साहित्यले हाँसी–खुसी जिउन सिकायो

दीपेन्द्र राई

सामाजिक सञ्जाल फेसबुकमा सुख–दुःखको बात मार्दै थियौं । प्रसंग अन्तै मोडियो । नेपाल फर्केपछि के गर्ने योजना बनाउनुभएको छ ? इजरायलमा कार्यरत शेर्पिनी कान्छीलाई मैले सोधेँ । प्रतिउत्तर थियो, ‘समाजसेवा ।’ समाजसेवा भन्दा त भेग भयो । यसलाई अझै निचोडमा भन्दिनु न । मैले फेरि अनुरोध गरेँ । उताबाट जवाफ आयो, ‘बाबुआमा नभएका र दुःख पाएका केटाकेटी पढाउँछु । सहाराविहीन वृद्धवृद्धाको टेक्ने लौरो बन्ने प्रयास गर्नेछु ।’

म झसंग भएँ । कति सुन्दर विचार । मानवीय संवेदना हराउँदै गएको अवस्थामा नेपालभन्दा निकै टाढा रहेकी उनको सुन्दर विचार सुनेर शब्दमै सराहना व्यक्त गरेँ । अनि मनमनै भनेँ– शेर्पिनी कान्छी तिमी चाँडै स्वदेश फर्क । तिमीजस्ती थुप्रै शेर्पिनी कान्छीहरू देशलाई आवश्यक छ । आर्थिक अवस्था उकास्न वैदेशिक रोजगारीमा गएकाले नेपाल फर्केपछि समाजसेवा गर्छु भन्ने कमै पाइएलान् । स्वदेश फर्केपछि सम्भव भएसम्म सहर–बजारमा नभए पनि सम्बन्धित जिल्ला सदरमुकाम या अलि बढी चलह–पहल हुने ठाउँमा चिटिक्क परेको घर बनाउने, बन्द–व्यापार गर्ने, छोराछोरी पढाउनेसम्मको सपना बुनेका हुन्छन् । तर, चरीकोट, दोलखाकी शेर्पिनी कान्छीले त्यस्तो सपना देखेकी छैनन् । बरु उनले चिन्ता व्यक्त गरिन्, ‘देखेको सपना पूरा गर्न सक्छु, सक्दिनँ ।’ सपना देख्नु भनेको आफूले गर्न खोजेको आधा काम पूरा गर्नु हो । शेर्पिनी कान्छीले देखेको सपना आधा पूरा भइसकेको छ । उनी इजरायलबाट नेपाल फर्केको ६ महिना भइस बाँकी कामले छिट्टै पूर्णता पाओस् ।

नागरिकताको नाम निम शेर्पा भए पनि उनलाई धेरैले शेर्पिनी कान्छी भनेरै चिन्छन् । इजरायल जानुअघि उनलाई निम शेर्पा भनेरै बोलाइन्थ्यो । इजरायल पुगेपछि निम शेर्पा शेर्पिनी कान्छीका रूपमा चिनिन थालिन् । फेसबुकको भित्ताभरि शेर्पिनी कान्छी पोखिएकी हुन्छिन्– कहिले गजल भएर त कहिले मुक्तकका हरफहरूमा ।

पछिल्लो समय उनको लेखन गजल र मुक्तक विधामा केन्द्रित छ । उल्लिखित दुवै विधामा सशक्त उपस्थिति जनाउँदै आए पनि उनले सर्वप्रथम एकांकी नाटक लेखेकी थिइन् । त्यही नाटक साथीभाइसँग मिलेर मञ्चन गरिएको थियो । त्यतिबेला नै नाटक लेखेर मञ्चन गरिए पनि उनको लेखनले निरन्तरता पाएन । नेपालमै रहँदा रेडियो, एफएम रेडियोबाट साहित्यिक कार्यक्रम सुन्नु उनको दिनचर्या नै बनिसकेको थियो । साहित्यिक कार्यक्रम सुनेर हृदयदेखि नै रमाउने उनी आफूले लेख्न थालेको धेरै भएको छैन । उनले सुनाइन्, ‘इजरायल आएपछि भने लेख्न अभ्यस्त भएँ ।’ साहित्य लेख्ने वातावरण कसरी बन्यो त ? मैले सोधेँ । भनिन्, ‘लेख्ने वातावरण बनेको होइन, आफैँले बनाएकी हुँ ।’ उनको चार गजल र तीन गीत रेकर्ड भइसकेको छ ।

कुनै पनि काम गर्नलाई वातावरण बन्ने होइन, बनाउनुपर्ने रहेछ भनेर गजलकार शेर्पिनी कान्छीको अभिव्यक्तिले प्रस्ट पारेको छ । उनको मान्यता छ, ‘प्रत्येक चीजलाई सकारात्क ढंगले हेरियो भने जे पनि सुन्दर देखिन्छ ।’ यही मान्यता सबैलाई पढाउन उनले गजल विधा रोजेकी छन् । मुक्तकको सहायता लिएकी छन् । सुरु–सुरुमा उनले पनि आत्मसन्तुष्टिका लागि लेख्थिन् । समय परिवर्तन भएको छ । परिवर्तनसँग उनको लेखनसमेत परिपक्व बन्दै गइरहेको छ । श्रम गरेपछि फलको आस नगर्ने को होलान् र । त्यस्तै साहित्य सिर्जनाकर्ममा लागेकाले पनि त केही न केही आस गरेकै हुन्छन् । तर, शेर्पिनी कान्छी यो मामिलामा पृथक छन् । उनले प्रस्ट्याइन, ‘साहित्यमा लागेर शेर्पिनी कान्छी पाएँ । हाँसी–खुसी बाँच्ने कला सिकेँ । अरू हिसाब–किताब गर्नै बाँकी छ ।’

भनिन्छ– वैदेशिक रोजगारीक्रममा नेपाली संसारभरि छरिएका छन् । यही सिलसिलामा गजलकार शेर्पिनी कान्छी पनि इजरायल पुगिन् । वैदेशिक रोजगारीका लागि इजरायलभन्दा आकर्षक गन्तव्य अरू पनि छन् । तर, उनलाई इजरायलले नै लोभ्यायो । किन ? उनले भनिन्, ‘इजरायलमा वृद्धवृद्धाको स्याहारसुसार गर्न पाइने । वृद्धवृद्धाको स्याहारसुसार गर्नु भनेको धर्म कमाउनु पनि हो । त्यही भएर यता आएकी हुँ ।’

इजरायलले निम शेर्पालाई ‘शेर्पिनी कान्छी’ को परिचय दिएको छ । छोराछोरी पढाउने खर्च जुटाइदिएको छ । छोरी याङ्जी शेर्पालाई अध्ययनका लागि अस्ट्रेलिया पठाउन इजरायलले सघाएकै हो । जेठो छोरा छिरिङ टासी शेर्पा र कान्छो दावा साङ्गे शेर्पाको पठनपाठन सहज रूपमा अघि बढाउन इजरायलले उनलाई सहज बनाइदिएको थियो । सात वर्षअघि इजरायल पुगेकी उनले छोराछोरीको पठनपाठनलाई पहिलो प्राथमिकता दिइन् । शिक्षा नै सम्बन्धित व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति हो भनेर बुझेकी उनी त्यत्तिकै सहृदयी छन् ।

उनले प्रवेश लिम्बू नेपाली तारा–३ को गीतिएल्बमका लागि ६० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । त्यतिमात्रै होइन, गायक सुमन सरगमको गीतिएल्बमका लागि ५५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । लिम्बू र सरगमको गीतिएल्बमका लागि उल्लिखित रुपैयाँ आफ्नै खल्तीबाट दिन नसके पनि सहयोग संकलन गरी उनीहरूलाई गुन लगाउन सकिन् । आर्थिक सहयोग गर्न नसक्दा उनले ‘आइडिया सेयर’ गरेरसमेत सहयोग गर्न पछि पर्दिनन् ।

समाजसेवा गर्नु भनेको काठमाडौँमा रहेको टुँडिखेलजस्तो हृदय हुनुपर्छ । विशेषतः शेर्पा जाति व्यापार, व्यवसायमा रमाउँछन् । तर, शेर्पिनी कान्छी आफूले थालेको व्यापार व्यवसाय छाडी इजरायल पुगिन् । इजरायलले उनलाई गजलकारमात्रै होइन, समाजसेवी पनि बनाएको छ । निम शेर्पाको बदलिएको परिचयमा श्रीमान् पासाङ शेर्पाको हात उत्तिकै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार