एउटै गाउँमा साढे दुई करोडको गोलभेँडा


हिलिहाङ गाउँपालिका पाँचथरको एउटै गाउँमा साढे दुई करोड रुपैयाँको गोलभेँडा उत्पादन भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ–१ अमरपुरमा आर्थिक वर्ष २०७३/०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो ।

यहाँ उत्पादित गोलभेँडाको प्रतिकिलो सरदर मूल्य १३ कायम गर्दा झन्डै तीन करोडबराबरको गोलभेँडा अमरपुरमा मात्रै उत्पादन भएको हो । अमरपुरमा ५८० किसानले व्यावसायिक रुपमा गोलभेँडा खेती गरेको जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।

यहाँका ५८० किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेँडा लगाएका थिए । उक्त गोलभेँडाका बिरुवाबाट प्रतिबोट कम्तीमा दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ । प्रतिबोट दुई किलो गोलभेँडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेँडा उत्पादन भएको देखिन्छ । तर, एउटै बोटमा ६ किलोसम्म गोलभेँडा फलेको त्यहाँका किसान बताउँछन् । “एउटै बोटमा ६ केजीसम्म गोलभेँडा उत्पादन भएको छ,” गोलभेँडा किसान तुलसी ढकालले भने, “सबै बोटमा एकैनासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै तर दुई किलोभन्दा कम कुनै बोटमा पनि फल्दैन ।” न्यूनतम उत्पादनलाई मापन गर्दा एउटै गाउँमा करोडौँको गोलभेँडा उत्पादन भएको देखिन्छ ।

पकेट कार्यक्रमअन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेँडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो । साना सिँचाइका लागि पाइप, प्लास्टिक क्रेट, स्पेयर, मल, बीउ, विषादी, सुष्म खाद्यतत्वसमेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो । मिहिनेत गर्दा आफूले सोचेभन्दा राम्रै गोलभेँडा उत्पादन भएको किसान बताउँछन् । त्यहाँ उत्पादित गोलभेँडा झापाको विर्तामोडसम्म निर्यात हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार