सहृदयी सर्जन

दीपेन्द्र राई

जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएका सबैले काठमाडौंसम्म पुगेर उपचार गराउन सक्दैनन् । वास्तविकता थाहा पाएपछि उनीहरूकै गाउँठाउँसम्म पुगेर शल्यक्रिया गर्ने अभिप्रायसहित डा. शंकरमान राईले त्रिवि शिक्षण (टिचिङ) अस्पतालको जागिर छाडे । छँदाखाँदाको जागिर छाडेर डा. राई प्लास्टिक सर्जरीका लागि गाउँगाउँ पुगेपछि जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाले नयाँ जीवन पाएका छन् ।

‘सालिन्दा ?,’ प्लास्टिक सर्जन डा. राईले जानकारी गराए, ‘मुलुकभरि खुँडे र तालु फाटेका सात सयजनाको प्लास्टिक सर्जरी गरिन्छ ।’ अधिकांश शल्यक्रिया काठमाडौंबाहिर गरिन्छ । विराटनगर, वीरगन्ज, बुटवल, चितवन, पोखरा, नेपालगन्ज र धनगढीसहित सात ठाउँमा गरिने शल्यक्रियामा सालिन्दा आगोले पोलेर अंगभंग भएका ६ सयजना लाभान्वित हुन्छन् । आगोले पोलेर अंगभंग भएकाको शल्यक्रियामध्ये २० हजार रुपैयाँबराबरको एउटा शल्यक्रिया निःशुल्क गरिन्छ । आर्थिक अवस्था कमजोर भएकाको हकमा आगोले पोलेकाको उपचार निःशुल्क गरिन्छ । आगोले पोलेकामा अधिकांश महिला र बालबच्चा हुन्छन् ।

खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाको शल्यक्रिया खर्चिलो हुन्छ । गरिबका डाक्टर भनेर चिनिएका राईका अनुसार त्यसमध्ये खुँडे, तालु फाटेकाको शल्यक्रिया खर्च रिसर्च इन्टरनेसनलले बेहोर्दै आएको छ ।
२२ वर्षअघिसम्म विदेशी डाक्टर नेपाल झिकाएर प्लास्टिक सर्जरी गरिन्थ्यो । हिजोआज टिचिङ, वीर, बी एन्ड बी, सुष्मा मेमोरियललगायत कीर्तिपुर अस्पतालमा प्लास्टिक सर्जरी विभाग खुलेका छन् । त्यतिमात्रै होइन, कीर्तिपुर अस्पतालले नेपालमै प्लास्टिक सर्जन उत्पादन गर्न तालिम दिँदै आएको छ । यस काममा प्लास्टिक सर्जन डा. शंकरमान राईको योगदान महत्वपूर्ण छ ।

सन् १९९५ मा डा. राईले अमेरिकाबाट प्लास्टिक सर्जरी तालिम पूरा गरे । उनले २२ वर्षको अवधिमा २२ हजारभन्दा बढी जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएका अधिकांशको गाउँघरसम्मै पुगेर प्लास्टिक सर्जरी गरेका छन् । जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाका लागि उनी वरदान हुन् । उनकै नेतृत्वमा प्लास्टिक सर्जरीले ठूलै सफलता पाएको छ । उनले अनुरोध गरे, ‘म एक्लैले सम्भव थिएन । हाम्रो समूहले काम गरेको हो । हामीले जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौं । त्यसैले यसलाई सफलता ठान्नु भएन ।’

प्लास्टिक सर्जरी टिममा सात सर्जन, सात ट्रेनी सर्जन र स्पीच थेरापिस्टसहित ५० जना छन् । टिममा रहेकामध्ये शंकरमान राई र किरण नकर्मीलाई प्लास्टिक सर्जरीका लागि विदेशबाट निम्ता आइरहन्छ । राई र नकर्मीबाहेक अन्य सर्जनलाई समेत प्लास्टिक सर्जरीका लागि विदेश पठाउने कोसिस गर्दै गरेको डा. राईको स्वीकारोक्ति छ । डा. राईले दक्षिण अमेरिका, पेरु, इक्वेडर, बंगलादेश, भियतनाम, चीन, अफ्रिका र भारतसम्म पुगेर प्लास्टिक सर्जरी गर्दै आएका छन् । उल्लिखित देशका अस्पताल र संघ–संस्थाको निम्ता मान्दै उनले आफ्नो विज्ञता र क्षमता प्रदर्शन गर्न जाँगर चलाएकै छन् । भने, ‘विदेशका कतिपय चिकित्सक नेपाल आएर प्लास्टिक सर्जरीसम्बन्धी तालिम लिइरहेका छन् ।’

सन् २००४ मा डा. नाथन डेभिस इन्टरनेसनल अवार्डमा प्राप्त २० हजार अमेरिकी डलर गरिब बालबालिकाको उपचारमा खर्चेका डा. राईले धेरैलाई नयाँ जीवन दिएका छन् । आफैंले उपचार गरेका सम्बन्धित बिरामी र आफन्तको अनुहार उज्यालो देख्दा उनी कम्ती खुसी छैनन् । ‘त्यतिबेला पाथी भात खाएजस्तो हुन्छ,’ उनी भन्छन्, ‘नयाँ जीवन पाएका बिरामी र उनका आफन्तले यति धेरै भन्न खोजेका हुन्छन् कि शब्दमा व्यक्त गर्नै सक्दैनन् । नेपाली कल्चरमा केही भनिरहनै पर्दैन । मुखैले नभने पनि बुझिन्छ ।’

अमेरिकाबाट प्लास्टिक सर्जन भएर टिचिङ अस्पताल फर्केका राईले त्यतिबेला सातामा एक दिनमात्रै सर्जरी गर्न पाउँथे । सातामा एक दिनको सर्जरीले चित्त बुझाउन सकेनन् । धेरैभन्दा धेरैको प्लास्टिक सर्जरी गरेर नयाँ जीवन दिन लोभिएका राई गाउँघर पस्थे । बिदा लिएर गाउँ पसेकै वर्ष उनले खुँडे र आगोले पोलेका १५ सय बिरामीको प्लास्टिक सर्जरी गरेपछि बिरामी र आफन्तको आशिर्वचन पाए ।

बाल्यकालमा इन्जिनियर बन्ने सपना देखेका डा. राई चिकित्सक नभएको भए कृषिकर्ममा भेटिइन्थे रे । प्लास्टिक सर्जरीमा उनले जुन सफलता पाएका छन्, त्यसपछिको पृष्ठभूमिले त्यत्तिकै काम गरेको हुन्छ । ‘अप्रेसन थिएटरको काम सकेर बाहिरिँदै गर्दा टिचिङ अस्पतालको अर्को अप्रेसन थिएटरमा विदेशी चिकित्सकको टिमले शल्यक्रिया गर्दै गरेको देखें । केको गरेको रहेछ भनेर हेर्दा शल्यक्रिया गर्ने टेबलमाथि सानो बच्चा सुताइएको देखें । बच्चालाई बेहोश बनाइएको थियो । उनको ओठ काटिएको रहेछ । बच्चाको शल्यक्रिया कसरी गर्दारहेछन् भनेर ध्यानपूर्वक हेरें । झन्डै ४५ मिनेटमा शल्यक्रिया सकियो । ४५ मिनेटअघि र पछिको बच्चाको रूप कल्पनै गर्न नसकिनेगरी परिवर्तन भएको थियो । यो सन् १९९२ को कुरा हो,’ सन् २००७ मा अन्तर्राष्ट्रिय स्माइल टर्न हिरो अवार्ड विजेता डा. राईले अतीत सुनाए, ‘वाउ ! मैले पनि यस्तै शल्यक्रिया गर्न पाए हुन्थ्यो भनेर परिकल्पना गरें । शल्यक्रियामा प्रयोग गरिएका सामान हेरें । सामान एकदम थोरै थिए । मैले पनि यस्तो शल्यक्रिया गर्न जाने गाउँगाउँ पुगेर अप्रेसन गर्न सक्थें । त्यति सामान आफैंले झोलामा बोकेर शल्यक्रिया गर्न जहींतहीं पुग्न सक्थें ।’

 

शल्यक्रिया गर्न अमेरिकाबाट चिकित्सक आएका रहेछन् । डा. राईले आफ्नो परिचय दिँदै आफूलाई पनि सिकाउन अनुरोध गरे । अमेरिकी चिकित्सकले प्लास्टिक सर्जरी सिक्न चाहनेको खोजिरहेका थियौं भन्दै खुसी व्यक्त गरे । उनीहरू प्लास्टिक सर्जरी गर्न इन्टरप्लास्ट नामक संस्थाबाट नेपाल आएका रहेछन् । त्यो संस्थाको नाम परिवर्तन भएर रिसर्च इन्टरनेसनल भएको छ । अमेरिकी चिकित्सकको सकारात्मक उत्तर पाएपछि उनलाई के खोज्छन् कानों आँखो भनेझैं भयो ।

त्यतिबेला प्लास्टिक सर्जरीका लागि विदेशी चिकित्सक ६/६ महिनामा नेपाल आउँथे । डा. राईले भने, ‘दुई साताका लागि नेपाल आएका बखत उनीहरूलाई सहयोग गर्दै सिक्थें । दुई साता म यति व्यस्त हुन्थें कि घर जानसम्म पाउँदिनथें ।’

उनले त्यति सिकाइले मात्रै विज्ञता हासिल गर्न सक्दैनथे । तँ चिता म पुर्याइदिन्छु भन्ने नेपाली उखानै छ । डा. राईको जीवनमा सो उखानले ठ्याम्मै मेल खायो । उनले आफ्नो जीवनमा आएको अवसरबारे प्रस्ट्याए, ‘अमेरिकाको डालसमा ह्यारी वर स्टिम नाम गरेका सर्जन रहेछन् । राजासँगै हावर्ड विश्वविद्यालयमा पढेका ह्यारी राजा वीरेन्द्रलाई भेट्न र सिकार खेल्न नेपाल आएका रहेछन् । सोही भेटमा उनले नेपालमा प्लास्टिक सर्जन नभएकाले म एकजनालाई ‘ट्रेन्ड’ गरिदिन्छु भनेर राजालाई भनेछन् ।’

ह्यारीले प्लास्टिक सर्जरीमा अभिरुचि राख्ने चिकित्सक चिन्दैनथे । राजा वीरेन्द्रले पाटन अस्पतालमा काम गर्ने अस्ट्रेलियाका चिकित्सकको नाम लिए । ती चिकित्सक भेट्न ह्यारी पाटन अस्पताल पुगे । अस्ट्रेलियाका चिकित्सकलाई शंकरमान राई प्लास्टिक सर्जरीमा अभिरुचि राख्छन् भन्ने थाहा थियो । अस्ट्रेलियाका चिकित्सकले राईलाई आफ्नै तरिकाले पढाउन अस्ट्रेलिया पठाउने तयारी थालेका थिए ।

 

अस्ट्रेलियाका चिकित्सकले नाम, ठेगाना खुलाएपछि ह्यारीले शंकरमान राईलाई भेटे । उनले अमेरिकामा प्लास्टिक सर्जरी पढ्न जान्छौ भनेर सोध्दा डा. राईले पत्याउनै सकेनन् । तत्काल सहमति जनाए ।

‘अमेरिका जान ह्यारी र मैले सोचेजस्तो सजिलो रहेनछ,’ डा. राईले विगत सुनाए, ‘अमेरिका जानअघि मेडिकल लाइसेन्स पास गरेको हुनुपर्दोरहेछ । त्यसका लागि परीक्षा दिन बैंकक जानुपथ्र्यो । खर्च अत्यधिक हुन्थ्यो । अमेरिकाकै साथीले खर्च बेहोरिदियो ।’

सन् १९९२ मा बंगलादेशबाट जनरल सर्जरी तालिम सकेर नेपाल फर्केका उनी अमेरिकामा साढे दुई वर्ष प्लास्टिक सर्जरीसम्बन्धी काम गरेर नेपाल फर्के । त्यहाँ सिकेको सीप जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाका लागि नयाँ जीवन पाउने माध्यम बन्यो ।

तस्बिर सौजन्य : विजु महर्जन/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार