९८ वर्षीय राष्ट्रकवि घिमिरे तन्दुरुस्ती रहनुको पाँच रहस्य

 

 

राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९८ वर्षमा टेके । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरे अहिले पनि उत्तिकै फुर्तिला र हँसिला छन् । मन सधैं चंगा बनाउन तल्लीन उनलाई बुढ्यौली शरीरले निराशा थप्न अझै सकेको छैन ।
बाल्यकालदेखि निरन्तर रूपमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन सफल बहुमुखी प्रतिभाशाली घिमिरे अझै पनि सिर्जनशील काम र अध्ययनमा व्यस्त छन् । मजबुत स्वास्थ्यले उनको अध्ययन र सिर्जनालाई टिकाइराख्न सकेको हो ।

निरन्तर योगा

करिब ६ बजेतिर आँखा खुल्नासाथ उनी ओछ्यानबाटै झुल्केको घाम, हिउँले ढाकेको हिमाल, हरिया पातहरू र फूलहरूको सामीप्य महसुस गर्छन् । नित्यकर्म सकेपछि समय छुट्याएर कम्तीमा आधा घन्टा आफूलाई सहज हुनेगरी प्राणायामसहितको योगासन गर्छन् । यसलाई उनले १६ वर्षकै उमेरमा अँगालेका थिए । जागिरे जीवनबाट अवकाश पाएपछि उनले दैनिक रूपमा प्राणायामसहितको योगासन गर्दै आएका छन् । धेरै झरकमरक नगरी वैज्ञानिक पद्धतिमा प्राणायाम र योगासन गर्छन् उनी । त्यो गरेपछि उनलाई शरीर उडेजस्तो र बाहिरको हावा अमृत पिएजस्तो लाग्छ ।

आध्यात्मिक मन

योगासन र प्राणायाम सकेपछि उनी आफूलाई मन पर्ने वेदका केही मन्त्र र गीताका केही श्लोक पाठ गर्न कहिल्यै बिर्संदैनन् । उनी मनभित्रको दिव्यश्वरनाथलाई सुन्ने प्रयास गर्छन् । घाँटीलगायतमा ठोकिएर आउने आवाज होइन त्यो । उनका लागि दिव्यश्वरनाथको त्यो आवाज स्वस्थ जीवनको आधार बनेको छ । उनलाई त्यो आवाज गहिरो साधना गरेपछि मात्र मिलेको थियो । १५ वर्षको उमेरमा एक उच्च व्यक्तिका साथमा साधना गरिरहेका बेला आधारातमा उनको त्यो स्वर खुलेको थियो । त्यतिमात्रै होइन, राष्ट्रकवि ध्यानका बेला ज्योतिनाथको दर्शनमा डुब्छन्, जसलाई योगीहरू ज्योत पनि भन्छन् । उनको शब्दमा एकान्तमा बसिरहँदा अँध्यारो हटेपछि मात्र मनभित्र ज्योति देखिन्छ । त्यस्तो ज्योति देख्न थालेपछि उनलाई आनन्द आउन थाल्यो । पढाइलेखाइको काम सकेपछि उनी त्यो ज्योति दर्शन गर्न आतुर हुन्छन् ।

अनुशासित मन

‘शरीर, मन र आत्मालाई अनुशासनमा राख्नुपर्छ । राम्रा–राम्रा मन्त्रहरू पाठ गर्यो भने मन र आत्मालाई अनुशासित बन्न प्रेरित गर्छ ।’ सधैं त्यसो गर्न सकिँदैन भने फूल, झुल्किन लागेको घाम, हिउँले ढाकेको हिमाल र हरिया पातहरू र त्यहाँबाट चुहिने पानीको थोपालाई हेरिरहँदा पनि मन चंगा हुने उनको अनुभव छ । उनका अनुसार शिवपुरी बाबाले भनेजस्तै ध्यान गर्यो भने मन चञ्चल हुन्न । रिसाहा हुने र खराब चिन्तन गरेमा मन अनुुशासित बन्न सक्देैन । उनका अनुसार शरीरभित्र मन र मनभित्र हुने आत्मालाई पनि अनुशासित बनाउनुपर्छ । त्यसका लागि पनि ध्यान आवश्यक पर्छ । तर, गहिरो ध्यान गरिसकेपछि मात्रै आत्माको दर्शन गर्न सकिन्छ । त्यहाँ शान्तिका सबै उज्यालो पाइन्छ । त्यहीँ अडिएको छ संसार पनि ।

खानपानमा सजग

योग आसन र प्राणायाम गरिसकेपछि उनी एकछिन पढ्छन् र चिनी कम हालेको एक कप चिया र दुई टुक्रा बिस्कुट खान्छन् । सकभर उनी खाली पेट राख्दैनन् । पहिले गहुँको पिठो घिउमा भुुटेर पातलो बनाएर खान्थे । दिनमा एउटा स्याउ छुटाएनन् उनले । उनी स्वास्थ्यलाई ख्याल गर्दै माछामासुलाई प्राथमिकता दिन्नन् ।

गहिरो निद्रा

उमेर ढल्कँदै गएपछि धेरैको निद्रा भाग्छ । तर, राष्ट्रकविलाई दैनिक सात घन्टा गहिरो निद्रा लाग्छ । लेखेर थोकेको बेला त झन् आठ घन्टा सुत्नुपर्छ उनलाई । लेखिरहेका बेला राम्ररी निद्रा आउँदैन । लेखिसकेपछि भारी बिसाएझैं लाग्छ र गहिरो निद्रामा सुत्छन् उनी । २० वर्षको उमेरमा आफ्नो निद्रामा गडबडी थियो उनको । केमिकलयुक्त खानाले त्यसो गराएको हुनसक्ने उनको अनुभव छ । आफूलाई अनुशासित बनाएकाले नै आफू स्वस्थ भएको उनको भोगाइ छ । ‘स्वस्थ भएपछि मात्रै खुसी हुन्छ जीवन,’ भेटको अन्तिम वाक्य थियो उनको ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार