प्रसादस्वरुप टीका, जमरा थापी दसैं मनाइँदै


काठमाडौं । हिन्दु धर्मावलम्बीको महान् चाड दसैं प्रसादस्वरूप टीका र जमरा थापेर धुमधामसाथ मनाइँदै छ । विजयादशमीको टीकाको साइत भने शनिवार ११ बजेर ५५ मिनेटमा शुभ मानिएको छ ।

आश्विन शुक्ल दशमीमा मनाइने विजयादशमी हर्षोल्लाससाथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिवार देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समिति अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले शनिवार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनले बताए । शनिवार मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिक रूपमा काम गर्ने तथ्य वज्ञानिक ररूपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी शनिवार मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार