प्रदेश नम्बर १ मा मतगणना सुरु

विराटनगर । मोरङका दुई स्थानीय तहमा मतगणना जारी र अन्य तहमा मतगणनाको तयारी भइरहेको छ ।

उर्लाबारी नगरपालिका र कटहरीमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । कटहरीमा बिहीवार बिहान ६ः४५ बजेसम्ममा १०० मतगणता थालिएको हो ।

विराटनगर महानगरपालिकामा बिहीवार बिहान सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने बताइएको छ । मोरङका अन्य स्थानीय तहमा मतगणनाको तयारी भइरहेको बताइएको छ ।

सुनसरीको स्थानीय तह निर्वाचनको मत परिणाम घोषणाका लागि दुई गाउँपालिकामा बुधबार राति अबेरदेखि मत गन्ने कार्य प्रारम्भ गरिएको थियो । ६ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपालिका रहेको सुनसरीको बर्जु र भोक्राहा गाउँपालिकामा मतगणना प्रारम्भ भएको हो ।

बर्जु गाउँपालिकाका निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार पछिल्लो मतगणना परिणामअनुसार कुल खसेको मतमध्ये ३०० मतगणना हुँदा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मेहताले ८८ मत उपप्रमुख सुमित्रादेवी गुरुङले ८९ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी, एमाले अध्यक्ष पदका उम्मेदवार फनिलाल चौधरीले ६८ मत उपाध्यक्ष सोमकुमारी गुरुङ रायले पनि ६८ मत नै प्राप्त गरेका छन् । त्यस्तै, फोरम लोकतान्त्रिक अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीले ४५ मत उपाध्यक्षकी सङ्गीताकुमारी रायले ४९ मत ल्याएका छन् । काँग्रेसका अध्यक्षका उम्मेवार इस्राइल अन्सारीले १९ र उपाध्यक्ष खसारी थरुनीले २० मत पाएको प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ ।

भोक्राहा गाउँपालिकामा पनि मतगणना सुरु गरी २०० मत गणना गरिसकिएको भए पनि त्यसको परिणाम सार्वजनिक गरिएको छैन । अन्य स्थानीय तहको मतगणना कार्य बिहीवार बिहान ९ देखि १० बजेबाट गणना हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचनमा सबैभन्दा बढी देवानगन्ज गाउँपालिकामा ८० प्रतिशत मत खसेको छ । सुनसरीमा ७४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको तथा त्यसमा एक÷दुई प्रतिशत तलमाथि हुन सक्ने पनि जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

झापामा रहेका १५ वटा स्थानीय तहमध्ये चार नगरपालिका र तीन गाउँ पालिकामा मतगणना बुधवार रातिदेखि नै सुरु भएको छ । भद्रपुर, दमक, गौरादह र कनकाई नगरपालिकामा गए रातिदेखि नै मतगणना सुरु भएको हो । त्यस्तै, कमल, गौरीगन्ज गाउँपालिकामा पनि मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पछिल्लो जानकारीअनुसार गणना भएकामा भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको पहिलो मतपरिणाम बाहिर आएको छ ।

पछिल्लो परिणामअनुसार दुई तहमा एमालेले अग्रता लिएको छ । भद्रपुर नगरपालिकामा २०० मतगणना गरिसक्दा प्रमुखमा एमालेका जीवन प्रधानको ७२ मत, माओवादी केन्द्रका शिवकुमार राजभण्डारीको ५५, काँग्रेसका गणेश पोखरेलको २८ र राप्रपाका नवराज पनेरुले २१ मत प्राप्त गरेका छन् ।

यस्तै, कमल गाउँपालिकाको २०८ मतगणना भइसक्दा एमालेका मेनुका काप्लेको ८९ मत, काँग्रेसका हुकुमसिंह राईको ५७ , माओवादी केन्द्रका विमल सङ्ग्रौलाको ३७ र राप्रपाका विष्णु पौडेलले सात मत प्राप्त गरेका छन् ।

दमक नगरपालिकाको पनि मतगणना बिहीवार बिहान ४ बजेदेखि सुरु भएको छ । स्थानीय तह दोस्रो चरण निर्वाचनको मतगणना झापामा सुरु भएको छ । बुधबार भएको मतदानमा झापाको हल्दिबारी गाउँपालिकामा बिहीबार बिहान १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए।

अधिकृत कार्कीका अनुसार बिहीवार बिहान ६ः३० बजेसम्म ४०० मतगणना भएको छ । गणनाअनुसार काँग्रेस ५४, एमाले १३६, माओवादी केन्द्र ३९ र राप्रपा नेपालले ३५ मत प्राप्त गरेका छन् भने पाँच मत बदर भएको छ । कुल १८ हजार ८९२ मतदाता रहेको यहाँ १३ हजार ९९६ मत खसेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए।

यता, केचनकवल गाउँपालिकामा पनि बुधवार राति १२ बजेदेखि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत देवीबहादुर भण्डारीका अनुसार बिहान ८ बजेसम्म ४८० मत गणना भइसकेको छ । जिल्लाभरि आठ नगरपालिका र सात गाउँपालिकामा पाँच लाख १० हजार ८१६ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार