नेपाली साहित्यमा ‘महाभारत’

रामप्रसाद धिताल

महाभारत, सनातन धर्मावलम्बीको धार्मिक ग्रन्थ हो । महाभारत द्वापरयुगमा भारतवर्षको कुरुक्षेत्रमा भएको युद्धलाई आधार बनाएर संस्कृत भाषामा लेखिएको छ । भरतवंशी राजा दुश्यन्तदेखि पाण्डव स्वर्ग गएसम्मको कथालाई महर्षि व्यासले काव्यको रूप दिएका छन् । महाभारत विश्वका प्राचीनतम ग्रन्थमध्ये विशाल एवम् सर्वाधिक चर्चा पाएको ग्रन्थ हो । सनातन धर्ममा महाभारतलाई पाँचांै वेदसमेत भनिन्छ । हस्तिनापुर राज्यप्राप्तिका लागि कुरुक्षेत्रमा पाण्डव र कौरवबीच भएको युद्ध आधार समेत समेटिएको यो ग्रन्थ धर्मनीति, राजनीति, कूटनीति, समाजनीति एवम् मोक्षनीतिको संगम मानिन्छ । महाभारत अठार पर्वमा विभक्त छ । महाभारतलाई आधार बनाएर नेपाल र भारतमा मात्र होइन पश्चिममा समेत थुप्रै कृति तयार भएका छन् ।

श्लोकयुक्त महाभारतलाई अहिलेसम्मकै विश्वको सबैभन्दा विशाल महाकाव्य मानिएको छ । महाभारतभित्र रहेको श्रीमद्भागवत गीता विश्वकै सर्वाेत्कृष्ट दर्शन मानिन्छ । नेपाली जनजीवनमा संस्कृत भाषा बोलीचालीको भाषामा प्रयोग हुने समयमा यी ग्रन्थहरू मूल ग्रन्थ नै वाचन गरिन्थे । तर, जब बिस्तारै संस्कृतप्रति मानिसको पहुँच घट्दै गयो त्यसपछि यी ग्रन्थहरू नेपाली भाषामा अनुवादित हुन थाले । त्यसबेला संस्कृत श्लोक वाचन गर्ने र संस्कृतबाट अर्थ लगाउने गरिन्थ्यो । हिजोआज पनि घरघरमा संस्कृत महाभारत पाठ गर्ने गर्छन् । तर, उद्देश्य धार्मिक र आध्यात्मिक शान्तिका लागि हुने गर्छ । कतिपयले अध्ययन अनुसन्धानका लागि पनि संस्कृत ग्रन्थको सहारा लिने गर्छन् ।

नेपाली, हिन्दी, मैथिलीजस्ता भाषामा काव्यकै रूपमा अनूदित भयो भने पछि बिस्तारै अन्य भाषामा पनि गद्यका रूपमा अनूदित हुँदै गयो । अझै पनि गाउँघर कुनाकन्दरामा महाभारतका भाषा पुस्तकका ठेली रहेको पाउन सकिन्छ । यी पुस्तकहरू छन्दशास्त्रका सामान्य ज्ञाताले बेलाबेलामा लयबद्ध गरी पढेको सुन्न पाइन्छ ।

प्राथमिककालका केही कविले महाभारत र रामायणका केही अंश अनुवाद गरी समाजमा ल्याएका थिए । आदिकवि भानुभक्त आचार्यको रामायणको लोकप्रियतासँगै नेपाली साहित्यमा रामायण, महाभारत आदि ग्रन्थको नेपाली भाषामा अनुवाद गर्नेक्रम बढ्यो ।

नेपाली साहित्यमा अहिलेसम्म पाइएका कृतिहरूमध्ये प्राथमिककालीन कवि शक्तिवल्लभ अज्र्याललाई महाभारतको प्रथम अनुवादकर्ताका रूपमा लिइन्छ । उनले विराटपर्व १८२७ मा लेखेका थिए । माध्यमिककालका होमनाथ खतिवडाले महाभारतका कतिपय पर्वलाई प्रकाशनमा ल्याएका छन् । उनले विराटपर्व, सभापर्व (१९६३) अनुवाद गरेका थिए । अर्का कवि वैयाकरण नेपालले रचेका महाभारतअन्तर्गत विराटपर्व व्रतमाला (१९६१) महत्वपूर्ण मानिएको छ । भोजराज शर्माले १९६० मा महाभारत द्रोणपर्वको अनुवाद गरेका थिए । अर्का कवि हरिविक्रम थापाले १९६२ मा कर्णपर्वको प्रकाशन गरेका थिए ।

यसैगरी, कवि सदाशिव शर्मा अर्यालले १९६४ मा मौसलपर्व प्रकाशनमा ल्याएका थिए । दैवज्ञ गौरवप्रसाद अर्यालले १९६२ मा महाप्रास्थनिक पर्व र मौसलपर्व प्रकाशनमा ल्याएका थिए । अर्का कवि शिखरनाथ सुवेदीले पनि महाभारतको कर्णपर्व प्रकाशित गरेका छन् ।

माध्यमिककालीन (१९४०–१९७४) अर्का कवि कुञ्जविलास गौतमले पनि महाभारतका विभिन्न पर्वको अनुवाद गरी प्रकाशनमा ल्याए । उनका १९५७ मा प्रकाशित शल्यपर्व र १९६० मा प्रकाशित गदापर्व, स्त्रीपव, सौप्तिकपर्वलगायतका ग्रन्थ उल्लेख्य छन् । अर्का कवि केदारनाथ खतिवडाले स्वर्गारोहणपर्व र सौप्तिकपर्व (१९५७) प्रकाशित गरे । अर्का विद्वान् कृष्णप्रसाद रेग्मीले पनि महाभारतका आदिपर्व, उद्योगपर्व, वनपर्व १९६० मा प्रकाशित गरेका थिए ।

मकैपर्वकालीन (१९७५–१९९१) ग्रन्थमध्ये पण्डित ‘नरेन्द्रनाथकृत महाभारत १८ पर्व’ प्रमुख मानिन्छ । नेपाली साहित्यको प्राथमिक र माध्यमिककालमा कविहरूले नरेन्द्रनाथभन्दा अघि र पछि पनि महाभारतका छुट्टाछुट्टै पर्वको अनुवाद गरेका छन् तर महाभारतलाई पूरै अनुवाद गरी प्रकाशनमा ल्याउने काम भने पण्डित नरेन्दनाथबाट भयो । पछि आधुनिककालमा विभिन्न विद्वान्ले पूरै महाभारतको अनुवाद गरी प्रकाशनमा ल्याए । पण्डित नरेन्द्रनाथको यही महाभारत केही वर्षसम्म त अरूकै नाममा प्रकाशित भइरह्यो, नेपालीभाषीका घरघरमा पुगिरह्यो । यसअघि नै नरेन्द्रनाथको श्रीमद्भागवत गीता (१९७५) मा प्रकाशित भएको थियो । यसकालमा कृष्णप्रसाद रेग्मीले लेखेको श्रीदेवीभागवत (१९८६) पनि प्रख्यात रहेको छ । कवि भुवनप्रसाद ढुंगेलको श्रीमद्भागवतगीता (१९९०) पनि मकैपर्वकालीन लोकप्रिय ग्रन्थ मानिन्छन् ।

विद्वानहरूले विस्तारै ग्रन्थका विभिन्न पक्षलाई लिएर अनुवाद गर्न थाले । नेपालीकै बोलीमा सरल र सरस भाषामा लेखिएका यी ग्रन्थ लोकप्रिय बन्न थाले । नेपाली भाषामा लेखिएको महाभारत, घरघरमा पुगे । दैनिक रूपमा यी ग्रन्थहरू वाचन हुन थाल्यो । ग्रन्थ वाचन गर्नेको सीप र चतुर्याँइँबाट अनेकांै पक्षको जन्म भयो । नेपाली समाजमा गाइने भजन, चुड्का, बालन आदि पनि यिनै ग्रन्थहरू वाचन परम्पराबाट विकसित भएका हुन् । विवाह, व्रतोत्सवलगायतका श्लोक र भजन यिनै ग्रन्थबाट तयार भए । यी ग्रन्थमा भएका मूल कथामा अझ रस भरेर उनीहरूले सर्वसाधारणको मन जिते ।
हस्तिनापुरमा पाण्डवहरूको राज्याभिषेकको प्रसंग होस् वा अन्य कुनै प्रसंग तिनमा रस भरेर जनजनको मनमा आध्यात्मिक भावना जगाउन मद्दत गरे । चलचित्रमा कलाकारले अभिनयबाट लोकको मन जितेजस्तै उनीहरूले वाचनमाध्यमबाट लोकलाई प्रसंगअनुसारको भाव जगाइदिने काम गरे ।

नेपाली साहित्यमा महाभारतको प्रभाव व्यापक रूपमा रहेको पाइन्छ । महाभारतको प्रसंगमा कृष्णको दर्शन, भीष्मको त्यागशीलता, युधिष्ठिरको सत्यवादिता, भीम–अर्जुनको वीरता, शकुनीको कुटिलता, कर्णको दानशीलता आदि पक्षलाई समातेर साहित्य रचना भइरहेको पाउन सकिन्छ । अझ भन्ने हो भने साहित्यमा मात्र नभई राजनीति कूटनीतिलगायतका समाजका विभिन्न क्षेत्रमा महाभारतको प्रभाव व्यापक मात्रामा रहेको पाउन सकिन्छ । नेपाली साहित्यमा महाभारतका पात्र कृष्ण, भीष्म, कर्ण, अर्जुनजस्ता अनेकौं पात्रलाई लिएर कृति प्रकाशित भएका छन् ।

०४८/४९ सालतिर नेपाल टेलिभजिनले हिन्दी धारावाहिक टेलिसिरियल महाभारत प्रसारण गथ्र्यो । महाभारतको प्रस्तुति पनि उत्तिकै प्रभावशाली थियो । तिनका पात्रहरू जीवन्त थिए । कृष्ण बनेका नितिश भारद्वाजलगायतको प्रशंसा हुन्थ्यो । महाभारतपछि पनि अन्य निर्माताले बनाए विभिन्न हिन्दी टेलिभिजनमा प्रसारण भयो र भइरहेका छन् तर पहिलेको महाभारतले जति प्रभाव छोड्न सकेनन् । हिन्दी सिनेमाजगत्मा महाभारतका विषयवस्तु र पात्रलाई लिएर अनेकौं चलचित्र बनेका छन् । नेपालमा भने महाभारतको विषयवस्तु वा पात्रलाई लिएर कुनै चलचित्र बन्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार