हेलो हेलम्बु

दीपेन्द्र राई

 हेलम्बु
हेलम्बु

प्रन्ध्र सय मिटर उचाइमा टुसुक्क बसेको शेर्पा बाहुल्य बस्ती । अधिकांश समय हिउँको खास्टो ओढेर बसेको मेमे र इबी (शेर्पा भाषामा हजुरआमा, हजुरबुवा) झैँ देखिने यो बस्ती हेलम्बु हो । हेलम्बु सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौताराबाट १४ कोस पश्चिम दूरीमा रहेको छ । गुजुमुज्ज परेको यहाँका प्रत्येक घर ध्वजापताकाले रंगिएका हुन्छन् ।

एकताका हेलम्बु स्याउ खेतीका लागि प्रसिद्ध मानिन्थ्यो । हिजोआज यहाँ स्याउ उत्पादन हुँदैन । स्थानीयका अनुसार यहाँ स्याउ उत्पादन हुन छाडेको १७/१८ नै वर्ष भइसकेको छ । स्याउ उत्पादन नभएपछि हेलम्बुको पुरानो पहिचान मेटिए पनि उसले नयाँ पहिचान बनाइसकेको छ ।

हिजोआज हेलम्बुलाई गुम्बैगुम्बाको गाउँ भन्दा फरक पर्दैन । यहाँ साना–ठूला गरी ३० वटा गुम्बा रहेका छन् । यहाँको एउटै टोलमा तीनवटा सम्म गुम्बा देख्न सकिन्छ । हेलम्बुवासीले वर्ष दिनमा आठवटा सम्म गुम्बा बनाउन भ्याए । स्याउ फल्न छाडेपछि हेलम्बुलाई गुम्बैगुम्बाको गाउँ बनाउन उनीहरू लागिपरेका हुन् ।

स्थानीयले आफ्नो गाउँठाउँसम्म पर्यटक कसरी बोलाउने भनेर सोच–विचार गरे । सोच–विचार गर्दागर्दै उपाय सुझ्यो– हेलम्बुलाई गुम्बैगुम्बाको गाउँ बनाउने भनेर । सो काममा स्थानीय लागिपरे । तन, मन र धन खर्चेर उनीहरूले गुम्बा बनाउन कति पनि कन्जुस गरेनन् । यहाँका गुम्बाभित्र रहेका गौतम बुद्धको मूर्ति जति हे¥यो उति हेरुँ–हेरुँ लाग्छ ।

ठूलोढुंगा, नुर्बुगाउँ, घ्याङगुल, तातुङ, न्याल्मुनेस, तासिघ्याङ, मेलम्छिमघ्याङ, तार्केघ्याङ, नाकोते, पारघाङ, सर्कथली, होरिङ, तिम्बु, याम्बालामा र ककनी गाउँ हेलम्बु गाउँ विकास समितिमा पर्छन् । काठमाडौं उपत्यकामा रहेका महाबौद्ध, बौद्ध, विहार र चैत्यतिर पर्यटक घुमिरहेको देखेपछि हेलम्बुवासी गुम्बा बनाउन एकजुट भएका हुन् । स्थानीयले गुम्बा बनाउन सरकारी अनुदान कुरेनन् । उनीहरूले सामूहिकमात्रै होइन व्यक्तिगत लनागीमा समेत गुम्बा बनाएका छन् । यहाँ बनेको एउटै गुम्बामा एक करोड रुपैयाँसम्म लगानी गरिएको बताइन्छ ।

हेलम्बुवासी आफूलाई ह्योल्मो भन्न रुचाउँछन् । ह्योल्मो भाषामा गुम्बालाई घ्याङ भनिँदोरहेछ । हेलम्बुमा ६ सय ७५ वर्ष पुरानो गुम्बासमेत रहेको छ । हेलम्बुको सबैभन्दा प्राचीन गुम्बा चिरिघ्याङ गुम्बा हो । यहाँका कतिपय गुम्बामा बौद्ध शिक्षा समेत पढाउने गरिन्छ ।

हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटक बाक्लै देखिन्छन्, भेटिन्छन् । तपाईं हेलम्बु पदयात्रामा निस्कँदै हुनुहुन्छ भने यो समय उपयुक्त मानिन्छ । असोज, कात्तिक र मंसिर महिना हेलम्बु यात्राका लागि उपयुक्त मानिन्छ । अन्य समय यो क्षेत्र हिउँले ढाक्ने गर्छ । असोज, कात्तिक, मंसिरमा पदयात्रा गर्न नभ्याउनेहरू फागुन, चैत र वैशाखमा समेत पदयात्रा गरिरहेका हुन्छन् । हेलम्बु पर्यटकीय गाउँका रूपमा परिचित भइसकेको छ । हेटौंडा बहुमुखी क्याम्पस मकवानपुर स्नातकोत्तर तहमा अध्ययतरत समाजशास्त्रका विद्यार्थीले ‘हेलम्बुको सामाजिक जनजीवनमा पर्यटनले पारेको प्रभाव’बारे रिपोर्ट नै तयार पारेका छन् ।

हेलम्बुको सेर्माथाङ सिरानमा रहेको गुम्बा र ध्यानस्थल रहेको छ । बुद्ध धर्मावलम्बी यहाँ तीन महिना, तीन दिन, तीन घन्टा, तीन मिनेट, तीन सेकेन्ड ध्यान गर्छन् भन्दा जोकोहीलाई अचम्म लाग्छ । सो समय उनीहरू नबोली ध्यान गर्छन् । आवश्यक पर्दा कापीमा लेखेर भन्न खोजेको कुरा बताउँछन् । आज एउटा कुरा भोलि अर्कै बोल्ने नेताहरूलाई यहाँको ध्यानस्थलमा ल्याएर ध्यान गर्न लगाउने हो भने नानाथरि बोलिरहने नेताहरूको के हविगत होला ?

यहाँ आइपुगेका जोकोहीलाई होटल सञ्चालकले खान, बस्नका भाउ कस्लान् भन्ने पीर गर्नु पर्दैन । यहाँ रहेका सबै होटलको ‘मेनु’ एउट किसिमको छ । विदेशीभन्दा नेपाली पर्यटकले सस्तोमा खान, बस्ने सुविधा पाउँछन् । होटल तथा रेस्टुरेन्टमा बस्न नचाहनेका लागि होमस्टे सुविधा छँदै छ ।

सिन्धुपाल्चोकमा हेलम्बुजस्तै तातोपानी, पाँचपोखरी, पिस्करलगायत थुप्रै पर्यटकीय स्थल छन् । हेलम्बु जाने तीनवटा बाटा छन् । त्यता जान चाहनेले काठमाडौंको सुन्दरीजल हुँदै चिसापानीबाट जान सक्छन् भने समय हुनेले नुवाकोटको ककनी, रसुवाको धुन्चे हुँदै गोसाइँकुण्ड घुम्दै हेलम्बु जान सक्छन् । त्यस्तै, काठमाडौंको साँखु, मेलम्ची हुँदै पनि हेलम्बु पुग्न सकिन्छ । यो सबैभन्दा छोटो रुट हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार