अर्थात् अनिल

दीपेन्द्र राई

सपना ठूलै देख्नु भन्छन् । उनले पनि दुई सपना देखेका थिए । पहिलो सपना लाहुरे बन्छु भन्ने थियो । दोस्रो सपना थियोे इन्जिनियर बन्ने । सपना साकार पार्न उनले भरमग्दुर प्रयास गरे । ‘लाहुरे बन्न त सकिनँ, सकिनँ,’ अनिल राईले सुनाए, ‘तर, दोस्रो सपना पनि पहिलोले हत्या गरिदियो ।’ इन्जिनियर पढिरहेका उनको लाहुरे बन्ने भूतले पढाइमा बाधा पुग्यो । दुवै सपना सपनामै सीमित रहे पनि अरू नै क्षेत्रमा भविष्य खोज्ने प्रयत्न गरिरहेका छन् ।

पहिलो सपना साकार बनाउन चारपटक लाहुरे बन्ने लाममा उभिएका राईले पहिलोपटक लाहुरे बन्नेक्रममा धरानबाट गेटपास पाएर पोखरासम्म पुगे । त्यहाँबाट गेटपास पाउन सकेनन् । दोस्रोपटक उही लाममा उभिए पनि धरानबाटै गेटपास पाउन सकेनन् । तेस्रोपटक प्रतिस्पर्धा गर्दा पोखरासम्म पुगे । त्यहाँबाट घर फर्कनुपर्यो । चौथोपटक धरानमै सीमित रहे ।

लाहुरे बन्ने ध्याउन्नमा ६ वर्ष खेर फाले । यो समयावधिमा चारपटक प्रतिस्पर्धा गरे । तर, सफल हुन सकेनन् । लाहुरे बन्ने ध्याउन्नमा ६÷६ वर्ष खर्चे पनि सफल नहुँदा त्यति बिस्मात लागेको छैन । निराश भएको छैन । ‘म सानोछँदादेखि लाहुरे बन्छु भन्ने अठोट लिए पनि त्यो सम्भव भएन । नभए पनि बाँकी जीवन हराभरा बनाउन लागिपरेको छु,’ बुइपा, खोटाङनिवासी उनले प्रस्ट्याए, ‘कतिपय साथी लाहुर नलागेपछि निराश भएर बाटो बिराएका छन् तर मलाई त्यो रोगले छोएको छैन । मलाई मेरो परिवारले सहयोग गरेकाले म लाहुरे नभए पनि मैले बाटो बिराइनँ । दिदी जयन्ती राईले पनि बालबाल सुझाइरनुहुन्थ्यो । त्यसैले दुवै सपना अधुरो रहे पनि निराश भइनँ । न बाटो बिराएँ ।’

बुवा शिक्षक । उनी लाहुरे बन्ने इच्छा व्यक्त गर्थे । बुवाले ‘इन्स्पायर’ गर्थे । म लाहुरे बन्न नसके पनि पढाइमै केही गरेर देखाउनेछु । आफूले देखेको तेस्रो सपना साकार पार्न दिलोज्यान दिएर लागिपरेका छन् । ‘म लाहुरे नबने पनि लाहुरे बनाउने अभियानमा जुटेको छु,’ उनले गर्व गरे, ‘त्यही भएर साथीहरूसँगको सहकार्यमा गोर्खा बेस क्याम्प नामक संस्था स्थापना गरेका छौं । संस्थाले लाहुरे बन्न चाहनेलाई तालिम दिन्छ ।’

क्याम्प स्थापनासँगै उनले लाहुरे बन्ने चाहनेलाई दृष्टिगत गर्दै ‘गोर्खा मेडिसिन’ नामक किताब लेखेका छन् । यही किताब पढेर र गोर्खा बेसक्याम्पमा तालिम लिनेहरू संस्थाप्रति आभारी छन् । लाहुरे बन्न यो किताब पढ्ने त्यत्तिकै खुसी छन् ।
लाहुरे कसरी बन्ने भनेर थुप्रै किताब बजारमा पाइन्छन् । किताबको भीडमा गोर्खा मेडिसिन नै किन पढ्ने ? भनेर मलाई सोध्नुहुन्छ भने मेरो उत्तर यस्तो हुन्छ, ‘म स्वयम् लाहुरे बन्ने तयारी गर्दा तीन/चारजना लेखकले लेखेको किताब पढेँ । ती किताब त्यो समयमा राम्रो भए पनि समयक्रममा ब्रिटिस आर्मी प्रतिस्पर्धीका लागि क्वैसन मोडलदेखि हरेक कुरा चेन्ज हुँदै आउँदा पनि पुरानै किताबमा घोत्लिनुभन्दा आफैँले किताब किन नलेख्ने भन्ने लाग्यो । मेरो किताब अन्य लेखकको भन्दा नितान्त पठनीय छ ।’ पठनीय कसरी भन्नुहुन्छ भने लाहुरे बन्ने तयारी गर्दा मैले ६ वर्ष खर्चेको छु । ६ वर्षको अनुभवले मलाई किताब लेख्न सजिलो भइदियो । त्यतिमात्रै होइन, विशेषगरी ब्रिटिस आर्मीसम्बद्ध थुप्रैलाई भेटेर कुराकानी गरी उहाँहरूबाट प्राप्त सूचना किताबमा समावेश गरेको छु । ब्रिटिस आर्मीका लागि प्रतिस्पर्धा गर्नेहरूसँग कुराकानी गरी ‘क्वैसन करेक्सन’ गरी ‘मोडेल क्वैसन’ तयार गरेको छु ।

उनले लेखेको किताब पढेर धेरैले ‘कमेन्ट’ गरेका छन् । किताब पठनीय लाग्यो भन्ने पनि कम छैनन् । ‘तपाईं लाहुरे बन्ने तयारीमा हुनुहुन्छ भने गोर्खा बेसक्याम्पमा आउनुहोला,’ उनले अनुरोध गरे, ‘यो क्याम्प ‘इनर्जेक्टिक’ युवाको टिम हो । टिममा चारजना छौँ । चारजनाको आ–आफ्नै ‘डिपार्ट’ छ । म एजुकेसन सेक्टर हेर्छु । तालिममा अन्चल गुरुङ छन् भने मनोज राईको लोभलाग्दो व्यवस्थापन हेर्न गोर्खा बेसक्याम्प हेर्न आउनुहोला ।’ यसका अलावा अवकाशप्राप्त लाहुरेको साथ/सहयोगले गोर्खा बेसक्याम्पको लोकप्रियता उकालोलाग्दो छ ।

‘ट्रेनिङ कप्लिट’ गर्न ६ महिना लाग्छ । तर, सबैसँग ६ महिना समय नहुन सक्छ । तसर्थ, आफूलाई अनुकूल मिलाई कसैले तीन, कसैले चार महिना समय दिँदा हुन्छ । शुल्क नेपाल फिजिकल फिटनेस ट्रेनिङ सेन्टरले तोकेअनुसार लिइन्छ ।
तपाईंले पनि लाहुरे बन्ने सपना देख्नुभएको होला । कतिपयले पटक/पटक फाइट गर्नुभएको होला । तर, सफल हुनुभएको छैन भने चिन्ता नगर्नुस् । लाहुरे नबन्दैमा जिन्दगीको जहाज डुबिहाल्छ भन्ने छैन । खोई त म पनि पटक–पटक ‘फाइट’ गरेर पनि सफल हुन सकिनँ । म विचलित भएको छैन । बाँकी जीवनलाई हराभरा बनाउन विभिन्न उपाय छन् । असफल भएको खण्डमा ‘गाइडेन्स’ पाइएन भने सम्बन्धित व्यक्तिले बाटो बिराउन सक्छ । त्यतिबेला ‘राइट गाइडेन्स’ आवश्यक पर्छ । त्यसो भयो भने सम्बन्धित व्यक्तिले कुबाटो लाग्नबाट बच्न सक्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार