भीरपाखाकै भरथेग

दीपेन्द्र राई

कन्याम
कन्याम

इलामलाई सूर्याेदयको जिल्ला भनेर चिनिन्छ । यहाँबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेको दृश्य देख्न सकिन्छ । इलाम प्रकृतिको सुन्दर छटाले सजिएको छ । इलामको सुन्दरतासँगै गाँसिएर आउने चियाले नेपाली गीत–संगीतमा थुप्रै कर्णप्रिय स्वरलहरी र कलाकार जन्माएको छ ।

पूर्वको बिहानीसँग सूर्याेदयको दृश्य नियाल्न इलाम आइपुगेकाहरू श्रीअन्तुलाई रोज्ने गर्छन् । दार्जिलिङको टाइगरहिलभन्दा यहाँबाट सूर्याेदयको दृश्य प्रस्ट र धेरै समयसम्म देखिने इलामबजारकी इन्दिरा घिमिरेले बताइन् ।

इलाम आइपुगेका पर्यटकलाई सजिलोका लागि जिल्ला सदरमुकाम इलामबजार र अन्तुडाँडामा सूचनाकेन्द्र स्थापना गरिएको छ । यसले पर्यटकका लागि सजिलो बनाइदिएको हो ।

मोतीझैँ टल्किने हिमशृंखला नियाल्न पाउनु इलामको विशेषता हो । श्रीअन्तु, माइपोखरी, सन्दकपुर यहाँको मुख्य पर्यटकीय स्थल हुन् । यीमध्ये कुनै ठाउँ नटेके इलामको यात्रा अधुरो रहने पन्चकन्या, इलामकी सविता राईले ठट्टा गरिन् ।

पर्यटकीय स्थलमात्रै होइन, इलामको चिनारी चियासँग गाँसिएको छ । १० हजार ६ सय हेक्टर भूमि चिया खेतीयोग्य भए पनि इलाममा अहिले १ हजार ६ सय ६५ हेक्टरमा मात्रै चिया खेती गरिँदै आएको तथ्यांकमा उल्लेख छ ।

चिया खेती अलावा इलाम ६ वटा ‘अ’ नामक नगदेबालीका लागि त्यत्तिकै प्रसिद्ध मानिन्छ । ६ नगदेबालीमा अदुवा, अलैँची, अम्लिसो, अकबरे खुर्सानी, ओलन र आलु हुन् । उल्लिखित कृषिजन्य उत्पादनले यहाँका किसानको आर्थिक अवस्था अन्य जिल्लाका भन्दा उकासिएको हो । पछिल्लो समय जिल्लामा अर्काे ‘अ’ थपिएको छ, त्यो हो– आत्महत्या । नेपालमा सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला इलाम रहेको विभिन्न अध्ययनले जनाएको छ । सुम्बेक, श्रीअन्तु, सुलुबुङ जिल्लाकै सबैभन्दा बढी आत्महत्या गर्ने गाउँ विकास समिति हुन् ।

यहाँको भीरपाखा र खोल्सामा समेत पैसा फल्छ । चिया खेतीको होडबाजीसँगै उत्तिस, इस्कुस, नासपाती, घिउ, चिराइतो, चीज, छुर्पी, बाँस, घिउसिमी, सुन्ताला, नेपाली कागज र फूल यहाँका किसानका आम्दानीका नियमित स्रोत हुन् । यहाँका एउटै घरका किसानले सालिन्दा २ लाख रुपैयाँबराबरको त इस्कुसमात्रै बेच्ने पन्चकन्या, इलामका किसान विक्रम राईले सुनाए । राईका अनुसार, कन्याम, पन्चकन्या, कोल्बुङ, पशुपतिनगर, जिर्मले र प्याङका किसानले जिल्लामा सबैभन्दा बढी इस्कुस उत्पादन गर्छन् ।

दुर्लभ रातोपान्डा पनि इलाममा देख्न सकिन्छ । विभिन्न प्रजातिका लालीगुराँसले यहाँ आइपुुगेका पर्यटकको मनै लोभ्याउँछ । त्यसैले होला, वनभोजका लागि इलाम जाऊँ न भन्नेको बाहुल्य रहेको छ । स्कुले विद्यार्थी शैक्षिक भ्रमणका लागि इलाम लैजानुपर्यो भनेर सम्बन्धित विद्यालयका शिक्षकसँग मरिहत्ते गर्छन् । यहाँको प्राकृतिक सौन्दर्य सुनेर मित्रता गाँस्न मन पराउने युवकयुवतीसमेत कम छैनन् । गाउँखाने कथा हाल्दासमेत गाउँ माग्नेक्रममा इलाम माग्नेहरू त्यत्तिकै भेटिन्छन् । देशका विभिन्न जिल्लाका किसान इलामका किसानसँग मित्रता गाँसी कृषि विकासबारे आ–आफ्ना अनुभव अनुभूति बाँड्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार