इलामका समाजसेवीद्वारा ज्येष्ठ नागरिकलाई पशुपतिनाथ दर्शन

इलाम । माईभगवती वृद्धाश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई युवा समाजसेवी सुमन श्रेष्ठले पशुपति दर्शनका लागि काठमाडौँ लगेका छन् । साउनको पहिलो सोमवार पशुपतिनाथ दर्शन गराउने हेतुले समाजसेवी श्रेष्ठले शनिवार नै ज्येष्ठ नागरिकलाई काठमाडौँ लगेका हुन् ।

उनले वृद्धवृद्धालाई पशुपतिनाथको दर्शन गराउँदै आएका छन् । आश्रममा रहेका आठ ज्येष्ठ नागरिक, दुई सहयोगी र आफैँ गरी ११ जनाको टोली गत शनिवा काठमाडौँ प्रस्थान गरेक थिए ।

पशुपतिनाथ दर्शन गर्न जान पाउँदा ज्येष्ठ नागरिक उत्साहित छन् । ज्येष्ठ नागरिकलाई यसअघि नै हेलिकोप्टर चढाएर ताप्लेजुङको पाथिभरा दर्शन गराएपछि पशुपतिनाथ दर्शन गराउने श्रेष्ठले यसअघि नै वृद्धवृद्धालाई प्रतिबद्धता जनाएका थिए।

पशुपतिनाथ दर्शन गर्न पाउँदा हर्षित हुँदै १२ वर्षदेखि आश्रममा बस्दै आएकी ७९ वर्षीया देवकुमारी घिमिरेले भनिन्, “सुमन हाम्रा लागि भगवान्सरह हुनुहुन्छ, छोराछोरीले गर्नुपर्ने कर्तव्य आज उहाँले गर्नुभयो ।” ज्येष्ठ नागरिकले पशुपति दर्शन गर्न जान पाउनु अहोभाग्य भएको प्रतिक्रिया दिए । श्रेष्ठले आफ्नै खर्चमा ज्येष्ठ नागरिकलाई तीर्थाटन गराएका हुन् ।

ज्येष्ठ नागरिकको सेवामा आफूलाई आत्मसन्तुष्टि मिल्ने बताउँदै श्रेष्ठले भने, “ज्येष्ठ नागरिकको सेवामा जीवन समर्पण गर्नुपरे नि पछि हट्दिनँ ।” सामाजिक काममा सधैँ अग्रसर रहने श्रेष्ठले विभिन्न सेवामूलक कार्यसमेत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार