राजा महेन्द्रले बीपीलाई भने– तर, तपाईं प्रधानमन्त्री हुनुपर्छ

नगेन्द्रराज रेग्मी

बीपी कोइरालाको राजनीतिक व्यक्तित्व र साहित्यिक योगदानबारे थुप्रै चर्चा–परिचर्चा भइसकेका छन् । उनको जीवनी र आत्मकथा पनि प्रकाशित नभएका होइनन् । यसबाट बीपीका अझ धेरै निजी र कतिपय गोप्य कुरा पनि थाहा पाउन सक्छौं । बीपीले आफ्नो राजनीतिक यात्राक्रममा थुप्रै चिट्ठी आदान–प्रदान गर्थे । देशको एउटा शीर्ष राजनीतिक व्यक्तित्वले विभिन्न कालखण्डमा गरेका पत्राचारले देशको तत्कालीन परिस्थिति बुझ्नसमेत ठूलो मद्दत पुर्याउँछ । अतः बीपी र उनका निकटका व्यक्तिले गरेका पत्राचारलाई यहाँ केही उल्लेख गर्ने प्रयास गरिएको छ ।

आफ्ना विचार, भावनाअनुरूसमक्ष पुर्याउने एउटा सशक्त साधन अथवा माध्यम हो– पत्र । पत्रको माध्यमबाट कुनै पनि कुराको वस्तुस्थिति आफूले चाहेको दोस्रो स्थान तथा व्यक्तिसमक्ष पुर्याउन सकिन्छ । नेपालको इतिहासमा राजा/महाराजा तथा राजनीतिज्ञ र प्रधानमन्त्रीहरूका पत्रको अझ आफ्नै महत्व हुने हुँदा त्यसबारे सबैलाई चासो र जिज्ञासा पैदा हुनुलाई स्वाभाविक मानिन्छ । जसले पत्र राजनीतिका रूपमा नेपालको इतिहासमा ठूलो महत्व राखिआएको छ ।

बीपी कोइराला नेपाली राजनीतिका एक शिखर पुरुष हुन् । अतः उनले र उनलाई अरूले लेखेका पत्रको आफ्नै महत्व र गरिमा रहने गर्छ । २००७ सालमा राणा शासन फालिएर प्रजातन्त्र उदय भएपछि पनि २०१७ सालसम्मै राजा र राजनीतिक दलबीच समय/समयमा विभिन्नखाले बेमेल तथा खटपट भइरहेको थियो । यही समयमा तत्कालीन राजा महेन्द्रले बीपीलाई एउटा यस्तो पत्र लेखेका थिए, जसले त्यो बेलाको राजनीतिक परिस्थिति र राजाको नियतबारे बुझ्न मद्दत पुर्याउँछ ।

प्रिय विश्वेश्वर बाबु,
अस्ति तपाईंसँग कुरा हुँदा सरकार तपाईंलाई दिने भनेर मैले भनेको थिएँ । पछि विचार गर्दा लाग्यो, तपाईंहरूको जस्तो ठूलो पार्टीको सम्मानका निम्ति चुनावबाट तपाईंहरूको स्वागत गर्न पाउँदा मेरो पनि इज्जत हुने र तपाईंहरूको पार्टीको पनि इज्जत हुने हुनाले मैले अर्कै व्यवस्था गर्न आँटें । त्यो बुझिदिनुहोला । धन्यवाद ।
तपाईंको
–महेन्द्र

नेपाली कांग्रेसलाई सरकार बनाउन दिने भन्ने निश्चितप्रायः भइसकेपछि तत्कालीन राजा महेन्द्रबाट बीपीलाई यस्तो पत्र (आत्मवृत्तान्त, पृष्ठ २०१) प्राप्त हुन्छ । यसले राजा र बीपीको दूरी अझ बढाउने काम गर्छ । बीपीले यसबारे स्पष्ट पार्दै भनेका छन्, ‘मैले सबैलाई हेरिसकें । अरू कोही कामलाग्दा रहेनछन् । अब म तपाईंलाई बोलाउँछु, सरकार बनाउनलाई, तपाईंले स्विकार्नुपर्छ ।’ यसरी राजाले भनेपछि मैले भनेंं, ‘हाम्रो त न्यायसंगत अधिकारै हो । सरकारले अहिलेसम्म नमानेरमात्रै हो । होइन भने हामी सरकार किन बनाउँदैनौं ?’ बीपीको प्रत्युत्तरमा राजाले भने, ‘तर, तपाईं प्रधानमन्त्री हुनुपर्छ ।’ यसरी वार्तालाप भएको दुई–चार दिन नबित्दै यस्तो पत्र महेन्द्रबाट प्राप्त हुँदा उहाँ छक्क, खिन्न र निराश हुन पुगे । अतः यी केवल पत्रमात्र नभएर अभिलेख हुन्, ऐतिहासिक दस्तावेज हुन् । यिनीहरूको उच्च मूल्यांकन र संरक्षण हुनुपर्छ ।

पत्रकै कुरा गर्दा बीपी जेलमा रहँदा उनले अनशन गर्ने बेलामा पूर्णबहादुर एमएलाई लेखेको पत्र, शैलजा आचार्य, रमेशनाथ पाण्डे, तारिणीप्रसाद कोइराला, रोशा तथा गिरिजाप्रसाद कोइरालालाई लेखेका पत्र तथा निर्वासनका समयमा भारतीय प्रमुख नेता तथा प्रधानमन्त्रीले बीपीलाई लेखेका र बीपीले प्रत्युत्तर पठाएका पत्र निकै गहन र रोचक देखिन्छन् । जेलमा रहँदा यस्ता पत्राचार गर्न हाम्रा नेतालाई निकै ठूलो संघर्ष गर्नुपथ्र्यो । त्यसैले कतिपय कुरा सांकेतिक रूपमा उल्लेख गर्नुपर्ने त कागजकापीको समस्या पर्ने हुँदा जेलभित्र खान मगाएका बिस्कुट र चुरोटका खोलमा पत्राचार गर्नुपर्ने स्थिति पनि थियो । यसले गर्दा त्यस्ता स–साना चिर्कटो हराउने र लामो समयसम्म सुरक्षित र संरक्षित गर्न नसकिएको स्थिति पनि स्वाभाविक लाग्ने गर्छ । बीपीले धेरैपटक, धेरै घटना–सन्दर्भमा भारतीय प्रधामनन्त्री जवाहरलाल नेहरू, जयप्रकाशनारायण, राममनोहर लोहिया, चन्द्रशेखर र देवेन्द्रबाबुहरूसँग पत्राचार गर्ने गरेका थिए । यी पत्रमा नेपालको निरंकुश एकदलीय पञ्चायती व्यवस्था र प्रजातन्त्र प्राप्तिका लागि गर्नुपर्ने पहलकदमीबारे नै बढी व्याख्या, विश्लेषण हुने गर्थे । अतः यस्ता पत्रको संरक्षण, संकलन र अभिलेख राख्न सकिएमा देशको राजनीतिक इतिहास अध्येतालाई समेत राम्रो खुराक प्राप्त हुनसक्ने कुरा निर्विवाद छ । अझ बीपी कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको टोपी र मैला दौरासुरुवालको पार्सलसहित पठाएको पत्रले कत्रो साहस, राजनीतिक चेत र नेपालीको आर्थिक दुरावस्थालाई दर्शाउँदै व्यंग्य गरेको थियो । यो नेपालको इतिहासमा अभिलेख रहिसकेको घटना हो ।

युगोस्लाभियाका उपराष्ट्रपति ऐलेस बेब्लरले बीपीलाई, बीपीले जयप्रकाशनारायणलाई, जयप्रकाशनारायणले राजा वीरेन्द्रलाई र वीरेन्द्रले पुनः जयप्रकाशनारायणलाई लेखेको पत्र (बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व : भोला चटर्जी)ले पनि तत्कालीन नेपालको राजनीतिक परिदृश्यलाई बुझ्न सघाउ पुर्याउँछ । त्यसो त बीपीसँग अन्तर्राष्ट्रियस्तरमा यस्ता पत्राचार केवल युगोस्लाभियाका बेब्लरसँग मात्र सीमित थिएन । विभिन्न राष्ट्रका राष्ट्र तथा सरकारप्रमुख, हितैषी मित्र, राजनीतिज्ञसमेत यसमा पर्थे । आफ्नो वरिपरिका उपमहाद्वीप र मित्र त थिए नै, युरोप, अमेरिकाजस्ता महत्वपूर्ण र शक्तिशाली राष्ट्रका व्यक्तिसँग पनि उनको व्यक्तिगतस्तरमा सम्बन्ध कायम भई पत्राचार हुने गरेका थिए ।

युगोस्लाभियाका उपराष्ट्रमन्त्री बेब्लर नेपाली कांग्रेस र राजा वीरेन्द्रबीच मेलमिलाप हुनुपर्छ भन्ने सोचाइ राख्थे । सन् १९७२ मा उनी काठमाडौं आई झन्डै एक हप्ता बसी कलकत्ता पुगेर त्यहाँबाट बीपीलाई वनारसमा पत्र लेखी नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराएको थियो । यो पत्र हेर्दा बीपी र कांग्रेसप्रति मात्र नभएर उनी प्रजातन्त्र र नेपालप्रति पनि उत्तिकै इमानदार तथा भलो चिताउने व्यक्ति रहेछन् भन्ने बुझिन्छ ।

सूर्यबहादुर थापासँग आफ्नो भेट भएको कुरा उल्लेख गर्दै उनले पत्रमा लेखेका थिए, ‘थापाले मलाई भन्न खोजेका कुरा राजाले तपाईंलाई पठाउन खोजेको सन्देशजस्तो लाग्छ । उनले मलाई एकान्तमा भेट्न कर गर्नु, मेरो होटलमा एक्लै भेट्न आउनुको अर्को कुनै अर्थ हुनै सक्दैन । उनले संसद्मा दिएजस्तै गरी भाषणै दिए’ भनेर उनले चारवटा बुँदा बीपीलाई जानकारी गराएका छन् । थापा र भारतीयको कुराबाट आफू राम्ररी प्रभावित भएको कुरा उल्लेख गर्दै अगाडि भनेका छन्, ‘.. यो मौकाको उचित प्रयोगका लागि तपाईं आफ्नै देशमा हुनु अति जरुरी छ । तपाईंका सबै साथी, कांग्रेसका साथीहरू, संघर्षको मार्गमा तपाईंको अनुपस्थिति ठूलो बाधक ठान्छन् । तपाईंको स्थान लिनसक्ने काठमाडौंमा कोही पनि छैनन् । त्यसैले मेरो बलियो धारणा के छ भने तपाईंले स्वदेश फिर्तीका लागि ठूलो मूल्य (राजनीतिक) चुकाउनसमेत तयार हुनुपर्छ ।’ भारतीय राजदूतले स्पष्ट शब्दमा के भनेका छन् भने तपाईंले मेलमिलापपूर्ण वक्तव्य दिएर स्वदेश फर्कनुभयो भने कुनै खतरा रहने छैन । थापाको भनाइ पनि त्यस्तै थियो । बेब्लरले राजासँग मध्यस्थ गर्न सूर्यप्रसाद उपाध्यायलाई प्रयोग गर्न पनि सुझाव दिएका छन् । अतः लाग्छ– बीपीको मेलमिलाप नीतिको आधारभूमि पनि कतै यो पत्र नै पो थियो भन्ने महसुस हुन्छ । यो पत्रले त्यतिखेरको राजनीतिक अवस्था र पार्टीप्रति सरकारी रवैया केही हदसम्म बुझ्न सघाउ पुर्याउँछ ।

यस्तै अर्को एक पत्रबारे पनि केही चर्चा गर्नु यहाँ प्रासंगिक ठहर्छ । त्यो हो– राजा वीरेन्द्रसमक्ष जयप्रकाशनारायणले ५ फेबु्रअरी १९७२ मा भारतको कदमकुवा पट्नाबाट पठाएको पत्र । यसमा तत्कालीन पञ्चायती व्यवस्थामा परिवर्तन गरी देशमा प्रजातान्त्रिक शासन व्यवस्था अँगाल्न राजा वीरेन्द्रसमक्ष भारतीय नेता जयप्रकाशनारायणले अनुरोध गरेका थिए । यसको प्रत्युत्तरमा राजा वीरेन्द्रले पनि १२ मार्च १९७२ मा जयप्रकाशनारायणलाई बहाल रहेको पञ्चायती व्यवस्थाको आफ्नै गरिमा र महत्ता प्रस्ट्याउँदै यो व्यवस्थाको विस्थापन होइन, सुधारको आवश्यकता औंल्याएका थिए । यसरी राजा वीरेन्द्र र जयप्रकाशनारायणका यी दुवै पत्र आदानप्रदानको जानकारीमात्र होइन, प्रतिलिपिसमेत पाएपछि बीपी अत्यन्त निराश भए । पञ्चायती व्यवस्था परिवर्तनको झिनो आशामा रहेका बीपीको सम्भावनामाथि गम्भीर आघात पुग्छ अनि राजाको पत्रको विश्लेषण गर्दै खिन्न भएर वाराणसीबाट ४ अप्रिल १९७२ मा बीपी जयप्रकाशनारायणलाई यस्तो पत्र लेखे ः

 

मेरा प्रिय जेपी
मैले तपाईंको पत्र र सोसाथ पठाउनुभएको श्री ५ वीरेन्द्रबाट तपाईंलाई पठाइबक्सेको पत्रको प्रतिलिपि पाएँ । राजाको पत्रले ममा ठूलो निराशा जन्माएको छ किनभने राजाबाट आफ्नो पञ्चायती व्यवस्थाप्रतिको विश्वासमा पुनः जोड दिइएको छ र नेपालको स्थितिमा यसको औचित्य प्रस्तुत भएको छ । हामी प्रजातान्त्रिक खेमाकाले के अपेक्षा गरेका थियौं भने युवा राजाबाट प्रजातान्त्रिक शक्तिका नेताहरूसँग वार्ता सुरु गरी नयाँ युग थालनी हुनेछ र अधिकारसम्पन्न प्रजातान्त्रिक संस्थाहरूको विकास सुरु हुनेछ । यसो गर्नुको साटो राजाबाट जनसमर्थन पटक्कै नभएको एवं अफसल सिद्ध भइसकेको व्यवस्थाको निरन्तरताका लागि औचित्य खोजी गर्ने प्रयास भइरहेको छ । नेपालको राष्ट्रिय पहिचान, सोपानबद्ध समाज, जीवनपद्धति आदि किसिम/किसिमका आधारमा औचित्य खोजिएको छ । .. राजा र सुवर्णबीच भेटघाट भयो नै भने पनि म यस अवस्थामा त्यस भेटबाट फलदायी, उपलब्धि हासिल हुनेजस्ता सकारात्मक कुराको कुनै अपेक्षा गर्न सक्दिनँ । … माथि जे भनिएको भए पनि मेरो विचारमा तपाईंले राजासँग बोलचालको सम्बन्ध कायमै राख्नुपर्छ … तर यही पत्राचारका कारण तपाईंले छिट्टै कुनै खास आशावादी परिणाम निस्कने अपेक्षाचाहिँ गर्नुहुँदैन … ।
स्नेही, विश्वेश्वर

नेपालको प्रजातान्त्रिक इतिहासमा भारतीय नेताको भूमिका महत्वपूर्ण छ । यहाँ पनि राजा र बीपीबीच मध्यस्थकर्ताका रूपमा जेपी उभिएको देखिन्छ । यसले हाम्रा नेतामा आत्मबल बढाउँदै दृढइच्छाशक्ति कायम गराउनसमेत मद्दत पुगेको थियो । त्यसबखत यसप्रकारका चिट्ठीपत्र आदान–प्रदान हुने गर्थे । बीपी स्वयंले पनि आफ्ना पत्रको महत्व दर्शाउँदै प्रशंसा गरेका छन् । आफ्ना चिट्ठीबारे स्वयं बीपी भन्छन्, ‘मेरो सबैभन्दा रुचिको विषय साहित्य थियो । मैले चिट्ठी पनि त्यही किसिमले लेख्थें । तारिणीलाई जेलमा, शैलजालाई जेलमा मैले लेखेका चिट्ठी मलाई लाग्छ– महत्वपूर्ण थिए । महिनामा एकचोटि चिट्ठी बाहिर जान दिन्थे । कस्तो नियम बनाइदिएका थिए भने बाहिरको चिट्ठी जति पनि पाउने, जहिले पनि पाउने तर भित्रबाट पठाउँदा प्रत्येक महिनाको २ गते मात्र पठाउन पाउने । जति लेखे पनि हुने, जसलाई लेखे पनि हुने तर पठाउने मिति एउटै हुनुपर्ने । बाहिरबाट आउने चिट्ठी जहिले आयो, सेन्सर गरेर पठाउँथे । .. जति चिट्ठी हामीलाई आउँथे, बडो उच्चकिसिमका हुन्थे । त्यहाँ सबैजना त एउटै उचाइमा थिए, त्यागका कारणले । … मैले शैलजालाई कति चिट्ठी लेखेको थिएँ, ती चिट्ठीहरू त कहाँ गए कहाँ ? बडो मूल्यवान् चिट्ठी थिए । मैले रोशालाई लेख्थेंं । रोशालाई अलि घरेलुकिसिमबाट लेख्थें, अलि विनोदयुक्त हुन्थे । शैलजालाई दार्शनिक किसिमबाट लेख्थें । यही रमेश (रमेशनाथ पाण्डे) सँग पनि कति चिट्ठी छन् ।..’ (आत्मवृत्तान्त, पृष्ठ २९४)

यसरी बीपी जेलमा बस्दा बाहिरको संसार बुझ्न अब भावी रणनीति के बनाउने ? भन्नेबारे आफ्नो र बाहिर बसेका साथीहरूसँग विचारको विनिमय गर्न त्यसबखतका पत्रले ठूलो भूमिका निर्वाह गरेको देखिन्छ । यसले गर्दा जेलका कठोर र निरश यात्रामा पनि आशा र उत्साहको सञ्चार गराएको महसुस स्वयं बीपीले धेरै ठाउँमा गरेका छन् । त्यसैले उनी यता धेरै रोशाको चिट्ठी आएन । उनका चिट्ठी र चिट पाइरहँदा बाहिरको जीवनसँगको सम्बन्धको त्यान्द्रो कायम नै छ भन्ने भर हुन्छ । तर, उनको पनि यति चिट्ठी आएन …’ (जेल जर्नल, पृष्ठ ८८) भन्दै निराश र खिन्न भएका छन् भने कतै पत्र पाएकोमा धेरै खुशी र उत्साहित पनि देखिन्छन् । बीपीले आफ्नी भाइबुहारी रोशा कोइरालाबाट धेरै खबर र सूचना जेलमा पाउने गरेको कुरा थाहा हुन्छ । शैलजासँग पनि धेरै आशा र भरोसा गरेको देखिन्छ बीपीले । त्यस्तै रमेशनाथ पाण्डेसँग पनि उनीहरूका थुप्रै चिट्ठीपत्र आदान–प्रदान भइरहने गथ्र्याे । पाण्डेलाई उनले धेरै ठाउँमा विश्वास र प्रशंसा गरेका छन् । त्योबाहेक पत्नी सुशीला कोइराला, पुत्रहरू प्रकाश, सशांक तथा सुशील कोइराला, नीरु आदिसँग पनि जेलमा बीपीसँग चिट्ठीपत्र आदान–प्रदान हुने गरेका थिए ।
शनिवारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार