जाँतो पिँध्न खेताला

दीपेन्द्र राई

16129441_10210113384304459_612507415_o

धेरै खेतबारी हुनेले बालीनाली लगाउन र उकेर्न (उठाउन) खेताला लगाउने परम्परा गाउँघरतिर हिजोआज पनि कायमैै छ । तर, जाँतो पिँध्नसमेत खेताला लगाउने परम्परा भने विरलै सुन्न पाइन्छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि १९ कोष दूरीमा रहेको गुदेलस्थित चाचालुङमा जाँतो पिँध्न खेताला लगाउने गरिन्छ । कुटानी–पिसानीका लागि जाँतोमै भर पर्ने यहाँका स्थानीय परापूर्वकालदेखि जाँतो पिँध्न खेताला लगाउँदै आएका हुन् ।

खेताला जानेले सम्बन्धित घरमा दुईदेखि साढे दुई घन्टासम्म जाँतो पिँध्न सघाउनुपर्छ । ‘दुईजनाले जाँतो पिँध्दा शारीरिक भार कम हुनुका साथै थोरै समयमा धेरै अन्न पिँध्न सकिन्छ,’ स्थानीय हीराकमल कुलुङले भनिन्, ‘त्यतिमात्रै होइन जे पिँधिएको हो त्यो राम्रोसँग पिसिन्छ ।’ धान नफल्ने चाचालुङमा कोदो, मकै, गहुँ, वा, जौ र फापर पिँध्दा खेताला लगाउने गरिन्छ ।

गुदेल गाविसभरि भरपर्दाे पानीको स्रोत छैन । पानी नभएको ठाउँमा पानीघट्ट चलाउन सम्भव छैन । ‘कुटानी–पिसानीका लागि महिला नै अघि सर्नुपर्छ,’ गुदेल–६ चाचालुङकी परिसुख राईले भनिन्, ‘जाँतो पिँध्न खेताला लगाउने परम्पराले स्थानीय महिलालाई समयमै घरभित्रको काम सकेर घरबाहिरको काम गर्न पुरुषलाई सघाउन भ्याइन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार