दामी दोलखा

दीपेन्द्र राई

गौरीशंकर हिमाल
गौरीशंकर हिमाल

गौरीशंकर नेपालको ऐतिहासिक हिमाल हो । यो हिमाल दोलखा जिल्लामा पर्छ । ७१३४ मिटर उचाइमा रहेको गौरीशंकर हिमाललाई आधार मानेर नेपालको समय मापन गरिन्छ । दोलखा पुगेका जोकोहीले धितमरुन्जेल गौरीशंकर नियाल्ने गर्छन् । गौरीशंकर पदयात्राका लागि सालिन्दा हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

काठमाडौंको पुरानो बसपार्कमा गाडी चढेको चार घन्टापछि दोलखा पुगिन्छ । दोलखालाई सगरमाथाको प्रवेशद्वारसमेत भनिन्छ । पैदल हिँडेर सगरमाथा जानेहरू यही बाटो भएर जाने गर्छन् । सगरमाथा आरोहणका लागि तेन्जिङ शेर्पा र एडमन्ड हिलारी यही बाटो हिँडेका थिए ।

दोलखामा घुम्नपर्ने थुप्रै पर्यटकीय स्थल छन् । यहाँ आइपुगेपछि कालिन्चोक पुग्न छुटाउनुहुन्न । कालिन्चोक चरीकोटबाट उत्तरमा पर्छ । चरीकोटबाट ६ घन्टा पैदल हिँडेपछि कालिन्चोक पुगिन्छ । ३६१० मिटर उचाइमा रहेको कालिन्चोकबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेकोे दृश्य लोभलाग्दो देखिन्छ । यहाँबाट गौरीशंकर, सगरमाथा, गणेश, मेलुंगो, नुम्बुर, दोर्जे ल्हाक्पालगायत हिमशृंखला कालिन्चोकभन्दा होचो देखिन्छ ।

कालिन्चोकबाट एक घन्टा उकालो हिँडेपछि टमाचेडाँडा पुगिन्छ । ३२०० मिटर उचाइ रहेको यो डाँडामा सालिन्दा तीनपटक मेला लाग्ने गर्छ । फागुन, चैतमा लालीगुराँस र चिमाल फुलेर यहाँको जंगल राताम्य देखिन्छ । यहाँ पुस, माघमा हिउँ पर्छ । ‘स्नो स्की’ खेल्न पुग्नेगरी हिउँ जम्छ । यो ठाउँ रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, गल्फ, स्काइ डाइभका लागि उपयुक्त मानिन्छ ।

जिरी
जिरी

दोलखा पुगेपछि घुम्नैपर्ने ठाउँ हो– सैलुङ । ३५०० मिटर उचाइमा रहेको ऐतिहासिक तथा प्राकृतिक महत्वको सैलुङमा सय थुम्का रहेका छन् । सय थुम्कामा सय प्रकारका खनिज पदार्थ रहेको भूगर्भविद्हरूले दाबी गरेका छन् । एकताका विदेशी भूगर्भविद्हरू यहाँ आएर खनिजसम्बन्धी अध्ययन गरेको स्थानीयले जानकारी दिए । सैलुङ बौद्ध र हिन्दु धर्मावलम्बीले साझा पवित्र स्थल मान्दै आएका छन् । यहाँ १२ वर्षमा एकपटक मेला लाग्ने गर्छ । यहाँको ओडारमा १२ वर्षमा एकपटक गोदावरी फूल फुल्ने गर्छ । गोदावरी फुल्दा सो ओडारमा दूधजस्तो पदार्थ बग्ने गरेको स्थानीयले बताए । सो पदार्थले नुहाए रोग नलाग्ने र सधैं छाला नरम रहने विश्वास गरिन्छ ।

जिरी दोलखाको प्रमुख पर्यटकी स्थल हो । जिरीलाई नेपालको जुरिचसँग तुलना गर्ने गरिन्छ । स्वीट्जरल्यान्डको जुरिचजस्तै भएकाले जिरीलाई नेपालको जुरिच भनिएको स्थानीय व्यापारी सुमन श्रेष्ठले जानकारी गराए । स्वीट्जरल्यान्डको जुरिच नदेखेकाले जिरीजस्तै त होला जुरिच भनेर चित्त बुझाउने गर्छन् ।

जिरीको चारैतिर जंगल बीचमा स–साना रहरलाग्दा बस्ती । स्वीट्जरल्यान्डको जुरिच र जिरीको हावापानी र भूबनावट मिल्दोजुल्दो भएकाले स्विसहरूले जिरीलाई नेपालको जुरिच भनेर भनेका हुन् । काठमाडौंको बढ्दो सहरीकरण, प्रदूषण र कोलाहलबाट आजित कतिपय सप्ताहान्त मनाउन जिरीतिर पुगिहाल्छन् । पछिल्लो समय जिरीमा गोष्ठी, सेमिनार बाक्लै हुने गरेको छ । काठमाडौंका विभिन्न संघ–संस्थाले समेत गोष्ठी, सेमिनार गर्न जिरीलाई नै प्राथमिकतामा राखेका हुन्छन् ।
सगरमाथा आरोहीको गाउँ भनेर बेदिङलाई चिनिन्छ । यहाँका प्रत्येक घरका मानिसले सगरमाथा चढेका छन् । उनीहरूको भरपर्दाे आयस्रोत भनेकै सगरमाथा चढ्नु हो ।

बेदिङसमेत पर्यटकीय स्थल बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटक बेदिङ घुमिरहेका भेटिन्छन् । दोलखामै पर्छ च्छो रोल्पा हिमताल । एकताका यो हिमताल फुट्न लागेको भनेर सञ्चार (प्रकाशन तथा प्रसारण) माध्यममा राम्रै प्रचार÷प्रसार भएको थियो । यो विश्वमै सबैभन्दा उचाइमा रहेको हिमताल हो । त्यही भएर यो हिमताल हेर्न जोकोही लालायित हुन्छन् । दोलखाको बौलापोखरी र जट्टापोखरी उत्तिकै प्रसिद्ध मानिन्छ ।

नेपालमा पहिलोपटक दोलखाका राजा इन्द्र सिंहले सिक्का (टक) प्रचलनमा ल्याएको इतिहासले पुष्टि गरेको छ । दोलखा आइपुगेको तपाईं पनि नेपालको पहिलो टक्सार घर हेर्न नभुल्नुस् है । आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि मात्रै नभएर यहाँको जैविक विविधतालगायत विभिन्न विषयमा खोज अनुसन्धान गर्न दोलखाको आइपुग्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार