नर्मल नुवाकोट

दीपेन्द्र राई

goru jujhdaiलामो पदयात्रामा निक्लन जोकोहीको समय नहुन सक्छ । समय हुनेसँग पदयात्रामा निक्लँदा चाहिने रुपैयाँ नभएर दिक्क मान्दै हुनुहुन्छ होला । दुवै समस्या दुष्टिगत गर्दै काठमाडौंआसपासका पर्यटकीय स्थल घुमेर पदयात्रा गर्न सकिन्छ । त्यसका लागि टाढा जानु पर्दैन । काठमाडौंसँगै जोडिएको जिल्ला नुवाकोट घुमेर रमाउन सकिन्छ ।

नुवाकोटमा थुप्रै पर्यटकीय स्थल छन् । यात्रा जहाँबाट थाल्दा पनि हुन्छ । काठमाडौंबाट यात्रा थाल्दै हुनुहुन्छ भने बाटैमा पर्छ ककनी । काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको ककनी उपयुक्त वनभोज स्थलका रूपमा प्रसिद्ध मानिन्छ । त्यतिमात्रै होइन, ककनीमा पर्वतारोहण तालिमस्थलसमेत रहेको छ । साहित्यकार सिद्धिचरण श्रेष्ठले ककनीको प्राकृतिक छटाको तारिफ गर्दै ‘खै के भनांै ककनी तिमीलाई’ शीर्षाकृत संस्मरण (०१९) मा लेखेका छन्, ‘ककनी प्रकृतिको क्रीडास्थल हो । निकै दिन बसेर हामीले यहाँको प्राकृतिक छटा हे¥यौँ । हामी त्यहाँ रहँदा लैनसिंह वाङ्देल आफ्नो कलाशिल्पको कुचीले रंग्याइ हिमालयको विशालता उतार्ने चेष्टा गर्नुहुन्थ्यो भने म प्रकृतिको विशालतामा मख्ख पर्थें र त्यसलाई कलमले उतार्न खोज्थेँ ।’

कृषिका विद्यार्थी र किसानका लागि ककनी र ओखरपौवा सानो–सानो पाठशाला नै हो । स्ट्रेबरी, ट्राउट माछा, च्याउ र मुला उत्पादनका लागि त्यत्तिकै प्रसिद्ध मानिन्छ । ट्राउट माछा खान र सोसम्बन्धी जानकारी लिन नुवाकोटको ककनी र ओखरपौवा मात्रै पुग्ने हो भने पनि आन्तरिक पर्यटन प्रवद्र्धन हुनेछ । ककनी पुगेपछि यहाँको फुङेफुङे झरना हेरेर आनन्दित हुन सकिन्छ ।

काठमाडौंदेखि ७० किलोमिटर दूरीमा रहेको छ– विदुर नगरपालिका । यो नुवाकोट सदरमुकाम हो । विदुर पुगेपछि ३ किमि दूरीमा त्रिशूली जान बिर्सन हुँदैन । त्रिशूली जलयात्राका लागि सबैले मन पराएको ठाउँ हो । जलयात्रा नगरे पनि त्रिशूली पुगेर चिसो पानीमा खुट्टा चोपल्नुको मजा भुक्तभोगीलाई मात्र थाहा हुन्छ ।
त्रिशूली नदी पुगेका जोकोहीले तात्कालिक प्रधानमन्त्री जंगबहादुर राणाले हामफालेको पुल कुन हो भन्दै सोध्ने गरेकोसञ्चारकर्मी नवदीप अजनवीले जानकारी गराए । तात्कालिक राजा सुरेन्द्रविक्रम शाहले प्रधानमन्त्री राणालाई त्रिशूली नदीमा हामफाल्न लगाउँदा उनी घोडासहित हामफालेको पुलको भग्नावशेष अझै देख्न सकिन्छ । विदुरबाट देवीघाटतिर घुमघाम गर्न जान सकिन्छ । जहाँ पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको थियो । घुमघामका लागि त्यहाँ पुगेकालाई स्थानीयले शाहको दाहसंस्कार गर्दाताकाको ढुंगा देखाउने गर्छन् ।

नुवाकोट दरबार
नुवाकोट दरबार

नुवाकोट दरबार यहाँको अर्काे पर्यटकीय स्थल हो । विदुरबाट ४ किमि दूरीमा रहेको सुरुमा नौतले दरबार सम्बत् १९९० मा गएको भूकम्पले दुई तला भत्केपछि सात तलामा सीमित भएकोे हो । ०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि ०६८ वैशाख १३ बाट नुवाकोट दरबार संग्रहालयका रूपमा परिणत भएको थियो । सर्वसाधारणका लागि प्रवेश निषेध सो संग्रहालय ०६५ मै राष्ट्रियकरण गरिएको थियो । नुवाकोट दरबार ः गन्तव्यको सम्भावना शीर्षाकृत आलेखमा सञ्चारकर्मी श्याम रिमालले लेखेका छन्, ‘पारिवारिक कचिंगलले रणबहादुर शाहले कान्तिपुरको शासन पाटन र उनका छोरा गीर्वाणयुद्धविक्रम शाहले नुवाकोट दरबारबाट गरेका थिए ।’

नुवाकोटको खिन्चेतमा रहेको बाघभैरव बगैँचा ऐतिहासिक मानिन्छ । सञ्चारकर्मी रिमालका अनुसार सम्बत् १८६८ मा जनरल भीमसेन थापाले पाल्पा जाँदा खरले ढाकिएको खिन्चेतको चौरलाई यहाँको उष्ण हावाअनुरूप आँपको बगैँचा लगाउन योग्य ठानी स्थानीयलाई करिब ७०० बोट आँपको कलमी सार्न लगाई बगैँचा बगाउन लगाए । त्यही बगैँचा आजसम्म ‘खिन्चेत बाघबगैँचा’को नामले प्रसिद्ध छ ।

ढाकाटोपीका लागि पाल्पा र घङ्गरु लठ्ठीका लागि खोटाङले प्रसिद्धि पाएजस्तै पछिल्लो समय नुवाकोटमा लोकप्रिय बन्दै गएको छ– गोरु जुधाउने प्रतियोगिता । तारुका–५ चन्दनी र गेर्खु–६ बेत्रावतीमा सालिन्दा माघ १ मा गोरु जुधाउने गरिन्छ । सम्बत् १९७८ देखि नुवाकोटमा गोरु जुधाउन थालिएको हो । नुवाकोटमा हुँदै आएको गोरु जुधाउने प्रतियोगिताले स्पेनको राष्ट्रिय खेल ‘बुलफाइट’को सम्झना गराउने सञ्चारकर्मी अजनवीको तर्क छ । सम्बत् १९७८ मा बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुका–५ चन्दनीमा रहेको मामाघर आउँदा भान्जालाई मनोरञ्जन दिने उद्देश्यले गोरु जुधाउने परम्परा थालिएको बताइन्छ । यसबारे ऐतिहासिक प्रमाण भने फेलापरेको छैन । तर, जिल्लामा गोरु जुधाउने प्रतियोगितालाई जात्राका रूपमा मनाउन थालिएको छ । सालिन्दा हुँदै आएको यो प्रतियोगिताले नुवाकोटको आन्तरिक पर्यटन प्रवद्र्धन भएको दानसिङ, नुवाकोटका हरिशरण खनालको ठम्याइ छ ।

नुवाकोट पर्यटकीयमात्रै होइन ऐतिहासिक ठाउँ पनि हो । तिब्बती राजा स्रङचङ गम्पोसँग बिहे गरेकी भृकुटी यही बाटो भएर तिब्बत जाने र नेपाल फर्कने गर्थिन् । भीमसेन थापा यही बाटो भएर पाल्पा गएका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बाटो हुँदै गोसाइँकुण्ड गएका थिए । यति घुमिसकेपछि तपाईंसँग अझै समय छ भने घ्याङफेदी, गुर्जेभन्ज्याङ, चिम्टेश्वर, सागरकुण्ड र चिसापानी फन्को मार्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार