कतारमा कार्यरत नेपाली सुरक्षित


काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षासम्बन्धमा विशेष चासो व्यक्त गरेका छन् ।

कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले शुक्रवार गरेको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाबारेमा जानकारी लिए। आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै उनले नेपालले शान्तिपूर्ण तवरबाट समस्या समाधान होस् भन्ने चाहेको बताए। उनले आवश्यक परेमा नेपालले समेत शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाए ।

मन्त्री महराले कतारका व्यवसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी सरकारको ध्यान जानुपर्ने बताए ।

जवाफमा कतारका राजदूत हमरले कतार र अरब राष्ट्रमा कतारका व्यवसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाए । उनले अरब मुलुकमा देखिएको कूटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

नेपाल–कतारबीच सहयोग आदान–प्रदान आवश्यक

यसैगरी, गृहमन्त्री जनार्दन शर्माले नेपालका लागि कतारका राजदूत हमरसँग शुक्रवार भएको भेटमा कतारको विकासमा नेपाली नागरिकको श्रम तथा सीपको लगानी भएको र उसको समृद्धिमा नेपाल सन्तुष्ट भएकोे बताए ।

गृह मन्त्रालयमा शुक्रवार भएको शिष्टाचार भेटवार्तामा मन्त्री शर्माले दुवै राष्ट्रबीच आपसी सहयोग आदान–प्रदान गर्न आवश्यक रहेको बताउँदै सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताको शुभकामना दिए।

कतारी राजदूतले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन व्यवस्थित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन सफल भएकामा गृहमन्त्री शर्मालाई बधाई दिए। राजदूत हमरले कतारमा हुन लागेको विश्वकप फुटबलको तयारी लगभग पूरा भएको जानकारी गराउँदै नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार