो थलो चयन गरे । छापडाँडाको खसिनी भञ्ज्याङमा पुगेपछि भञ्ज्याङको दायाँ–बायाँ दुवैतिर मान्छेको पुत्ला बनाएर राखे । धनुकाँड चलाउने मान्छे दुवैतिर लुकिबसे । च्यास्मी थुमका मुखिया अचम्मित हुँदै जतापट्टिको पुत्ला हेर्नेछन्, त्यतैबाट वाण छोड्ने योजनाअनुसार खसिनी भञ्ज्याङमा पुगेपछि पुत्ला देखेर अचम्ममा परेका उनलाई वाण हानेर हत्या गरियो । छिमेकीसँगको झगडाका कारण खिम्ले गैह्रामा दरबार राख्नु रणनीतिक हिसाबले असुरक्षित हुने नै भयो । त्यसैले, खिम्ले छाडेर कोटडाँडामा ढुंगाको गाह्रोबाट दरबार बनाइयो ।

यहाँ एउटा प्रश्न उठ्न सक्छ– जेठा, माइला छोराहरू हुँदाहुँदै कसरी साइँला जिताराजा मुखिया (शासक) भए त ? होलेसुङको मृत्यु हुँदा चार दाजुभाइ मात्र हुर्किएका थिए । सबैले आफू मुखिया हुन पाउनुपर्छ भनेर दाबी गरेछन् । कुरा नमिलेपछि उनीहरूले सात दिन लाप्पा खेल्दा जो जित्छ उही मुखिया चुनिन्छ भनेर समझदारी बनाए । चार दाजुभाइ कोटडाँडानजिकै रहेको टारमा सात दिन लाप्पा खेलेछन् । (त्यो टार अहिले पनि उस्तै छ ।) लाप्पामा साइँला जिताराजाले जितेका कारण उनी मुखिया भए । भनेपछि किरातहरूमा लिच्छवि, मल्ल, शाह राजाहरूमा जस्तो राजाको जेठा छोरा नै राजा हुने निरङ्कुश राजतन्त्र होइन, मुखिया निर्वाचन गर्ने गणतान्त्रिक व्यवस्था थियो । चार÷पाँच सय वर्षअघि त किरातहरू गणतान्त्रिक थिए भने दुई हजार वर्षभन्दा अघि नेपाल खाल्डो (जसलाई अहिले काठमाडौं भनिन्छ) मा किरातहरूले निरङ्कुश राजतन्त्र चलाउने कुरै भएन, उनीहरू निर्वाचनद्वारा मुखिया चुन्ने गणतान्त्रिक व्यवस्थामै थिए । त्यसैको निरन्तरतामा होलेसुङका साइँला छोरा मुखिया चुनिएका हुन् । वास्तवमा किरातहरू सर्वप्राचीन गणतन्त्रवादीहरू हुन् । हामीले एउटा जबरजस्त भ्रमबाट मुक्त हुनैपर्छ कि नेपाल खाल्डोमा शासन गर्ने किरातहरू राजाको जेठा छोरा स्वतः राजा हुने निरङ्कुश राजतन्त्रमा थिएनन्, जनताबाट अनुमोदित/निर्वाचित हुनुपर्ने गणतान्त्रिक कविलातन्त्रमा थिए ।

होलेसुङ हलेसी क्षेत्रका प्रथम किराती कविला शासक थिए (?) उनको दरबार हालको दुर्छिम गाविसको वडा नम्बर तीनमा पर्ने हात्तीढुङ्गे गाउँको ‘खिम्ले’ भन्ने जग्गामा थियो भनेर अहिले पनि बूढापाकाहरू भनिरहेका छन् । दरबार थियो भनिएको ठाउँमा अहिले खेतिपाती गरिने भएकाले प्रस्ट सङ्केतहरू त पाइँदैन तर त्यस ठाउँमा नपाइने चिल्ला ढुङ्गाहरू बारीमा गारो लगाइएको अवस्थामा छन् । खिम्लेनजिकै हात्तीढुंगेका खगेन्द्र राईका अनुसार अहिले पनि खनजोत गर्दा त्यहाँ ढुङ्गा भेटिन्छ । त्यसबाहेक खिम्लेमा पछिसम्म पनि चार सुरमा ठाडो गाडिएको चारवटा ढुङ्गा थियो रे । ‘यो होलेसुङ राजाको ढुङ्गा हो है नाति’ भनेर डिगेम्मा बजुले खगेन्द्र राईलाई बारम्बार बताउनुभएको थियो रे ।

यसैगरी, घनश्याम राईका अनुसार पनि आजभन्दा बीस÷तीस वर्षअघिसम्म त्यो ढुङ्गा थियो । उहाँहरू गोठाला जाँदा ‘कामी–राजा’ खेल तिनै अग्ला ढुङ्गाहरूलाई समातेर खेल्नुहुन्थ्यो । तर, अहिले ती ढुङ्गाहरू भेटिँदैनन् । केही ढुंगा पहिरोले लगेको छ भने केही खेत बिराउन गारो लगाउन प्रयोग गरिएको हुन सक्छ । राम्ररी उत्खनन गर्ने हो भने त्यो ढुङ्गालगायत होलेसुङको दरबारसम्बन्धी तथ्यहरू फेला पर्न सक्छ ।

होलेसुङबाट हलेसी नामकरण

हलेसी नाम होलेसुङसँग जोडिएको छ । होलेसुङले शासन गरेको थलो र उनको दरबार रहेकाले होलेसुङ शब्द अपभ्रंश हुँदै खिम्लेवरपरका गाउँलाई हलेसी भनिएको रहेछ । पछि होलेसुङले शासन गरेको समग्र क्षेत्रलाई बुझाउन हलेसी थुम भनियो । तर, अहिले जुन प्राकृतिक गुफालाई ‘हलेसी’ का रूपमा चिनिन्छ, त्यो ठाउँको नाम सुरुमा हलेसी थिएन । त्यसको नाम पाटी, मठ र मादेउथान थियो । धेरै पछि मात्र त्यससँग हलेसी जोडेर हलेसी महादेवस्थान भन्न थालिएको हो । पुरानो हलेसीचाहिँ विस्मृत हुन पुगेको छ । यसलाई व्युँताउन सकेमात्र किरातहरूले राजनीतिक शक्तिको अभ्यास गरेको हलेसीको गौरवशाली इतिहास सुरक्षित गर्न सकिन्छ ।

स्थानीय बूढापाकाहरूसँगको कुराकानीबाट के थाहा भयो भने अहिलेको दुर्छिम गाविसतिर आउँदै गरेका गिरी (महादेवस्थानका पुजारी) सँग बाटोमा भेट भयो र ‘कता हिँडेको’ भनेर सोध्यो भने ‘हलेसी हिँडेको’ भन्थे । र, अहिलेको दुर्छिम गाविसतिरकाहरू उता गुफातिर जाँदा पाटी हिँडेको, मठ हिँडेको अथवा मादेउथान हिँडेको भन्थे रे । काठमाडौंमा उपचार गर्न आउनुभएको जङ्गबहादुर राईसँग पनि २०६८ सालमै मैले ‘कुरा त यस्तो हो रे नि काका’ भनेर कुरा उप्काउँदा यही कुरा पुष्टि हुनेगरी उहाँले भन्नुभएको थियो, “म सुरुमा ससुराली जाँदा एकजना नयाँ मान्छे मेरो ससुराली घरमा आयो । उसले मलाई औंल्याउँदै मेरी सासूसँग सोध्यो, ‘उहाँ को हुनुहुन्छ ?’ सासूले भन्नुभयो, ‘ए उहाँ त हलेसे डाँडाको मेरो ज्वाइँ ।’ जङ्गबहादुर राईको ससुराली गाउँ अहिलेको ‘महादेवस्थान’ छेउको कात्तिके हो भने घर हालको दुर्छिम गाविसको तीन नम्बर वडा अर्थात् खिम्लेदेखि अलिकति माथि पर्ने भञ्ज्याङ हो । यसरी पुरानो हलेसी भनेर हालको दुर्छिमको वडा नम्बर १, ३ र ४ को ठाडो डाँडा ओरालोका गाउँहरूलाई चिनिन्थ्यो । किनभने त्यो नै होलेसुङको शासनको केन्द्र थियो ।

अझसम्म पनि घरघरमा सुरक्षित रहेका तमसुक, रसिदलगायतका कागजपत्रहरूले यसको पुष्टि गर्दोरहेछ । मैले आफ्नै घरमा रहेका कागजपत्रहरू हेर्दा त्यसमा ‘थुम हलेसी र हलेसी थुम’ लेखेको पाएँ । त्यसबारे जिज्ञासा राख्दा पहिलेका तालुकदार तम्बरसिंह राई र पुराना लेखापढीकर्ता सर्वधन राईले के बताउनुभयो भने ‘हलेसी थुम’ अन्तर्गत हालका च्यास्मी, महादेवथान, धितुङ, अर्खौले, सल्ले, मङ्गलटारलगायतका गाविसहरू पर्थे । यी गाउँहरू हलेसी थुमअन्तरगतका गाउँ हुन् भन्ने बुझाउन सरकारी कागजातहरूमा ‘हलेसी महादेवथान’, ‘हलेसी च्यास्मी’, ‘हलेसी अर्खौले’ आदि लेखिन्थ्यो । तर, ‘हलेसी दुर्छिम’ भनेर नामचाहिँ लेखिँदैनथ्यो । किनभने हलेसी शब्द अहिलेको दुर्छिम गाविसका लागि प्रयोग गरिन्थ्यो । कालान्तरमा हलेसी नाम महादेवथानसँग मात्र जोडिन पुग्यो र बन्यो हलेसी महादेवस्थान गाविस ।

यसरी ऐतिहासिक तथ्यका आधारमा भन्दा हलेसीको नाम होलेसुङबाट रहन गएको हो र होलेसुुुङको दरबार क्षेत्रवरपरको गाउँलाई हलेसी भनिन्थ्यो । तर, अहिले नयाँ र पुरानो दुवै हलेसीलाई उनीहरूको स्वत्वसहित चिनाउनु ऐतहासिक दायित्व हुन आएको छ । किनभने, ‘नयाँ हलेसी’ ले जुन पहिचान बनाएको छ अर्थात् जुन धार्मिक–सांस्कृतिक केन्द्रको पहिचान बनाएको छ, त्यो किरात स्वायत्त राज्यको सामाजिक–आर्थिक हिसाबले ‘नयाँ सम्भावना’ पनि हो । यसलाई भत्काउनु बुद्धिमानी हुने छैन । त्यस्तैगरी ‘पुरानो हलेसी’ ले पनि किरातहरूको ‘इतिहासको एउटा कालखण्ड र राजनीतिक शक्तिको अभ्यास’ को प्रतिनिधित्व गरिरहेको छ, त्यसलाई बेवास्ता गर्नु आफैंलाई बेवास्ता गर्नुसरह हुनेछ । त्यसकारण, पुरानो हलेसीलाई पनि व्युँताउनैपर्छ ।

होलेसुङ, सेनवंश र नागा जाति

माथि उल्लेख भइसकेको छ– सेन र मकवानबीचको युद्धमा सेनको तर्फबाट सहभागी भएका होलेसुङ लामो समयपछि (दुई÷तीन वर्षपछि) मात्र घर फर्किएका थिए । त्यसो भए सेन र मकवानबीच कहिले युद्ध भएको थियो त ? ज्ञानमणि नेपाल (नेपालनिरुपण, २०५५, पृष्ठ २८९–२९१, प्रकाशक : नेपाल प्रज्ञाप्रतिष्ठान) का अनुसार पश्चिम कर्णाली प्रदेशका सिञ्जाली खस मल्ल राज्यहरू विभिन्न टुक्रामा विभाजित भएपछि सोह्रौं शताब्दीको अन्तिम चरणमा पाल्पाका मुकुन्द सेनको उदय भयो । उनले पूर्वी नेपालका सम्पूर्ण भू–भाग कज्याएका थिए । तर छोरा, नाति र पनातिको पालासम्म आइपुग्दा यो राज्य विजयपुर (पल्लोकिरात), चौदण्डी (माझकिरात) र मकवानपुर (वल्लोकिरातको चुरेभित्रको दून र महाभारतको कोसीसम्म) मा विभाजित हुन पुगेको थियो ।

बूढापाकाहरूले भन्ने गरेको ‘सेन र मकवानबीचको युद्ध’ चौदण्डीका रूपमा विभाजित हुनुपूर्वको विजयपुरका शासक हरिहर सेन तथा उनका जेठा छोरा छत्रपति सेन एकापट्टि र अर्कोपट्टि हरिहर सेनकै कान्छा छोरा अर्थात् मकवानपुर राज्यका शासक शुभ सेनबीचको युद्ध थियो । उनीहरूबीच पहिलो युद्ध विजयपुरले मकवानपुरमाथि आक्रमण गरेपछि विक्रम संवत् १७२८ मा भएको थियो तर काठमाडौंका तत्कालीन मल्ल राजाहरूको सहयोगमा शुभ सेनले युद्ध जिते । उनीहरूबीच लगत्तै अर्को वर्ष पनि सिन्धुलीमा युद्ध भयो, जसमा पनि पाटनका मल्ल राजाको सहयोगमा शुभ सेनले नै जिते । यी दुवै युद्धमा सहभागी हुनुपरेकै कारण होलेसुङ ढिला घर फर्किए । यो घटना आजभन्दा ३४१–४२ वर्षअघिको हो । र, त्यसबखत होलेसुङको उमेर ५० वर्ष थियो भनेर मान्ने हो भने हलेसी भेगमा हालका चाम्लिङ राईहरू लगभग ४०० सय वर्षअघि बसोबास गर्न सुरु गरेका थिए । यसमा थप दिक्तेलको मझुवाबाट आए भनिएको होलेसुङका पिता होमैखुङको उमेर पनि ५० वर्ष नै मान्ने हो भने हलेसी भेगमा चाम्लिङ राईहरू ४५० वर्षअघि आइपुगेका थिए ।

तर स्वाभाविक रूपमा प्रश्न उठ्छ– होलेसुङले कसमाथि शासन गरे त ? अर्थात्, होलेसुङका पिता होमैखुङ हलेसी भेगमा आइपुग्नुभन्दा अघि त्यस क्षेत्रमा कसको आवादी थियो ? यसको पनि सम्भावित उत्तर फेलापरेको छ । अहिले दुर्छिम गाविसकै रातमाटेमा एक घर र राबुमा दुई घर गरी जम्माजम्मी तीन घर राईहरू छन्, जो आफूलाई होलेसुङका सन्तान मान्दैनन् । आफूलाई साक्रुमिछा भन्ने उनीहरू आफ्नो उत्पत्तिथलो होलेसुङको दरबार रहेको ठाउँ खिम्लेलाई मान्छन् । उनीहरूको ‘सामै’ ले पनि त्यसलाई पुष्टि गर्छ । उनीहरूको सामै रहेको छ– छुङ्रुमी वाताम्पुई खिम्लेटो बोखापुइ । ‘खिम्लेटो बोखापुइ’ को अर्थ हुन्छ खिम्लेमा पैदा भएको । त्यस हिसाबले हेर्दा हलेसीमा पहिलो आवादी साक्रुमिछाहरूको थियो र होलेसुङले उनीहरूलाई विस्थापन गरेर शासन गरेको अनुमान गर्न सकिन्छ ।

साक्रुमिछाहरूलाई यदाकदा नागाको सन्तान पनि भनिन्छ । नागाल्यान्डमा बत्तीस वर्ष बसेर आउनुभएको दुर्छिम गाविसको वडा नम्बर ३ (भञ्ज्याङ गाउँ) कै पदमकुमारी राईका अनुसार एकथरि नागाहरूले ‘आफूहरू नेपालबाट आएको किराती (राई) हौं’ भन्छन् रे । हलेसी क्षेत्रमा पनि प्रशस्त पाइने ठाडो गरी बनाइएका चिहानहरूमा भेटिएका पुल्लिक मालाहरू जो लिम्बूहरूले खरिद गरेर लैजाने गरेका छन्, ती तिनै धनी नागाहरूले लगाउने गरेका छन् रे । त्यसबाहेक पदमकुमारी राईसँगकै कुराकानीमा चाम्लिङ र नागाहरूको भाषामा पनि केही समानता रहेको पाइयो । नागाहरूको चिहानमा पाइने पुल्लिक मालाहरूका आधारमा भन्दा यो जाति प्राविधिक ज्ञानको हिसाबले निकै उन्नत थियो । स्थानीय भनाइअनुसार उनीहरू ठूलो खडेरीका कारण बसाइँ सरेका थिए । बसाइँ जाने नागाहरू ‘निरले–दाम्दले’ थिए भन्ने भनाइ अहिले पनि हलेसी क्षेत्रमा सुन्न पाइन्छ । त्यस्तो उत्पात मच्चाउने खडेरी कहिले आएको थियो होला, यसै भन्न सकिन्न । तर, बसाइँ नगएका नागाहरू साक्रुमिछा हुन् कि भनेर अनुमानसम्म चाहिँ गर्न सकिन्छ । ‘हलेसी’ मा नागाहरूले छाडेको इतिहासको छाप विभिन्न रूपमा भेट्न सकिन्छ ।

मुदुमी आधारमा भन्दा हलेसी क्षेत्र (तुवाचुङ–जायजुमडाँडा) किराती सभ्यताको आदिथलो हो भने हलेसी गुफा किराती सभ्यताका आदिपुर्खाहरू तयामा, खियामा, रैछाकुले (हेत्छाकुप्पा/खोक्चिलिपा) को निवासस्थान । त्यस्तै, हलेसी किरातीहरूको राजनीतिक सत्ता र शक्तिको अभ्यासको थलो पनि हो । एक वाक्यमा भन्दा हलेसी किराती सभ्यताको आदिथलो, पुर्खाको निवासस्थल र सत्ता–शक्ति अभ्यासको राजनीतिक थलो हो ।

हलेसी विकास समिति

हलेसी गुफालाई अहिले किरात, हिन्दु र बौद्धमार्गी सबैले आ–आफ्नो सांस्कृतिक थलो मान्छन् । केही सय वर्षअघि किरातहरूले पत्ता लगाएपछि हलेसी गुफामा किरातहरूले पूजाआजा गर्थे । यसो भन्ने बूढापाकाहरू हलेसी क्षेत्रमा अझै छन् । तर, सरकारले हिन्दुहरूको मात्र स्वामित्व झल्कनेगरी ‘हलेसी महादेवस्थान विकास समिति’ गठन गरेको छ । यसलाई सबै धर्मावलम्बीको सम्मानजनक प्रतिनिधित्व हुने संरचना र नाम पनि ‘हलेसी विकास समिति’ बनाउनु अति जरुरी छ । अबको संघीय नेपालमा कुनै पनि प्रकारको सांस्कृतिक प्रभुत्वको अन्त्य हुनैपर्छ ।

तुवाचुङ : किरात उद्गमभूमि कि सभ्यता उत्पत्ति थलो ?

तुवाचुङ जायजुमको संरक्षणका लागि २०६५ सालमा गठन भएको संस्था हो ‘किरात उद्गम आदिभूमि तुवाचुङ जायजुम संरक्षण समिति’ । यसले पाँच/सात वर्षयता लगातार काम गरिरहेको छ तर छलफल गर्नैपर्ने कुराचाहिँ संस्थाको नाम स्वयं नै बन्न पुगेको छ । तुवाचुङ जायजुम किरात उद्गम आदिभूमि हो कि किरात सभ्यताको उत्पत्तिथलो हो ? मुदुमले तुवाचुङ जायजुमलाई किरात सभ्यता (कपडा बुन्ने, विवाह प्रणाली, साकेला, कृषि आदि) को उत्पत्तिथलो मानेको छ, किरातहरू नै उद्गम भएको थलो मानेको छैन । त्यसैले तुवाचुङ जायजुमलाई ‘किरात उद्गम आदिमभूमि’ होइन ‘किरात सभ्यता उद्गम आदिम भूमि’ भन्नु सही हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार