बाक्सिलाका दाइ सोलुखुम्बुमा रुँदा

मौसम उघ्रेको बेला नुनथलादेखि उत्तरतिर हेर्दा सगरमाथादेखि नुम्बुर हिमालसम्म हाँसिरहेका देखिन्छन् । मौसम उघ्रेको बेला जहिल्यै हिमाल हाँसिरहेको देखेपछि शिवसंगम राईलाई लाग्थ्यो, ‘मानिस हिमालझैँ हाँसिरहने हो भने संसार कति सुन्दर देखिन्थ्यो होला ।’

शिवसंगम राई नहाँसे पनि हाँसिरहेका देखिन्छन् । सायद उनलाई सगरमाथा र नुम्बुर हिमालले सधैँ हाँस्न सिकाएका होलान् । सगरमाथा र नुम्बुरझैँ हाँसिरहने उनी सांगीतिक ज्ञान नहुँदा पनि संगीतप्रति मरिहत्ते गर्थे । नुनथला–५ खोटाङमै रहँदा उनले मनमनै संगीतमै भविष्य खोज्ने प्रतिज्ञा गरेका थिए । भने, ‘घरका बाजेले प्रत्येक वर्ष तिहारमा मारुनी नाच लगाउनुहुन्थ्यो । केटाकेटी भए पनि मलाई त्यो नाच हेर्न साह्रै रमाइलो लाग्थ्यो । तत्काल मादल भिरेर गीत गाउँदै नाच्न मन लाग्थ्यो । सानो भएकाले रहर पूरा गर्न सक्दिनथेँ ।’ प्रस्तुत छ : नेपाली सांगीतिक आकाशका उदाउँदो गायक, संगीतकार तथा गीतकार शिवसंगम राईको सांगीतिक यात्रा उनकै शब्दमा ।

बिरालोको सिङ नउम्रे पनि गायक

मादल भिरेर मारुनी नाच्न नपाउँदा आफूलाई अभागी ठान्ने तिनै नाबालक म सानैदेखि रेडियो सिरानी हालेर सुत्थेँ। विद्यालय जाँदा रेडियोको साथ छुटे पनि अरू समय मेरो नजिकको साथी भन्नु नै रेडियो थियो । म रेडियोमा बज्ने गीत ध्यान दिएर सुन्थेँ । मैले सकेसम्म त्यस्तै गाउने नक्कल गर्थें । म ११/१२ वर्षको हुँदो हुँ । कुरै–कुरामा एक दिन काकासँग गायनसम्बन्धी छलफल भयो । कुरा गर्दा मात्रै पनि आफू गायक भइसकेको ठान्थेँ । त्यही प्रसंगमा म पनि भविष्यमा गायक बन्छु काका भन्दा उहाँले भन्नुभयो, ‘तिमी बिरालोको सिङ उम्रको दिनमात्रै गायक बन्छौ ।’ काकाले त्यसो भन्नुभएपछि घरमा भएको बिरालोको टाउकामा सिङ उम्य्रो कि उम्रेन भनेर हेरेको हेर्यै गर्थें ।

पहिलोपटक नै फस्र्ट

त्यसताका नुनथलामा निम्न माध्यमिक विद्यालयसम्मको मात्रै पढाइ हुन्थ्यो । माध्यमिक विद्यालय तह पढ्न चम्पावती बुइपा जानुपर्ने बाध्यता थियो । मैले त्यहीँबाट एसएलसीसम्मको पढाइ पार लगाएँ । विद्यालयमा प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । अतिरिक्त क्रियाकलापअन्तर्गत कहिलेकाहीँ सांगीतिक कार्यक्रमसमेत हुन्थ्यो । सांगीतिक कार्यक्रममा चाहिँ मलाई पनि भाग लिने रहर जाग्यो । शिवसंगम राईले पनि गीत गाउँछ भन्ने मेरो एक साथीलाई थाहा थियो । उनै साथीले शिवले पनि राम्रो गाउँछ नि भनेर अरू साथीलाई सुनाउँदा सुन्नेहरूले पत्याउँदै पत्याएनन् । तर, उनले प्रतियोगितामा भाग लिए । नभन्दै उनी प्रथम भए । त्यतिबेलाका चम्पावतीमा माविमा शिवसंगम राईसँग प्रतियोगितामा भाग लिनेले अहिले राष्ट्रियस्तरमै गायक–गायिकाको पहिचान बनाइसकेका छन् ।

बाक्सिलाका दाइ सोलुखुम्बुमा रुँदा

कामविशेषले सोलुखुम्बु सदरमुकाम सल्लेरी गएको थिएँ । यो ०४९ तिरको कुरा हो । वागबानी तालिम लिन त्यता जाँदा पनि गीत गाएँ । तालिम अवधिभरि मैले जानी–नजानी गीत गाएँ । मैले गाएको गीत सुनेर बाक्सिला (खोटाङ) का एक दाइ धुरुधुरु रुनुभयो । म तीनछक परेँ । मैले गाएको गीत रेडियोमा बज्दा खोटाङकै एकजना दिदीसमेत खुबै रुनुहुन्थ्यो भनेर कसैले भनेका थिए ।

काठमाडौं हिँडेको मानिस धरानमा

संवत् ०५० को अन्त्यतिर म धरान झरेँ । एसएलसीको परीक्षा लेखेपछि काठमाडौं जाने निर्णय गरेँ । काठमाडौं जान आपा र दाजैले अनुमति दिनुभएन । लाख बिन्ती गरेर आमालाई चाहिँ मनाएँ । आमाले पेवास्वरूप एक हजार एक सय रुपैयाँ साँच्नुभएको रहेछ । आमाले त्यही रुपैयाँ सुर्के थैलीबाट झिकेर दिनुभयो । त्यही खर्च बोकेर म काठमाडौं हिँडेँ । काठमाडौं हिँडेको म साथीहरूको लहैलहैमा धरान झरेँ । र, क्याम्पस धाउन थालेँ । अनि सुरु भयो असली सांगीतिक संघर्ष पनि । म धरानमा हुने सांगीतिक प्रतियोगितामा कहिल्यै गयल भइनँ । अनि कहिल्यै खालीहात पनि फर्केनु परेन ।

भगवान् आयो भगवान्

मैले लोकगीततर्फ ०५२ मा स्वर परीक्षा गरेँ । त्यसताका म धरानमै थिएँ । आधुनिकतर्फको स्वर परीक्षा भने ०५४ मा गरेँ । रेडियो नेपालको गायक भइसकेकाले रेडियोबाट गीत बज्न थालिसकेको थियो । दसैँको लामो बिदामा घर फर्कन्थेँ । घर पुग्दा नुनथला (गाउँ)की नातामा भाउजू पर्नेले मलाई देख्नासाथ भगवान् आयो भन्नुभयो । आफ्नो घरको रेडियोमा मेरै गीत बजेको सुन्दै आउनुभएको उहाँले आफ्नै अगाडि त्यही गायकलाई देख्दा उहाँले मलाई भगवान् नै ठान्नुभएछ ।

होइन भन्दा भिडन्त

दसैँमा घर फर्कंदा मजदुरी गर्न सिक्किमबाट फर्केका एक दौँतरी भतिजासँग भेट भयो । सिक्किममा काम गर्दैगर्दा एक दिन रेडियोमा मेरो गीत बजेछ र भतिजाले फुर्ती लाउँदै यो गीत मेरो काकाले गाएका हुन् भनेर सँगै रहेका साथीलाई जानकारी गराए । तर, साथीले पत्याएनन् । खानु हुनेजति सबै कसम खाए पनि नपत्याएपछि कामै छाडेर दुवैजना भिडन्त गर्न पो थालेछन् ।

मादल खस्दा हारेँ

रेयुकाइले धरानमा गरेको गायन प्रतियोगितामा प्रथम भएर अन्तिम स्पर्धाका लागि तानसेन पुगेको थिएँ । यो ०५२ को कुरा हो । मेरो गीत गाउने पालो आयो । किसनचन्द्र राईले मादल बजाउँदै हुनुहुन्थ्यो । उहाँले कम्मरमा मादल भिरेर बजाउँदै हुनुहुन्थ्यो । मैले गीतको पहिलो अन्तरा उठाउनुभन्दा अघि नै जुइनो चुँडिएर मादल भुइँमा खस्यो । त्यसपछि गीत डामाडोल भयो । मैले हार बेहोर्नुपर्यो ।

मैले ०५२ मा सरस्वती भजनबाट रेकर्ड सुरु गरेको हुँ । हालसम्म सबै विधाको गरी चार/पाँच सय गीत रेकर्ड भइसके । लोक, बाल, आधुनिक गरी ६ गीतिएल्बम सार्वजनिक भइसकेको छ । पछिल्लो समय मेरो ‘बिन्ती’ र केही समयअघि जून गीतिएल्बम सार्वजनिक भएको छ । जसमा मेरो एकल संगीत र केबी राईको स्वर रहेको छ । यसैगरी, मैले सन्देशमूलक, जागरण, स्वदेशगान, चाम्लिङ भाषालगायत अन्य राई भाषाका गीत गाउनुका साथै संगीतसमेत गरेको छु । केही डकुमेन्ट्रीमा पनि स्वर तथा संगीत दिएको छु ।

पहिचानविहीन बनाउने डर

मलाई लाग्छ– संगीत वेदना पोख्ने र मनोरञ्जन गर्ने माध्यममात्र होइन । संगीतमा अद्भुत शक्ति हुन्छ । भनिन्छ– राजनीतिले विखण्डन ल्याए संगीतले संसार जोड्न सक्छ । मेरो बुझाइ छ– नेपाली संगीत भनेको नेपालकै माटोमा फुलेका भाका हुन् । जसको महत्व बुझी अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्छ । नेपाल बहुजाति, भाषा, धर्म, संस्कृति र संस्कार भएको मुलुक भएकाले यहाँ विश्वमा नपाइने अति सुन्दर लय र भाका छन् । हामी अरूको नक्कल गर्दा आफूलाई सभ्य र गौरव ठान्छौँ । त्यो नै नेपालीको सबैभन्दा ठूलो कमजोरी हो । अरू क्षेत्रमा जस्तै नेपाली संगीतमा पनि अरूकै नक्कल गर्ने क्रम बढ्दो छ । यसले हामीलाई पहिचानविहीन बनाउन के बेर ?

हिजोआज भारत र पाकिस्तानमा सुफी संगीतको लोकप्रियता बढ्दो छ । यसको प्रभाव परजीवी नेपाली संगीतकर्मीमा नपर्ने कुरै भएन । नेपाली संगीतमा बुझेर वा नबुझेरै सुफी संगीतकार र गायकहरू च्याउ उम्रेझैँ जन्मे पनि कुनै विषयमा बुझेर नक्कल गर्दा मात्रै त्यसको सम्मान भएको ठहर्ला । खालि नक्कल गर्ने होडमा हामी सुन्दर कुराको अपमान त गर्दै छैनौँ ? यथार्थमा सुफी संगीत भनेको भारत र पाकिस्तानका इस्लाम धर्मावलम्बीले अल्लाहप्रति समर्पित भएर अति ‘हाइपिच’मा गाइने लोकगीत वा भजन हो । हो, हामीले यहाँनेर कुरा बुझ्नुपर्छ । उनीहरूले निश्चित समुदायले गाउने लोकगीतलाई कसरी आधुनिकीकरण गरी अन्तर्राष्ट्रियकरण ग¥यो त्यो नै महानता हो ।

अरूले बनाएको बाटोमा कति हिँड्नु ?

आदिगायक सेतुराम श्रेष्ठदेखि अहिलेसम्म आइपुग्दा नेपाली संगीतले ठूलै आरोह–अवरोह पार गरेको छ । पूर्वीय संगीतका उस्तादमात्रै होइन संगीतसम्बन्धी जानकार पनि नेपालमा छन् । यत्तिका समयावधिमा हामी भारतीय संगीतज्ञ विष्णुनारायण भातखण्डे र पण्डित विष्णु दिगम्बर पलुस्करद्वारा सिर्जित भातखण्डे र दिगम्बर लिपि र उनीहरूकै संगीतशास्त्रमै गौरव गर्दै आएका छौँ ।

हामीले संगीतका शास्त्र र लिपिसमेत भारतकै प्रयोग गरिरहेका छौँ । त्यसो भएपछि नेपाली संगीत कस्तो सुनिएला ? नेपालीपन कहाँ छ ? मेरो मान्यता छ– नेपाली स्वरलिपि निर्माण गर्नुपर्छ । साकेला, पालाम, सेलो, मारुनी, हाक्पारे, ठाडो आदि भाकालाई आफ्नै लिपि, शास्त्र र नियममा बाँधेर अन्तर्राष्ट्रियकरण गरियो भने नेपाली गीत–संगीतमा मौलिकता झल्कन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार