३५ फिट उचाइको चिन्डो स्तम्भ


मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सविता राईले संयुक्त रूपमा उक्त स्तम्भको शिलान्यास गरेका हुन् ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहल र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान मूर्तिकला विभाग प्राविधिक सहयोगमा स्तम्भ निर्माण थालिएको हो । प्रतिष्ठान मूर्तिकला विभागप्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्वमा सात सदस्यीय टोलीले निर्माण सुरु गरेको हो । टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेशबाबुलगायत मूर्तिकार संलग्न छन् ।

स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समिति पूर्वअध्यक्ष लक्ष्मण राई तथा राईका चार दाजुभाइले एक रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समिति अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा यो स्तम्भ निर्माण गर्न लागिएको हो । स्वालेवा स्तम्भवरिपरि पर्खाल घेराबार हुनेछ । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालय निर्माण हुनेछ ।

संस्थाको अनुरोधमा देश/विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटाइएको हो । जग्गादाता सदस्य तथा स्तम्भ निर्माण अभियन्ता मुम्चे राईका अनुसार हालसम्म पाँच लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । ‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट स्टिमेट गरिएको हो,’ अभियन्ता राईले भने, ‘अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको छ । हामीले स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउनेछौं ।’

अध्यक्ष राईले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक आफ्नो समुदायको पहिचान स्तम्भ शिलान्यास गरेको उल्लेख गर्दै जनताको भाषा, धर्म, लोकसंस्कृति नै देशको सम्पत्ति भएको बताए । त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष सविता राईले उँबु गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर स्वालेवा स्तम्भ निर्माणलाई प्राथमिकतामा राखेको बताइन् ।

प्राज्ञ याक्खाले ललितकला प्रज्ञाप्रतिष्ठानको मूल उद्देश्य सरकारको विभिन्न निकायले कुनै पनि ठाउँ र समुदायको विकास गरेसँगसँगै त्यहाँको कलाको विकास गर्नु रहेको बताए । स्वालेवा स्तम्भ निर्माण उपभोक्ता समिति संयोजक सौराज राईले सबै पक्षको सहयोगले निर्माणकार्य तीव्र गतिमा अघि बढेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार