ओली आश्वस्त : वाम तालमेलमै मुलुकको समृद्धि

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनमात्र नभई मुलुकको समृद्धिसँग जोडिएको बताएका छन् ।

एमाले काठमाडौँ जिल्ला कमिटीले गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताए । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डोर्याउन सबैका बल र बुद्धि आवश्यक भएकाले तालमेल गरिएको उनको भनाइ थियो । उनले भने, “साधारण बहुमत त यसै (एक्लै) पनि आउने थियो तर समृद्धिको महाअभियानमा सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।”
गत असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रहरीनायव महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मद गढी, काँग्रेसका शत्रुधन राजभण्डारीलगायत एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उपत्यका इचार्ज सानुकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईलगायतले स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार