चलचित्रभन्दा जेठो चलचित्र पत्रकारिता

ध्रुव लम्साल

अहिले हरेक पत्रिकाले कलासँग सम्बन्धित सामग्रीलाई छुट्टै पाना व्यवस्था गरेका छन् । दैनिक पत्रिका, टेलिभिजन र अनलाइनमा चलचित्र समाचारले विषेश महत्व राख्छ । ठूला दैनिक पत्रिकाले लगभग राजनीति र अर्थ समाचारजत्तिकै महत्व दिने गरेका छन् चलचित्र समाचारलाई ।

चलचित्र, संगीत र रंगमञ्चीय गतिविधिलाई प्रायः सञ्चारमाध्यमले कलापृष्ठमा स्थान दिएका छन् । अझ रमाइलो कुरा त अहिले कुनै पनि सञ्चारमाध्यम कलासामग्रीविना पूर्ण हुन सक्दैन । अहिले वार्षिक एक सय बढी चलचित्र निर्माण हुने गरेको छ भने म्युजिक भिडियो निर्माण वार्षिक हजारभन्दा बढी हुने गरेको छ ।

सबैभन्दा पुरानो नेपाली चलचित्र कुन हो ? अझै विवादकै विषय बनेको छ । विक्रम संवत् २००७ असोज २२ गते भारतीय भूमिमा निर्माण गरिएको ‘सत्य हरिश्चन्द्र’ लाई पहिलो नेपाली चलचित्र मान्नुपर्छ भन्नेहरू एकथरी छन् भने २०२२ असोज १५ गते प्रदर्शित ‘आमा’ लाई पहिलो चलचित्र मान्नुपर्छ भन्नेहरू पनि छन् ।

पहिलो नेपाली चलचित्र कुन हो भन्नेमै बहस जारी रहेकाले चलचित्र पत्रकारिताको इतिहास खोजी गरिनु त्यति सजिलो काम होइन ।

विभिन्न पुस्तकालय, जर्नल र केही पाका लेखकको लेखको अध्ययन गर्ने हो भने पहिलो चलचित्र पत्रिका ‘सिनेमा’ लाई मान्नुपर्ने हुन्छ र अर्को रमाइलो कुरा नेपालमा चलचित्र पत्रकारिता चलचित्र निर्माण सुरु हुनुअगावै भएको थियो । तत्कालीन समयमा ‘सिनेमा’ हिन्दी फिल्मी पत्रिकाका समाचार साभार गरिन्थ्यो ।

२०११ कात्तिक १० गते प्रकाशन भएको ‘सिनेमा’ का सम्पादक केएल कर्माचार्य थिए भने प्रकाशक प्रतापबहादुर जोशी । यो पत्रिका तत्कालीन समयमा अन्नपूर्ण प्रेस, असनमा छापिएको थियो ।

केएल कर्माचार्यको पूरा नाम केशवलाल कर्माचार्य हो । उनी वरिष्ठ साहित्यकार माधवलाल कर्माचार्यका दाजु हुन् । पाक्षिक रूपमा प्रकाशन गर्ने भनिएको भए पनि सिनेमाको दोस्रो अंक अहिलेसम्म भेटिएको छैन । २०१४ साउन १५ गते कुमारी मनचन्दा र शेखरकुमारको संयुक्त सम्पादकत्वमा ‘रंगमञ्च’ नामक अर्को एउटा पत्रिका प्रकाशनमा आयो ।

साप्ताहिक रूपमा प्रकाशन गर्ने उद्देश्य भए पनि तीन अंकसम्म हप्तैपिच्छे प्रकाशित ‘रंगमञ्च’ पछि मासिक भयो । तर, मासिक भएपछि पनि नियमित प्रकाशन हुन सकेन । यसपछि १३ वर्षसम्म चलचित्रसँग सम्बन्धित अरू कुनै पत्रिका प्रकाशन भएको पाइँदैन ।

२०२७ तिर ‘आराधना’ र ‘प्रिया’ दुई पत्रिका प्रकाशन भयो । ‘आराधना’ का प्रकाशक राजा बी दुकेला र प्रधानसम्पादक श्यामराज देव र सम्पादक गोपालप्रसाद अधिकारी थिए । यतिबेलासम्म आमा, परिवर्तन, हिजो आज भोलि र माइतीघर गरी चार चलचित्र प्रदर्शन भइसकेका थिए । तर पनि चलत्रिकै समाचार लेखेर कुनै पत्रिकाले पाना भर्ने स्थिति थिएन । चलचित्र पत्रिका भनिए पनि साहित्यलाई सबैभन्दा धेरै स्थान दिइन्थ्यो ।

‘प्रिया’ का सम्पादक हिमालयभक्त प्रधानाङ हुन् । ‘प्रिया’ साहित्यिक पत्रिका थियो । पछि मात्रै चलचित्र समेटेका थिए । चलचित्रको विषयमा डा. ध्रुवचन्द्र गौतम र लक्ष्मीनाथ शर्मालगायतले कलम चलाएको देखिन्छ ।

लक्ष्मीनाथ शर्माले ‘नेपालमा चलचित्र वितरण र प्रदर्शन’ शीर्षकमा लेखेको लेख २०२९ मंसिर १ गते गोरखापत्रमा छापिएको थियो । चलचित्र निर्देशनका साथसाथै चलचित्रबारे लेख लेख्दै आएका शर्मा नेपालमा चलचित्रसम्बन्धी पुस्तक लेख्ने पहिलो लेखक हुन् । उनले लेखेको पुस्तक ‘चलचित्रकला’ २०३८ असारमा साझा प्रकाशनले प्रकाशित गरेको छ ।

पछि सोही कृतिलाई परिमार्जनसहित हिमाल किताबखानाले नयाँ संस्करण निकालेको छ । गीतकार चेतन कार्कीले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा (२०३१) सालमा भानु पत्रिकामा चलचित्र संक्षिप्त इतिहास र वर्तमान’ शीर्षकमा लेख लेखेको देखिन्छ ।

२०२८ तिरमा नरेन्द्रविलाश पाण्डेको सम्पादनमा ‘नयाँ संसार’ प्रकाशन सुरु भएको थियो । पाण्डेकै सम्पादनमा अर्को पत्रिका ‘सिनेमा संसार’ पनि केही अंक प्रकाशित भएको पाइन्छ ।

सोही समयमा रमेशनाथ पाण्डेको सम्पादनमा ‘नयाँ सन्देश’ नामक अर्को पत्रिका प्रकाशन भयो । त्यतिबेला प्रकाशनमा आएका पत्रपत्रिका मनोरञ्जनमूलक भए पनि साहित्यिक स्तम्भ अनिवार्य हुन्थ्यो ।

विश्व बस्नेतले पहिलो रंगीन पत्रिका भनेर ‘मधुरस’ प्रकाशन गरे । चलचित्रसँग सम्बन्धित सामग्रीले नै यो पत्रिकाको पाना भरिएको हुन्थ्यो ।

२०३७ सालमा अर्को पत्रिका प्रकाशन भयो ‘पुकार’ हिमालय लोहनी सम्पादक रहेको उक्त पत्रिकामा साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश सायमी प्रधान संवाददाता थिए । साहित्यिक द्वैमासिकका रूपमा प्रकाशित पुकारमा चलचित्र समाचारले राम्रै स्थान पाएको हुन्थ्यो ।

परिवर्तन, ममताजस्ता पत्रपत्रिकामा पनि चलचित्रलाई केही स्थान दिने गरिएको थियो । जीपी शर्माको पत्रिका ‘ममता’ मा विजय उदय पाल्पाली सहसम्पादक र पुष्करलाल श्रेष्ठ खेलकुद स्तम्भकार थिए ।

जीपी शर्माले ‘हिमाली साँझ’ नामक पत्रिकालाई नै पछि ‘ममता’ नाम राखेका थिए । २०३२ मा प्रकाशन आरम्भ भएको हिमाली साँझमा चलचित्रका समाचार छाप्ने गरिन्थ्यो ।

२०४१ मंसिर १५ मा पूर्ण रूपमा चलचित्रको सामग्री समेटेर ‘कामना’ पत्रिका प्रकाशन गरियो । स्थापनाकालमा ‘कामना’ का सम्पादक विजय उदय पाल्पाली थिए भने पुष्करलाल श्रेष्ठ प्रकाशक ।

कामना प्रकाशन सुरु भएको दुई अंकपछि विजय उदय पाल्पाली यसबाट अलगिए । उनी अलगिएपछि पुष्करलाल श्रेष्ठ सम्पादक र प्रकाशक भए । अहिले पुष्करलाल सम्पादक नै रहेका छन् भने सम्पादक विदुर गिरी रहेका छन् ।

३० वर्षअगाडि ट्याब्लोइड साइजमा श्यामश्वेत प्रकाशित कामनाका सबै पृष्ठ रंगीन छन् भने यो मासिक रूपमा प्रकाशन हुँदै आएको छ । प्रकाशनलाई निरन्तरता दिने चलचित्र पत्रिका कामनामात्रै हो ।

कामना प्रकाशन सुरु हुनुअगाडि नै ‘कलाकार आवाज’ ‘रूपरंग’ पनि प्रकाशन भएको थियो तर अहिले ती पत्रिका प्रकाशन हुँदैनन् ।

मोहन निरौला सम्पादक र राजेश खनाल सहसम्पादक रहेको ‘चलचित्र’ पाँच वर्ष प्रकाशन भयो । सोही समयमा प्रकाशित गीताञ्जली पनि अहिले अस्तित्वमा छैन ।

जेबी किराती राईको सम्पादनमा प्रकाशित ‘मनोकामना’ ले केही समय राम्रै चर्चा पायो । उर्वशी, चाँदनी, श्री, अप्सरा, रोशनी, पूर्णिमा, सिनेस्टार, मञ्जुषा, सिनेमा टाइम्स, कुमारी, तरंग, मनको तरंग, माधुरी, भावना, ढुकढुकी, सिमल, स्क्रिन, वारपार, कलिउड स्टार, प्राइम म्यागजिन, सानो पर्दा, कलाश्री, सिने सम्झना, कलापुञ्ज, सिनेमा समर्पण, सिने हटलाइन, स्टारडम, झन् सिनेमालगायतका धेरै पत्रिका आए गए ।

आरडी शृंखलाको ‘सिनेयात्री’ बेला–बेलामा प्रकाशनमा आइरहेका छन् । रामराजा फुँयालको ‘ग्ल्यामर प्लस’ पनि अहिले प्रकाशनमा छैन । संगीत समेटिएको म्युजिक डायरी प्रकाशन हुँदै छ ।

चलचित्र पत्रकार संघ अध्यक्ष शान्तिप्रियको ‘फिल्मी खबर’ पछिल्लो समय निरन्तर प्रकाशन हुने साप्ताहिक चलचित्र पत्रिका हो । आरके सुवेदीले पनि साप्ताहिक रूपमा ‘बक्स अफिस’ प्रकाशन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार