रुपन्देही, बाँके र रोल्पामा मतगणना जारी


बुटवल । स्थानीय तह निर्वाचनको बुधवार भएको मतदानको बिहीवार बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् ।

मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधवार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा बिहीवार बिहानदेखि गणना सुरु गरिएको हो । जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने बुधवार रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

जिल्लाका बुटवल उपमहानगरपालिकालगायत अधिकांश स्थानीय तहमा बिहीवार बिहानदेखि मात्र गणना सुरु भएको उनले जानकारी दिए। रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये बुधवार १५ तहमा निर्वाचन भएको थियो । जिल्लाको कोटहीमाई गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारको केही दिनअघि मृत्यु भएपछि सो वडामा बुधवार मतदान स्थगित भएको छ । स्थगित निर्वाचनको मतदान शुक्रवार हुने निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सम्मइमाई गाउँपालिकामा मतगणना सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकामा बिहीवार बिहान १ बजेबाट मतगणना सुरु भएको थियो ।

त्यस्तै, रुपन्देहीकै सम्मइमाई गाउँपालिकामा पनि मतगणना जारी छ । मतगणना बुधवार राति ११ः३० बजेदेखि सुरु भएको थियो । सम्मइमाई गाउँपालिकामा अहिलेसम्म ९०० मत गणना भइसकेको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए। उनका अनुसार ९०० मत गन्दा नेकाँले ३५२ सहित अग्रता लिएको छ । सिद्धार्थनगरमा पनि नेकाँ अगाडि रहेको छ ।

बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ को मतगणना अहिले भइरहेको छ । पछिल्लो ११५ को मतपरिणामअनुसार सङ्घीय समाजवादी फोरमले ४३, नेकाँले ३३, माओवादी केन्द्र तीन, एमाले एक र राप्रपाले दुई मत ल्याएको छ ।

डुडुवा गाउँपालिकामा बिहीवार बिहान दुई बजेदेखि मतगणना सुरु भएको छ । जिल्लाका नेपालगन्ज उपमहानगरापलिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी, जानकी, बैजनाथ, खजुरा, नरैनापुर गाउँपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए।

यसैगरी, रोल्पाका दस स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ । जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना बिहीवार बिहान एक बजेदेखि सुरु गरिएको छ ।

मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने एक स्थानमा माओवादी केन्द्र अगाडि देखिएको छ । नेकाँले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने माओवादी केन्द्र माडी गाउँपालिकामा अगाडि रहेको छ । मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

जिल्लामा ६९.१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीन हजार ६८२ मत खसेको छ । सो गाउँपालिकामा पाँच हजार ८५३ मतदाता रहेका थिए ।

बाँकेमा समेत मतगणना सुरु भएको छ । जिल्लाको दुरुवा गाउँपालिकामा बिहीवार बिहान दुई बजेदेखि मतगणना कार्य सुरु भएको हो भने अन्य सातवटा स्थानीय तहमा बिहान ५ बजेदेखि मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म सर्वपक्षीय बैठक बसिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वटा वडाको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ । कोहलपुर नगरपालिकाको मतगणना १३ वटा वडाको पिपिरीस्थित कृषि विकास बैंकको तािलम केन्द्रमा हुने भएको छ ।

खजुरा गाउँपालिका र जानकारी गाउँपालिकाको मतगणना खजुरामा हुने भएको छ । राप्ती सोनारी गाउँपालिकाको मतगणना कचनापुरमा हुने भएको छ । नरैनापुर गाउँपालिकाको मतगणना नरैनापुरमै हुने भएको छ । सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार