‘निशान तिमी नेपाल आइडल नभएकै बेस’

पवन भट्टराई

धेरै चर्चा । केही विवाद । अलिकति दुःखेसो । अनगिन्ती कथा । अनि एउटा गर्विलो इतिहास कोरिसकेको छ– नेपाल आइडलले । वसन्त चौधरीकै शब्दमा भन्नुपर्दा यो अब एउटा सपना बनिसकेको छ । धेरै युवाहरुको एउटा गतिलो लक्ष्य । नेपाली संगीत अनि टेलिभिजनको बजार घटिरहेको वर्तमान समयमा “नेपाल आइडल” एउटा सञ्जीवनी बुटी साबित भएको छ । भन्नु परोइन, आइडलको नियमित दर्शक हुँ । नेपाल आइडलमात्र होइन, इन्डियन आइडल पनि सुरुवातदेखि नै फलो गर्दै आइरहेको छु । विश्वास गर्छु संगीतको कुनै सिमाना हुँदैन, भाषा हुन्न, जात हुन्न, धर्म हुन्न, संगीतको “बहुला” पारखी हुँ । एउटा असल श्रोता, यो बाहेक संगीतसँग जोडिने र जोडिदिने अरू कुनै बहाना छैनन् ।

नेपाल आइडलमा धेरै प्रतिभालाई हेर्न पाइयो । धेरैले आफ्नो सपनाको उडानमा “वेग” थपिएको महसुस गरे पक्कै पनि । आफ्नै गल्ली, टोलतिर पनि सबैले राम्ररी नचिन्नेलाई “वायुपंखी” बनाइदिएकै हो आइडलले । यसका लागि आयोजकलाई साधुवाद दिन कन्जुस्याइँ गर्नुहुँदैन । मलाई आइडलमा सुरुवातबाटै मन्त्रमुग्ध पारेका अनि सबैभन्दा सशक्त लागेका, अझ भनौं न “गुड, बेटर, बेस्ट” भनेर खुट्याउँदा “बेस्ट” लागेका निशान भट्टराई हुन् । यिनको गायकी हेर्दा तीनैजना “जज” हरु “तीनछक” परेको प्रस्ट देखिन्थ्यो । मैले नि मुख “आँ को आँ” पारेरै हेरेको थिएँ पूरै गीत । यी मनुवा “आउट अफ दी वर्ल्ड” नै लागेको थियो र अझै लाग्छ पनि । मेरा एकजना अत्यन्त आदरणीय पोखरानिवासी कुशल गायक

/संगीतकार दाजु प्रदीप थापाको शब्द सापटी लिने हो भने “निशानको तुलना बाँकी अरूसँग हुनै सक्दैन । बाँकी बच्चा लाग्छन् यिनको अगाडी,” अरूको प्रतिभामाथि प्रश्नचिह्न उठाएको पक्कै होइन तर “गुड, बेटर, बेस्ट” हुन्छ नि, त्यसमा “भेरी बेस्ट” मा पर्छन् निशान  पत्याउनै पर्छ, मान्नै पर्छ, निशान भट्टराईले यो शोको लेभल एक तह माथि पुर्याएकै हुन् । यिनले शास्त्रीय संगीतको “सही” तरिकाको राम्रो स्कुलिङ पाइसकेका छन्, यिनको टोन राम्रो छ अनि सबैभन्दा मुख्य कुरा यिनको स्वरमा जुन निखार छ, त्यति अन्य कुनै प्रतियोगीमा छैन । अरू प्रतियोगी “प्रतियोगी” जस्तै लाग्छन्, यी भेट्रान फरक यत्ति हो ।

तर, म भन्छु– निशान नेपाल आइडल नभएकै बेस । हाम्रो देश खै कहिलेबाट यस्तो भयो थाहा छैन तर मैले थाहा पाउँदादेखि चाहिँ यस्तै थियो । हुन त भूपीले सायद २०१९÷२० तिरै होला, लेखेका रैछन् “यो हल्लै हल्लाको देश हो” भनेर । हामी वास्तवमै धेरै हल्ला गर्छौं, हल्लामात्र गर्छौं । हामीलाई दुःखी हुन सानो एउटा कारण भए पुग्छ, खुसी हुन नि त्यस्तै । छेउ न टुप्पोको बीचमा बसेर घन्टौं “हल्ला” मच्चाउने अद्भुत क्षमता राख्छौं हामी । नेपाल आइडलमा पनि धेरै हल्ला भए, धेरै नै हल्ला गर्यौं हामीले । ती सबैभन्दा बढी जातीय र क्षेत्रीय हल्लाहरुले दुखाए । यकिनसाथ थाहा छैन तर अघिल्लो डेढ दशकमा सल्किएको सबैभन्दा भयङ्कर आगो हो यो “जातीयता” । हुन त गुम्स्याइ पक्कै पनि सदीयौं पुरानो होला तर डढेलो लागेकोचाहिँ यही कालखण्डले आत्मसात् गर्नुपर्यो । अरू कुरामा “जातीयता” बारे घन्टौं बहस गर्न सकिएला तर संगीत, कलामा जातीयता ? कसले रोप्यो यो ? किन रोप्यो ? के गोपाल योन्जन तामाङका मात्र निधि हुन् ? नारायण गोपाल नेवारहरुका मात्र ? अरुणा लामाले कुन समुदायलाई लक्षित गरेर गाइन् होला, “पोहोर साल खुसी फाट्दा” ? बच्चु कैलाशको थर के ? शिवशंकरको जात कुन ? नातिकाजीहरुले किन नामको पछाडि “फेमिली नेम” को पुच्छर नजोडेका ? हाम्रा “राई इज किङ”ले गाएको “दर्शन नमस्ते” कुनै एक समुदायलाई मात्र हो त ? त्यसो भए के म “बाहुन” ले नमस्कार नफर्काउनु ? निशानको नाम लिइरहँदा यही “जातीयता” बिझ्यो ।

संगीतको अलिअलि ज्ञान अझ भनौं संगीतलाई माया गरेर सुन्नेहरुले निशानको गायकी बुझेका छन्, यिनको अद्भुत क्षमता बुझेका छन् । संगीतको महासागरमा कसको “डुंगा” बलियो, गतिलो र ठूलो छ भन्ने कुराले महत्व राख्छ । निशानसँग “टाइटानिक” नै छ त भन्दिनँ तर यिनले भविष्यमा “टाइटानिक” खडा गर्न सक्ने क्षमता पक्कै बोकेका छन् । हुन त एट्टिट्युडले डुबाएको हो भन्छन् टाइटानिकलाई । यिनले पनि सम्हालिएर हिँड्नुपर्छ नै, “अनसिङ्केबल” त को नै छ र यहाँ । तैपनि “संगीत” कै कुरो गरेर विजेता घोषणा गर्ने भए “निशान” को तुलना अरूसँग हुनै सक्दैन । तर, यिनले हार्ने लक्षण टप थ्रीका लागि पाएको भोटले जनाइसकेको छ । यस्ता साथीहरु नि छन् मेरा, जसले निशानको गायकी मन पराउँछन् तर भोट चाहिँ अर्कैलाई दिन्छन् । किन भनेर सोध्दा “जे भए नि आफ्नै ठाउँको हो यार” रे । अनि “आफ्नै कौमको पर्यो” रे । त्यही भएर निशानले जित्ने सम्भावना अत्यन्तै कम देख्छु म । फेरि एक पाउन्डले किन्न सक्ने जति भोट हाम्रो एक रुपैयाँले पाउँदैन ।

तर, निशानले जितिसके । खिताब नजिते निशानलाई हुने घाटा क्षणिक मात्र हो । त्यही २० लाख, एउटा गाडी, अनि एउटा एल्बम कन्ट्रयाक्टबाहेक अहिले नै सबैथोक जितिसकेका छन् निशानले । इन्डियन आइडल सिजन एकमा अमित सानाले जित्नु न्यायोचित हुन्थ्यो, अभिजित सावन्तले जिते । चार÷पाँच वर्ष लाइमलाइटमा आएनन् । पछि कपिल शर्माको “कमेडी शो” मा आठ÷दस एपिसोड नौटंकी गर्नेबाहेक अन्य कर्म र संगीतकर्ममा यिनी देखिएनन् । सकेनन् । इन्डियन आइडल विजेता प्रशान्त तामाङले खै “गोडा दुएक” नेपाली चलचित्र खेले क्यार । नेपालकै कुरो गर्नुपर्दा नेपाली तारा–१ जित्नुपर्ने थियो धर्मेन्द्र सेवानले । जिते दीपक लिम्बूले । हाल लुङा बिदेसिएका छन् क्यारे । सेवानले अहिलेको पप गायन हाँकिरहेका छन्, बडो प्रेमले । त्यो पनि नेपालमै बसेर । त्यसैले निशान, जितेकाहरुले अक्सर “हारेका” उदाहरण छन् तर लडेकाहरुले एकचोटि उठेपछि गतिलो वेग समातेका छन् । झनै सम्हालिएर हिँडेका छन् । तिमी डिजरभिङ छौ, जिते सबैभन्दा न्यायोचित हुन्छ, तर आइडलमा जितेको ”मान्छेको मन” बाट रियल उडानका बखत कथंकदाचित् तल झर्यौ भने फेरि चढ्न गाह्रो पर्न सक्छ । त्यसैले जे गरे नि सम्हालिनु त छँदै छ तर आफ्नैलाई जिताउन रातो दिन खटेकाहरू, तिमीले जित्लाउ कि भनेर सामाजिक सञ्जालमा साम्प्रदायिक रोइलो गर्नेहरूलाई गाह्रो हुनेगरी तिमीले किन जित्नुपरेको छ र ? एउटा कुरा के याद गर भने, अरूलाई भोट दिनेले पनि मनमा निशानलाई नै राखेर “मगज” को निर्देशनमा औंला “०७” मा नपुर्याएका मात्र हुन् । ठोकुवा गर्छु– सबैले तिमीलाई अलि बढी माया गर्छन् ।

यत्रो लामो लेखियो निशानबारे, अब आरोप पक्कै लाग्नेछ, नामपिच्छेको “पुच्छर” “सेमसेम”,“कौम मजहब” एउटै । त्यसैले आको हो यो गुणगान । तर, निशानको गायकीले यति लेख्न ऊर्जा दिएको हो, “संगीतको पाप” लाग्नेगरी “भक्तिगान” गाउने मान्छे होइन म ।

अन्त्यमा, संसार कहाँबाट कहाँ पुगिसक्यो, मान्छेले गर्लफ्रेन्डलाई चन्द्रमामा घडेरी किन्दिसके । मजाबो चाहिँ नेपाल आइडल को हुन्छ भनी गिदी ह्याप्स गरेर बसेको छु, टोइट ।

(आलेखको धारणा लेखकको निजी विचार हो ।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार