राणाकालीन दरबार अभिमान कि गौरव ?

तेस्रो आँखा संवाददाता

नेपालको इतिहासमा राणाकालको सुरुवात तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवरले संवत् १९०३ मंसिर ४ बाट गरेका थिए । कुँवरले आफ्नो वंशज राणा भएकाले आफू पनि राणा लेख्न थाले । त्यसैले कुँवर वंशको राणाकाल १०४ वर्षसम्म टिक्यो । जसलाई जंगबहादुरसहित १० राणाले शाषण गरे । यिनै प्रधानमन्त्रीको विभिन्नकालमा बनेका प्रमुख दरबारमा यो लेख केन्द्रित छ ।

राणाकालीन दरबार तथा महल आफ्नो निजी प्रयोजनका लागि निर्माण भएको देखिन्छ । तीमध्ये केही दरबार आज पनि राणा सन्ततिले प्रयोग गरिरहेका छन् । यस्ता दरबार राणाका रानी तथा उनका छोराको निवासका लागि बनाइएका हुन् । यसरी निजी प्रयोजनका लागि बनेका दरबार धेरैजसो सरकारमातहतमा आएका छन् । यसरी सरकारमातहत आएका दरबार तथा महलमै नेपाल सरकारप्रमुख सरकारी निकाय रहँदै आएका छन् ।

सरकारी कार्यालय रहेका केही दरबार सरकारले राणा सन्ततिबाट खरिद गरेका हुन् । यसमा पनि नेपालकै प्रमुख दुई दरबारमा सिंहदरबार चन्द्रशमशेरले र नारायणहिटी राजदबार राजा महेन्द्र शाहले नेपाल सरकारलाई बिक्री गरेको देखिन्छ । यसबाहेकका अधिकांश दरबार भने उनीहरूका सन्ततिले बेचविखन गरेको पाइन्छ ।

नेपाल सरकारलाई दिइएको दरबारमा हालको राष्ट्रपति निवास तथा कार्यालय शीतलनिवास चन्द्रशमशेरका छोरा कृष्णशमशेरले र केशर पुस्तकालय केशरशमशेरले नेपाल सरकारलाई प्रदान गरेको देखिन्छ ।

राणाका दरबार सम्बन्धमा पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तक राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरूमा राणाकालमा काठमाडौंमा मात्र करिब ४० दरबार निर्माण भएको उल्लेख गरेका छन् । तिनीहरूमा मुख्यतः ३० दरबारको बयान छ । जसमा जंगबहादुर राणाद्वारा निर्मित दरबारमा बबरमहल, थापाथली दरबार, थापाथली वैद्यखाना, थापाथलीकै चाँद कुँवर ‘कौर’ को चारबुर्जे ‘घर’ दरबार, थापाथली गोल बैठक मुख्य रूपमा रहेका छन् । यसैगरी, जंगबहादुरले गोकर्ण र नागार्जुन जंगलमा पनि चारैतर्फ पर्खालले घेर्न लगाई भव्य महल निर्माण गरेको कुरा श्री ३ हरूको तथ्य वृत्तान्तमा उल्लेख छ भने वीरशमशेर जबराद्वारा निर्मित दरबारमा नारायणहिटी राजदरबार (हाल संग्रहालय), सेतो दरबार, टंगाल दरबार, जाउलाखेल दरबार, महाराजगन्जस्थित पानीपोखरी दरबार, हाँडीगाउँको भाटभटेनी दबार, चार बुर्जा दरबार (हाल, उपराष्ट्रपति तथा निर्वाचन आयोग भएको बहादुर भवन), लालदरबार, फोहरा दरबार, हात्तीसार दरबार (हाल चिनियाँ दूतावास), वीरगन्जको मुुडुली दरबार (हाल एसएस्पी कार्यालय), वीर अस्पताल र पब्लिक हाइस्कुल रहेका छन् । त्यसैले वीरशमशेरसँग प्रशस्त नगद सम्पत्ति नरहेको कुरा पुरुषोत्तमशमशेर जबराले उल्लेख गरेका छन् ।

चन्द्रशमशेर जबराद्वारा निर्माण गरिएको दरबारमा सिंहदरबार (प्रधानमन्त्री कार्यालय), लक्ष्मी निवास, बबरमहल, शीतलनिवास (हाल राष्ट्रपति निवास), श्रीदरबार र हरिहर भवन (मन्त्री क्वार्टर) रहेका छन् भने नेपालको ताजमहल उपमा दिइएको पाल्पाको रानीघाटस्थित रानीमहल खड्गशमशेर जबराले निर्माण गरेका हुन् । त्यसो त भीमशमशेरको पालामा पनि शीतभवन निर्माण सुरु भएको थियो । जहाँ हाल बालमन्दिर रहेको छ ।

मुख्य कुरा त त्यतिखेर कुनै पनि भवन तथा दरबार निर्माणका लागि इँटा तथा ढुंगा जोड्ने वस्तु निर्माण अहिलेको जस्तो सिमेन्टको प्रचलन थिएन । त्यसैले आफ्नै मौलिक सीपअनुसारको सिमेन्टको काम गर्ने वस्तुका रूपमा ‘मास, चाकु, सरेस, सुर्ती, पिना र चुनको मिश्रणबाट बज्र बनाई इँटा तथा ढुंगा जोड्ने गरिन्थ्यो । त्यही बज्रबाट राणाकालीन दरबार तथा महल बनेका हुन् ।

यसरी दरबार तथा महल बनाउन तत्कालीन समयमा छुट्टै निकाय रहेको थियो । जसलाई ‘छेँवोदेल’ भनिन्थ्यो । इतिहासविद् डा. त्रिरत्न मानन्धरका अनुसार ‘छेँवोदेल’ भनेको नेवारी भाषामा ‘छेँ’ को अर्थ ‘घर’ हुन्छ भने ‘वोदेल’को अर्थ हालको ‘अड्डाजस्तो’ हुने गर्छ । त्यही ‘छेँवोदेल’बाट दरबारलगायतका निर्माणसम्बन्धी काम सम्पन्न हुन्थ्यो ।

चन्द्रशमशेरले १९६० मा ३५० रोपनी जग्गा खरिद गरी सिंहदरबार निर्माण गरेका थिए । उक्त दरबार निर्माणपछि एक दिन भारदारी सभा बोलाई उक्त सभामा चन्द्रशमशेरले भने, ‘आज उप्रान्त श्री ३ महाराजा, प्रधानमन्त्री जो हुन्छ उनी यसै दरबारमा बस्नेछन् । तसर्थ, यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ ।’ त्यतिखेर चन्द्रशमशेरले सिंहदरबार करिब ५० लाख रुपैयाँमा निर्माण गरेको हुन सक्ने इतिहासविद् राणा बताउनुहुन्छ । तर, चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई दुई करोड रुपैयाँमा बिक्री गरेको घोषणा गरेका थिए । चन्द्रशमशेरको उक्त घोषणासँगै नेपालको प्रशासनिक केन्द्र पनि सिंहदरबारमा रहँदै आएको देखिन्छ । त्यसो त ००७ फागुन ७ को प्रजातन्त्र स्थापनापछि तत्कालीन प्रधानमन्त्री मोहनशमशेर सिंहदरबारमै बस्दै आएका थिए । तर, ००९ फागुन ७ को श्री ५ को सरकारको सचिवालय बनेपछि मोहनशमशेरले सिंहदरबार छाडेका थिए ।

चन्द्रशमशेरले सिंहदरबार बेच्दा लिएको दुई करोड रुपैयाँ जंगबहादुर राणाले १९२५ मा स्थापना गरेको ढुकुटीबाट निकालेका थिए । त्यतिखेर जंगबहादुरले उक्त ढुकुटी ११ करोड रुपैयाँ राखी स्थापना गरेका थिए । तत्कालीन समयमा उक्त ढुकुटीलाई ‘कौसी’ नामक ढुकुटी राखे । जसलाई ‘तोषाखाना’ भनिन्थ्यो । तर, अहिले सो ढुकुटी अस्तित्वमा नरहेको पनि राणाले बताए । जंगबहादुरले ढुकुटी स्थापना गर्दा भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आइपरेमा, दैवीप्रकोप परेमात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नू अन्यथा नगर्नू बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू ।’

इतिहासकार पुरुषोत्तमशमशेरले सिंहदरबारका वास्तुकार इन्जिनियर राणाद्वय भएको उल्लेख गरेको भए पनि प्रमोदशमशेरले भने भारतका प्रख्यात इन्जिनियर योगेन्द्रबाबुलाई एउटा भव्य महलको नक्सा बनाउन लगाए भन्ने उल्लेख गरेका छन् । त्यही भव्य महलपछि सिंहदरबार बन्न पुग्यो । सिंहदरबारमा ०३० असार २५ मा आगलागी भयो । आगलागीबाट बचाउन केही भाग बम विस्फोट गरी ध्वस्त पारिएको थियो ।

त्यसैगरी, प्रमोदशमशेर जबराले आफ्नो पुस्तक राणा शासनको वृत्तान्तमा जुद्धशमशेरले आफ्नो पदत्याग गर्ने समयमा रिडीनजिकै अर्गेली ग्राम भन्ने ठाउँमा भव्य बंगला बनाएर सत्तात्यागपछि सो भव्य बंगलामा केही वर्ष बसी वनारस गएको उल्लेख गरेका छन् । जुद्धशमशेर उक्त बंगलामा आफ्नो सत्तात्याग गरी २९ नोभेम्बर १९४५ मा प्रस्थान गरेका थिए । त्यसो त प्रमोदशमशेरका अनुसार १५० रोपनी जग्गामा बनेको ठमेलको चार बुर्जा दरबार जुद्धशमशेरले कब्जामा लिँदा रुद्रशमशेरलाई गुठीको दुई लाख रुपैयाँ सापटी लिएको बुझाउनु बाँकी छ भन्दै रुद्रशमशेरले बुबा वीरशमशेरबाट पाएको अंशसहित जुद्धशमशेरले कब्जा गरेका थिए । यसपछि उक्त दरबार आफ्नो छोरा बहादुरशमशेरलाई दिए । त्यसपछि उक्त दरबारको नाम बहादुर भवन रहन गयो । जहाँ हाल उपराष्ट्रपति कार्यालयसँगै निर्वाचन आयोग रहेको छ ।

प्रमोदशमशेरको सोही पुस्तकमा हाल दरबारमार्गमा रहेको संस्कृत पाठशाला निर्माण सन्दर्भ पनि उल्लेख्य छ । त्यतिखेर दरबार हाइस्कुलसँगै रहेको संस्कृत महाविद्यालयका विद्यार्थीका लागि धीरशमशेरले पाठशाला (छात्रावास) निर्माण गरी सञ्चालन खर्चका लागि गुठीसमेत राखेका थिए । जसलाई वीरशमशेरको पालामा थप व्यवस्था तथा विस्तारसमेत गरियो ।
जंगबहादुरद्वारा निर्मित थापाथली दरबारमा सिंहशमशेर बसेपछि सिंहमहलको नामले चिनियो । सिंहशमशेरले राष्ट्र बैंकलाई नौ लाख रुपैयाँमा बिक्री गरेपछि थापाथली दरबार अथवा सिंहमहलमा हाल नेपाल राष्ट्र बैंकको एउटा शाखा रहेको छ ।
राष्ट्रपति भवन शीतलनिवास

चन्द्रशमशेरकी जेठी महारानीपट्टिका कान्छा छोरा कृष्णशमशेरका लागि १९८० मा निर्माण गरिदिएको भवन नै शीतलनिवास हो । जुन १४० रोपनी क्षेत्रफलमा रहेको छ । कृष्णशमशेरले उक्त निवास २००५ मा नेपाल सरकारलाई सुम्पिदिए । नेपाल सरकारलाई सुम्पने बेला उनले शीतलनिवासको मर्मत–सम्भारका लागि तीन लाख २२ हजार आठ सय रुपैयाँ नेपाल बैंकमा बचत गरिदिएका थिए । त्यसपछि नेपाल सरकारमातहत आएको शीतलनिवास गणतन्त्र कार्यान्वयन हुन अगाडिसम्म परराष्ट्र मन्त्रालय रहेको थियो । ०६५ जेठ १५ को गणतन्त्र कार्यान्वयनसँगै शीतलनिवास राष्ट्रपतिको कार्यालय तथा निवास रहँदै आएको छ ।

त्रि–चन्द्र मिलिटरी अस्पताल

महाँकाल मन्दिरसँगैको त्रि–चन्द्र मिलिटरी अस्पताल भवन १९८३ मा निर्माण भएको हो । उक्त अस्पताल निर्माण खर्च भने बेलायत सरकारले प्रत्येक वर्ष दिँदै आएको १० लाख स्टर्लिङ पाउन्डको ब्याज रकमबाट निर्माण गरेको पुरुषोत्तमशमशेरले उल्लेख गरेका छन् । त्यस अस्पतालमा एउटा पूर्णकदको सैनिक प्रतिमा राख्ने इच्छा चन्द्रशमशेरले गर्दा काठमाडौंका रत्नबहादुर ताम्राकारले उक्त मूर्ति जम्मा दुई हजार दुई सय रुपैयाँ लागतमा निर्माण गरेका थिए । त्यसको अतिरिक्त ताम्राकारलाई तीन हजार रुपैयाँ दिइएको प्रमोदशमशेरले उल्लेख गरेका छन् ।

बेलायतले दिँदै आएको १० लाख पाउन्ड त्यत्तिकै दिएको भने होइन । चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा इस्ट इन्डिया कम्पनीलाई सहयोग गरेबापत सो पाउन्ड दिइएको थियो । त्यतिखेर बेलायतले प्रथम विश्वयुद्ध जितेको थियो । त्यसो त २१ लाख पाउन्ड एकमुस्ट रकम पनि दिएको थियो । प्रथम विश्वयुद्धमा नौ लाख १७ हजार १४४ नेपाली नौजवान युवालाई भारततर्फ पठाइएको पुरुषोत्तमशमशेरको पुस्तक भएका र गुज्रेका घटनाहरूमा उल्लेख छ ।

गोरखा भूकम्पपपछि सो भवन भत्काएर पुनः निर्माण भइरहेको छ ।

दोस्रो विश्वयुद्धमा प्रधानमन्त्री रहेका जुद्धशमशेरले पनि इस्ट इन्डिया कम्पनीको सहयोग गरेबापत थप १० लाख पाउन्ड थपी कुल २० लाख साँवा बैंक अफ लन्डनमा रहेको थियो । त्यसको ब्याजमात्र नेपाल बैंकमा पठाउने गथ्र्याे ।

वीर अस्पतालको कथा

शमशेरखलकका पिता तथा जहानियाँ राणा शासनका प्रारम्भकर्ता जंगबहादुर राणाका सात भाइमा कान्छा धीरशमशेर हुन् । उनका १७ भाइ छोरामा जेठो वीरशमशेरले आफ्नो पिता धीरशमशेरको उपचारार्थ भारतबाट डाक्टर झिकाएका थिए । कलकत्ताबाट झिकाइएका डाक्टर अदरनाथको आडभरोसा र प्रयासमा वीरशमशेरले आफू प्रधानमन्त्री हुँदा १९४४ मा वीर अस्पतालको शिलान्यास गरेका थिए भने १९४७ साउनमा निर्माण सम्पन्न भएको थियो । जुन अस्पताल नेपालकै पहिलो आधुनिक अस्पताल पनि हो ।

केशर पुस्तकालय

हाल शिक्षा मन्त्रालय रहेको केशरमहल पनि चन्द्रशमशेरले नै निर्माण गरेका हुन् । उनले उक्त आफ्नो साइँला छोरा केशरशमशेरका लागि निर्माण गरेका थिए । यस सम्बन्धमा पुरुषोत्तमशमशेरले भएका र गुज्रेका घटनाहरू भन्ने किताबमा उल्लेख गरेअनुसार यिनलाई चन्द्रशमशेरले राजकाजसम्बन्धी कुनै जिम्मेवारी दिएका थिएनन् । त्यसैले उनले एय्यासी जीवन यही महलमा बिताए । उनी पुस्तक मन पराउने व्यक्ति थिए । त्यसैले उनले प्रकाशित पुस्तक तुरुन्तै झिकाई भुक्तानी गर्थे । पढेका हुनाले केशरशमशेरले केशर पुस्तकालय स्थापना गरे । उनको मृत्यु ०२१ मा भयो । उनको इच्छाबमोजिम केशर पुस्तकालय नेपाल सरकारलाई हस्तान्तरण गरियो ।

इतिहासमा सीमित दरबार

बेलायत भ्रमणबाट फर्केपछि जंगबहादुरले त्यहाँको अस्पतालबाट प्रभावित भई थापाथली दरबारपरिसरमा एउटा वैद्यखाना निर्माण गरेका थिए । सो वैद्यखाना अहिले अस्तित्वमा छैन । जमिन भने देवशमशेरका सन्ततिले भोग गरिरहेको पाइन्छ ।
यसैगरी, जंगबहादुरले नै थापाथलीमा पन्जावबाट भागेर आएकी रानी चाँद कुँवर (चाँद कौर) का लागि चार बुर्जा भएको घर निर्माण गरी शरणमा राखेका थिए । उक्त घर थापाथली दरबारको कम्पाउन्डभित्रै भएको र चार बुर्जा पनि भएकाले सो घरलाई चारबुर्जे दरबार नामकरण गरियो । उक्त दरबार १९९० को भूकम्पमा ध्वस्त भयो । सो स्थानमा प्रसूतिगृह सञ्चालनमा छ ।
बेलायतको संसद् भवन देखेर जंगबहादुरले गोल बैठक बनाउन लगाएका थिए । यो बैठक पनि ९० सालकै भूकम्पमा ध्वस्त भयो । जंगबहादुरका छोरा जगतजंगले १९३५ मा साबिकको गोठाटार गाउँ विकास समितिका वडा नम्बर ६ मा पर्ने मनहराखोलासँगैको ५०० रोपनी जग्गामा साततले भव्य मनहरा दरबार निर्माण गरेका थिए । उक्त दरबार १९४२ मा रणोद्दीप सिंहको हत्यासँगै तत्कालीन कमान्डिङ जनरल जगतजंगको पनि सोही दरबारमा हत्या भयो । यसपछि उक्त दरबारलाई दरबारका अनैतिक तथा आपराधिक गतिविधिमा संलग्न महिलालाई राख्ने थुनाका रूपमा मात्र प्रयोग गरेको उल्लेख छ । अहिले यो दरबारको नामोनिसाना केही पाइँदैन ।

यसैगरी धोकलसिंह बस्नेतद्वारा नै निर्माण गरिएको हिटी दरबार पनि चौतारियाको आधिपत्यमा आयो भने कोतपर्वपछि राणाखलकले भोगचलन गरे । अहिले हिटी दरबार अस्तित्वमा नरहेको पुरुषोत्तमशमशेरले उल्लेख गरेका छन् ।
वीरशमशेरले नै निर्माण गरेको ३७५ रोपनी क्षेत्रफलमा रहेको सेतो दरबार १९९० वैशाखमा भएको आगलागीबाट ध्वस्त भयो । सेतो दरबारमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको श्री ३ हरूको वृत्तान्त भाग–२ मा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले सो दरबार आगलागीबाट बचाउने प्रयास नगरेको पुरुषोत्तमशमशेरले उल्लेख गरेका छन् । तर, यसै अग्निकाण्डपछि जुद्ध वारुणयन्त्रको स्थापना भएको थियो । यसैगरी वीरशमशेरले १६० रोपनी जग्गामा बनाएको भाटभटेनी दरबार पनि १९९० कै भूकम्पपछि तहसनहस भयो । अहिले त्यसको सानो खण्डमात्र अस्तित्वमा रहेको बताइन्छ । वीरशमशेरले नै नारायणहिटीको ठिक्क पूर्वपट्टि १९५४ मा निर्माण गरेको फोहरा दरबारको केही भाग अमेरिकी राजदूतावासलाई गोविन्दशमशेरले बेचेपछि उक्त स्थानमा अमेरिकी क्लब रहेको छ । माधवशमशेरको भागमा परेको फोहरा दरबार भने राजा महेन्द्रले भत्काएर नारायणहिटी दरबारमा गाभेको कुरा पुरुषोत्तमशमशेरले बताए ।

राणालीन दरबारमा चन्द्रशमशेरले १९८० मा बनाएको पुल्चोकस्थित १४० रोपनी जग्गाभित्रको श्रीदरबार भने रानी चन्द्रशमशेरका कान्छा छोरा मदनशमशेरकी श्रीमती रानी जगदम्बाले बक्सिस तथा बिक्री–वितरण गरिदिइन् । हाल यस दरबारको कम्पाउन्डमा साझा यातायातको कार्यालय रहेको छ ।

भत्कँदै बनिदै गरेका दरबार नारायणहिटी

हालको नारायणहिटी दरबार संग्रहालयको निर्माण धोकलसिंह बस्नेतले गरेका थिए भन्ने भनाइ रहे पनि प्रमाण भने नभएको पुरुषोत्तमशमशेरले उल्लेख गरेका छन् । यसपछि सो दरबार चौतारिया शाहको अधीनमा रहेको थियो । कोतपर्वपछि भने रणोद्दीप सिंहको अधीनमा आयो । प्रधानमन्त्री बनेपछि सिंहले यस दरबारको मर्मत–सम्भार तथा थप भव्य बनाएका थिए । रणोद्दीप सिंहपछि वीरशमशेरले जगैदेखि ध्वस्त पारी अनेक जपतप, धार्मिक अनुष्ठान पूरा गरी १९४२ देखि बन्न सुरु गरेर १९४३ मा यो दरबार निर्माण पूरा गराएका थिए । त्यसपछिका राज त्रिभुवनले पनि त्यसैगरी १९९० को भूकम्पपछि यस दरबारलाई थप व्यापकता दिए । त्यतिखेर नै नारायणहिटीअगाडिको दोहोरी भर्याङ बनेको हो । तर, तात्कालिक राजा महेन्द्रले उक्त ऐतिहासिक दरबारलाई ध्वस्त गरी सोही स्थानमा आधुनिक शैलीमा अर्को दरबार निर्माण गरेका थिए । आधुनिक शैलीमा नारायणहिटी दरबार निर्माण पूरा हुनासाथै महेन्द्रले ०२४ मा सात करोड रुपैयाँमा नेपाल सरकारलाई बिक्री गरेका थिए ।

यसैगरी ०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले पनि हत्याकाण्ड भएको ठाउँ त्रिभुवन सदन पूर्ण रूपमा ध्वस्त बनाएका थिए ।

जंगबहादुरद्वारा निर्मित दरबार

१९०४ को अलौपर्वपछि जंगबहादुरले पाँचतले थापाथली दरबार निर्माण गर्न लगाए र १९१२ मा उक्त दरबारमा सरे । जहाँ चौथो तलामा जंगबहादुर बस्थे । चन्द्रशमशेर प्रधानमन्त्री भएपछि १९६६÷६७ मा तोडफोड गरी अर्को महल बनाए । र, आफ्नो छोरा बबरशमशेरलाई दिए । जंगबहादुरद्वारा निर्मित थापाथली दरबार इतिहासमा सीमित भयो भने सो स्थानमा बबरशमशेरको बबरमहल खडा भयो ।

होटल बने दरबार

वीरशमशेर प्रधानमन्त्री हुनासाथ काजी वीरकेशर पाँडेद्वारा निर्मित लाजिम्पाट दरबार तोडफोड गरी भाइ कमान्डिङ जनरल जितजंगका लागि सो स्थानमा नयाँ दरबार बनाए । उक्त दरबार चन्द्रशमशेरको पालामा जुद्धशमशेरलाई दिइयो । जुद्धका धेरै छोरामा भागबन्डा गरियो । त्यसमध्येको एउटा खण्ड उद्योगी राम शंकरले किने । जसले लाजिम्पाट दरबारलाई होटल शंकरका रूपमा बदले । अहिले पनि होटल शंकर सञ्चालनमा छ ।
हिमालय होटल र होटल याक एन्ड यती पनि वीरशमशेरद्वारा निर्मित लालदरबारको एउटा भाग हो ।

दरबार निर्माणका वास्तुकार

राणाकालीन दरबार तथा महल निर्माणमा नेपाली तथा विदेशी वास्तुकार (इन्जिनियर) को संलग्नता रहेको पाइन्छ । जंगबहादुरको पालामा नेपाली वास्तुकलाविद् अर्थात् इन्जिनियरमा रनसुर विष्टले अधिकांश दरबार तथा भवन निर्माण गरेका थिए भने चन्द्रशमशेरका पालामा कुमारनरसिंह राणा र किशोरनरसिंह राणाको वास्तुकारिता प्रयोग भएको थियो । यद्यपि, सिंहदरबार निर्माणमा भने भारतीय तत्कालीन प्रख्यात इन्जिनियर योगेन्द्रबाबु रहेको प्रमोदशमशेरको सोही पुस्तकमा उल्लेख छ ।

यसैगरी, वीरशमशेरद्वारा निर्मित दरबारमा जोगलाल स्थापित ‘भाजुमान’ वास्तुकार रहेको पाइन्छ । तर, नारायणहिटी दरबारको दोहोरी भर्याङ (‘पोर्टीको’ ओर्लने र उक्लने अगाडिको ठूलो भर्याङ) १९९० को भूकम्पपछि श्री ५ त्रिभुवनले इन्जिनियर सूर्यजंग थापालाई निर्माण गराउन लगाए । यसैगरी महेन्द्रले नारायणहिटीको पुनः निर्माण गर्दा भारतको ‘बनर्जी एन्ड पोच’ नामक कम्पनीले निर्माण गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार