संविधानबमोजिम १ सय ६५ निर्वाचन क्षेत्र कायम

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने बताएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ५५औं वार्षिकोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्न आग्रह गरे । उनले आगामी मंसिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताउँदै “माघ ७ भित्र सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ, निर्वाचन क्षेत्र निर्धारण आयोगको एक/दुई दिनभित्रै निक्र्यौल हुनेछ, संविधानको सर्वस्वीकार्यता बढाई देशलाई समृद्धितर्फ अघि बढाउन सबैको ध्यान जानुपर्ने जिकिर गरे ।

‘देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, “देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका छ, स्थानीय निकायमा इञ्जिनियर लगायत सबै कर्मचारीको मनोबल उच्च बनाउन सुविधा र जिम्मेवारीको सुनिश्चितता गरिने विश्वास दिलाउँछु ।”

प्रधानमन्त्री देउवाले अझै पनि भूकम्पपीडित पालमुनि बस्न बाध्य रहेको उल्लेख गर्दै उनीहरुको उचित व्यवस्थापनका लागि इञ्जिनियरलगायत सबैको सक्रियता आवश्यकता औंल्याए । इञ्जिनियरको क्षमता अभिवृद्धिका लागि एसोसिएसनले स्टाफ कलेज निर्माण माग गरेकोमा त्यसका लागि आफू सकारात्मक रहेको उनले बताए ।

पूर्वमन्त्रीद्वय लक्ष्मण घिमिरे र गणेश साहले विज्ञान र प्रविधिको विकास गर्न कम्तीमा देशको एक प्रतिशत बजेट लगानी गरी इञ्जिनियरिङ पेसालाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

एसोसिएसन अध्यक्ष हरेराम श्रेष्ठले स्थानीय निकायमा इञ्जिनियरलाई खटाउँदा उच्च मनोबलसाथ काम गर्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउँदै इञ्जिनियर पनि पेसाप्रति मर्यादित र जिम्मेवार ढङ्गले देश निर्माणमा जुट्नुपर्ने सुझाए ।

सो अवसरमा एसोसिएसनले संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरणलाई उत्कृष्ट सम्मान तथा प्राधिकरणकै प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । यसैगरी, इं ईश्वरीमान प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ भने उत्कृष्ट काम गर्ने इञ्जिनियर दामोदर आचार्य, डा. सुधा श्रेष्ठ र देवेन्द्रकुमार झालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार