इजरायलबाट कृष्णकला वनेमले भनिन्– यता आएपछि साहित्य लेखन ‘स्ट्रोङ’

दीपेन्द्र राई

घरबाट विद्यालय पुग्न १५ मिनेट लाग्थ्यो । जहाँ उनले निम्नमाध्यमिक तहसम्मको पढाइ पार लगाइन् । धनुषा निम्नमाध्यमिक विद्यालय झापाका सबै शिक्षक–शिक्षिकाले उनलाई हृदयदेखि नै माया गर्थे । माया नगरून् पनि कसरी । जसले विद्यालयको इज्जत राख्छ, जो पढाइमा अब्बल छ, ऊसँग विद्यालयले धेरै कुरा आस गरेको हुन्छ । अनि उसैलाई त हो शिक्षक–शिक्षिकाले माया गर्ने ।

धनुषा निम्नमाध्यमिक विद्यालय पढ्दा उनी कहिल्यै दोस्रो भइनन् । न तेस्रो, चौथो । सधैँ पहिलो । पढाइमा अब्बल विद्यार्थी भएरमात्रै उनलाई शिक्षक–शिक्षिकाले माया गरेका भने होइनन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उनको सहभागिता नभएको कार्यक्रम नै हुँदैनथ्यो । त्यसमध्ये पनि वादविवाद र हाजिरीजवाफमा उनको सहभागिता अर्थपूर्ण रहन्थ्यो ।

साबिक हल्दीबारीको ८ नम्बर वडा । सुन्दर एवम् शान्त परिवेश । झापा जिल्लाअन्तर्गत गोलधाप, जलथल र सैनिक गाउँ विकास समितिले अँगालो हालेकोजस्तै देखिन्छ– हल्दीबारीलाई । जहाँ कृष्णकला वनेमको सालनाल गाडिएको छ । सानैदेखि चित्त नबुझेको विषयमा विद्रोह गरिहाल्ने उनी कहिलेदेखि साहित्य सिर्जनामा लागिन् ? उनले स्काइप कुराकानीमा सुनाइन्, ‘साहित्यिक किताब र पत्रपत्रिका सानैदेखि पढे पनि १४ वर्षको हुँदासम्म मैले केही लेखिनँ ।’

१५ वर्ष टेकेपछि वनेमले नलेखी बस्न सकिनन् । लेखनको पहिलो प्रयास गीतिनाटक थियो । त्यसपछि एकांकी नाटक पनि लेखिन् । अनि उनको कलम साहित्यको विभिन्न विधामा दौडिन थाल्यो । कलमको दौडाइ लोभलाग्दो थियो । नभन्दै एक सय नौ गीत समेटिएका ‘बिर्सिएका गीतहरू’ गीतिसंग्रह र नौ कथा समेटिएका ‘अविश्वासको तरंग’ नामक उनको कथासंग्रह सार्वजनिक भइसकेको छ । उनले भनिन्, ‘एक सय नौ गीत समेटिएका अर्काे गीतिसंग्रह, ८० गजल समेटिएका गजलसंग्रह, दुई सय ५० मुक्तक समेटिएका मुक्तकसंग्रह, एक गीतिनाटक र एक एकांकीनाटक संग्रह प्रकाशोन्मुख छ ।’

सिर्जनशील र विधागत ज्ञान हुनेले नै त हो लेख्ने । यसको उदाहरण कृष्णकला वनेमलाई लिन सकिन्छ । उनको प्रकाशित र प्रकाशोन्मुख कृतिको नाममात्रै लिए पुग्छ । उनी साहित्यको एउटा विधामा मात्रै खुम्चिएकी छैनन् । र, खुम्चनु पनि हुँदैन । अरूले लेखेको पढेर गजल लेख्न थालेको बताउने उनको गजलसंग्रह नै प्रकाशन तयारीमा रहेको छ । अरूले लेखेको पढेर गजल लेख्न थालेकी उनले सम्बन्धित विधाको सैद्धान्तिक ज्ञान लिन पछि परिनन् । आखिर इच्छा भएपछि उपाय कति–कति हुँदोरहेछ ।

साहित्यिक साधकलाई साहित्य किन लेख्नुहुन्छ भनेर ‘रेडिमेड क्वैसन’ सोध्ने गरिन्छ । सोधेपछि उत्तर दिन करै लाग्छ । कसैले भन्छन्– आत्मसन्तुष्टिका लेख्छु । अर्काेले भन्लान्– देशका लागि लेख्छु । तेस्रोले भन्लान्– विश्वका लागि लेख्छु । यही प्रश्न कृष्णकला वनेमलाई सोधियो भने के भन्लिन् ? उनको सहज उत्तर छ, ‘म पनि आत्मसन्तुष्टिका लागि लेख्छु, समाजका लागि लेख्छु, देशका लागि लेख्छु, विश्वका लागि लेख्छु । तर, त्योभन्दा धेरै जातीय पहिचानका लागि लेख्छु । संस्कृतिका लागि लेख्छु ।’ हो, उनको लेखाइमा दम छ । उनी आफूभित्रको उकुसमुकुसलाई सांस्कृतिक लेपन लगाएर लेख्न सिपालु छिन् । आफूभित्र जन्मेको भावना साहित्यको विधागत संरचनाभित्र रहेर प्रस्तुत गर्ने उनको लेखनीमा लिम्बू जातिको डल्लै संस्कृति अटाएका छन् । जान्ने चाहना राख्नेले कृष्णकला वनेमको गीत, गजल, कथा, मुक्तक, गीतिनाटक र एकांकी नाटक नपढी सुखै छैन । आदिवासी जनजातिअन्तर्गत लिम्बू जाति सांस्कृतिक रूपमा निकै धनी मानिन्छ ।

वैदेशिक रोजगारीक्रममा इजरायलमा रहेकी उनलाई इजरायलले धेरै कुरा दिएको छ । उनको बुझाइ छ, ‘म यता नआएको भए मेरो लेखाइले कुद्ने अवसर पाउँथेन । म गृहिणीमै सीमित रहन्थेँ । त्यसो भएपछि मेरो लेखाइले बामे सर्नभन्दा बढी केही गर्न सक्दैनथ्यो ।’ भनेपछि इजरायले उनलाई ‘इकोनोमिक’ रूपमा मात्रै ‘स्ट्रोङ’ बनाएको छैन, साहित्यिक रूपमा पनि त्यत्तिकै बलशाली बनाएको छ । इजरायलमा सोचेभन्दा सजिलो काम पाएपछि उनी ड्युटीमै रहँदा पनि लेख्न सक्छिन् । ड्युटीको समयसमेत सदुपयोग गरेर साहित्यमा खर्चने उनले अलिकति पनि समय खेर फालेकी छैनन् । साहित्यिक व्यक्तित्वको परिचयसमेत बनाएपछि उनलाई आदर, सम्मान नगर्ने को होलान् । गर्ने नै भए ।

मुलुकको एकपाखे नीतिले नेपालका आदिवासी जनजातिलाई पार्नसम्म असर पारेको छ । त्यसको चोट कृष्णकला वनेमले पनि भोग्दै छिन् । १०४ वर्षे जहानियाँ राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था, दसवर्षे सशस्त्र द्वन्द्वले समेत आदिवासी जनजातिलाई नै बढी मात्रामा पिरोल्यो । उल्लिखित तीन शीर्षकको उत्पीडनले थुप्रै कृष्णकलाहरूलाई वैदेशिक रोजगारीमा धकेलेको छ । तर पनि, कृष्णकला वनेमले आफूलाई दह्रो बनाएर पृथक पहिचान, परिचय बनाउन सफल छिन् । यो मामिलामा भने वदैशिक रोजगारीमा गएकाले कृष्णकला वनेमबाट धेरै कुरा सिक्नुपर्छ ।

महिलाका लागि इजरायल सुरक्षित गन्तव्य मानिन्छ । वैदेशिक रोजगारीका लागि उनले पनि यही देश रोजिन् । आम्दानी, मानसम्मान, सामाजिक सेवा गर्ने अवसर पनि उनलाई इजरायलले नै दियो । अनि यहाँका रोगी, शारीरिक रूपमा अशक्त र वृद्धवृद्धाको सेवा गर्ने मौका पाइन् । इजरायल उड्नु अघिल्लो रात उनी निकै तनावमा थिइन् । आफ्नो परिवारदेखि सारा–सारा त्यागेर त्यता जानुको पीडा शब्दमा व्यक्त गर्न जोकोहीलाई गाह्रो हुने नै भयो । तर, अहिले उनी हाँसी–खुसी छन् । हिजोआज उनी इजरायलमा एक्लै छैनन् । दुई छोरीलाई पनि इजरायल लगेकी छन् । परदेशमा पनि आमा र दुई छोरी सँगै रहन पाउने मौका कमैलाई मिल्ला । इजरायलले कृष्णकलाको सपना पूरा ग¥यो कि नाइँ ? उनले भनिन्, ‘देखेजति सपना पूरा त कहाँ हुन्छ र, तर जे–जति पूरा भए त्यसैमा सन्तुष्ट छु ।’ हुनु पनि हो, सन्तोषभन्दा ठूलो सम्पत्ति केही हुँदैन । जो कृष्णकलासँग छ ।

कृष्णकलाको बुझाइ छ– जीवन भनेको नदी हो, जो अविरल बगिरहन्छ । जीवनको नदी बग्दै जाँदा उनी पनि नेपालबाट इजरायल पुगेकी छन् । नदीले बगेरमात्रै आफ्नो धर्म पूरा हुँदैन । छेउछाउका खेतबारीमा सिन्चन गर्नुमा मात्रै उसको बगाइको अर्थ पूर्ण हुन्छ । त्यस्तै कृष्णकलाको जीवनरूपी नदी अर्थपूर्ण रूपमा बग्दै गएको छ । उनले इजरायलमा कमाएको रुपैयाँ आफ्नो थैलीमा कोचेरमात्रै राखेकी छैनन् । सम्बन्धित व्यक्तिको थैलीमा सन्चित गरिराखेको रुपैयाँले खासै अर्थ राख्दैन । उनले आफूले आर्जन गरेको रुपैयाँ सामाजिक काममा समेत सदुपयोग गरेकी छन् । वैदेशिक रोजगारीक्रममा विभिन्न देश पुगेका नेपालीलाई आपतविपत परेको बेला उनी चुपचाप बस्न सक्दिनन् । आपतमा परेकालाई सहयोग गर्न उनले मासिक रूपमा निश्चित रुपैयाँ छुट्याएकी छन् । आपतविपत परेकालाई सहयोग गर्दा उनलाई सबैभन्दा बढी खुसी मान्ने उनले ठूलो र महत्वाकांक्षी सपना देखेकी छैनन् रे । सपना त ठूलै देख्नु भन्छन् । तर, उनको मान्यता छ– पूरा हुने सपना देख्नुपर्छ । महत्वाकांक्षी सपना देख्न थालियो भने मानिसले बाटो बिराउन पनि सक्छन् ।

बाटो बिराउनेका लागि कृष्णकलाको बुझाइ गुरुमन्त्र मान्दा जोकोहीलाई भलो नै हुनेछ । उनी तत्काल नेपाल फर्कने मनस्थितिमा छैनन् । नेपाल फर्केपछि यही गर्छु भनेर उनले योजना पनि बनाएकी छैनन् । बाल्यकालमा गोठाला जान भाइबहिनीसँग सानोतिनो युद्ध नै गर्ने उनलाई त्यही बाल्यकाल सम्झेर परदेशमा रहँदा पनि खुसी हुने गर्छिन् । कक्षा एकदेखि आठ कक्षा पुग्दासम्म आठपटक प्रथम पुरस्कार पाएकी उनले जिल्लाव्यापी लोकगीत प्रतियोगिता र क्षेत्रीय लोकगीत प्रतियोगितामा क्रमशः पहिलो र सान्त्वना पुरस्कार पाएकी थिइन् । त्यतिमात्रै होइन, बाल्यकालमा साथीसँगातीसँग डुम, चुँ, कबड्डी, डोरी नाघी, गोटी, सिन्का लुकाइ, खुट्टा नाघी खेल्दाको बालापन सम्झँदा मात्रै पनि परदेशमा रहँदासमेत उल्लिखित ‘फ्ल्यासब्याक’ ले उनलाई आफू गाउँघरमै रहेको महसुस गराउँछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार